कार्तिक १६
हेमा भट्ट, अत्तरिया-सुदूरपश्चिम प्रदेशको विकास यात्रामा नयाँ आयाम थपिँदैछ। प्रदेशको प्रमुख प्रवेशद्वार, पहाड र तराई जोड्ने सडक सञ्जालको संगमस्थल तथा व्यापारिक केन्द्र कैलालीको अत्तरिया बजारमा सुदूरपश्चिमकै पहिलो आकाशे पैदल पुल (ओभरहेड पेडेस्ट्रियन ब्रिज) निर्माण भइरहेको छ। गोदावरी नगरपालिका-२ स्थित व्यस्त अत्तरिया चौराहामा निर्माणाधीन यो पुलले पैदलयात्रीको सुरक्षा, सहरी सौन्दर्य र व्यवस्थित यातायातको नयाँ आशा जगाएको छ। सवारीसाधनको बढ्दो चापका कारण सडक पार गर्न जोखिम मोल्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै पैदलयात्रीलाई सुरक्षित आवागमनको सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको यस संरचनालाई स्थानीय बासिन्दाले विकासको सकारात्मक उपलब्धिका रूपमा लिएका छन्।
अत्तरिया चौराहा सुदूरपश्चिमको नक्सामा एउटा सामान्य चोक मात्र होइन, सात पहाडी जिल्ला र तराईका प्रमुख सहरलाई जोड्ने महत्त्वपूर्ण यातायात केन्द्र हो। पूर्वतर्फ पूर्व-पश्चिम राजमार्ग हुँदै चिसापानी, लम्की, टीकापुर, बर्दिया, नेपालगञ्ज, बुटवल र राजधानी काठमाडौंसम्मको यात्रा जोडिन्छ भने पश्चिमतर्फ महेन्द्रनगर हुँदै कञ्चनपुरको गड्डाचौकी नाका पुगिन्छ। दक्षिणतर्फ करिब १४ किलोमिटर दूरीमा रहेको धनगढी उपमहानगरपालिका हुँदै गौरीफन्टा सीमा नाका र भारतको पलिया बजारसम्म पुग्ने सडक जोडिएको छ।
धनगढी र अत्तरियाबीचको छ लेन सडक आधुनिक पूर्वाधारको उदाहरण बनेको छ। रातको समयमा सडक किनारमा बल्ने झिलिमिली बत्तीले यस क्षेत्रको सुन्दरता थप बढाएको छ। उत्तरतर्फ अत्तरियाबाट डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा र अछाम जाने सडक सञ्जाल जोडिन्छन्। पहाडबाट तराई झर्ने नागरिक, उपचारका लागि धनगढी तथा अन्य सहर जाने बिरामी, विद्यार्थी, व्यापारी, पर्यटक र यात्रुका लागि अत्तरिया प्रमुख आवागमन केन्द्र बनेको छ। यही महत्त्वपूर्ण चौराहामा निर्माण भइरहेको आकाशे पुलले सडक वारपार गर्ने पैदलयात्रीलाई सवारीसाधनको चापबाट अलग्गै सुरक्षित बाटो उपलब्ध गराउनेछ। विद्यार्थी, ज्येष्ठ नागरिक, महिला, बालबालिका र सर्वसाधारणलाई सडक पार गर्न सहज हुने तथा दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। गोदावरी नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण भइरहेको पुलको लागत भ्याटसहित १ करोड ४२ लाख ८५ हजार ४ सय ९८ रुपैयाँ रहेको छ। यसको लम्बाइ ४५ मिटर, उचाइ ५.६ मिटर र पैदल हिँड्ने भागको चौडाइ २ मिटर रहनेछ। निर्माणको जिम्मेवारी कृजल-त्रिनेत्र-सिद्धनाथ जेभीले पाएको छ भने सम्झौताअनुसार २०८३ पुस ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस पुलको निर्माणले अत्तरिया बजारको पहिचानलाई थप आधुनिक बनाउने मात्र नभई गोदावरी नगरपालिकाको सहरी विकासप्रतिको प्रयासलाई पनि उजागर गरेको छ। सुदूरपश्चिमको स्थायी राजधानी गोदावरी नगरपालिकाको क्षेत्रमा निर्धारण गरिएको छ भने प्रदेशका अधिकांश प्रशासनिक कामकाज हाल धनगढीबाट सञ्चालन हुँदै आएका छन्।
राजधानीको सम्भावना बोकेको गोदावरी र प्रशासनिक, व्यापारिक तथा आर्थिक गतिविधिको केन्द्र धनगढीबीच अवस्थित अत्तरियाको रणनीतिक महत्त्व दिनप्रतिदिन बढिरहेको छ। धार्मिक तथा पर्यटकीय दृष्टिले पनि अत्तरिया सुदूरपश्चिमको महत्त्वपूर्ण प्रवेशद्वार हो। नजिकै रहेको गोदावरी धाम, गोदावरी नदी र वनदेवी मन्दिरले यस क्षेत्रलाई धार्मिक आस्थाको केन्द्र बनाएका छन्। यही सडक सञ्जाल हुँदै डोटीको खप्तड क्षेत्र र शैलेश्वरी मन्दिर, अछामको रामारोशन, बाजुराको बडीमालिका, बझाङको सुर्मासरोवर तथा साइपाल हिमाल, बैतडीको त्रिपुरासुन्दरी र पाताल भूमेश्वर, डडेल्धुराको उग्रतारा मन्दिर र परशुराम धाम, दार्चुलाको अपि-नाम्पा संरक्षण क्षेत्र तथा मालिकार्जुन धामसम्म पुग्न सकिन्छ।
कैलालीको घोडाघोडी ताल, बेहडाबाबा मन्दिर र टीकापुर पार्क तथा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली क्षेत्र र दोधारा-चाँदनी झोलुङ्गे पुलले सुदूरपश्चिमको पर्यटनलाई थप आकर्षक बनाएका छन्। हरियाली वनजंगल, वन्यजन्तु, चराचुरुङ्गी, नदी, तालतलैया र हिमाली दृश्यले भरिएको यो प्रदेश प्राकृतिक सम्पदाको धनी छ।
कैलाली र कञ्चनपुरका उर्वर तराईका फाँटमा धान, गहुँ, मकै, तोरी, उखु तथा तरकारी खेती हुँदै आएको छ भने पहाडी जिल्लामा मकै, कोदो, आलु, फलफूल र विभिन्न मौसमी बाली उत्पादन हुन्छन्। किसानले उत्पादन गरेका कृषि उपजलाई अत्तरिया, धनगढी र महेन्द्रनगरका बजारसम्म पुर्याउन सडक सञ्जालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। अत्तरियाको व्यापारिक विस्तार र यातायात सुविधामा सुधार हुँदा पहाडी किसानका उत्पादनले बजार पाउने, स्थानीय व्यापार बढ्ने, होटल तथा पर्यटन व्यवसाय विस्तार हुने र रोजगारीका अवसर सिर्जना हुने सम्भावना पनि बढ्नेछ। सुदूरपश्चिमको वास्तविक पहिचान यहाँको प्रकृति, संस्कृति र मौलिक जीवनशैलीमा पनि भेटिन्छ।
देउडा, गौरा पर्व, थारू संस्कृति, मौलिक भेषभूषा, स्थानीय भाषा, परम्परागत खानपान र सामाजिक सद्भावले यस प्रदेशलाई विशिष्ट बनाएका छन्। डोटेली, बैतडेली, अछामी, बझाङी भाषिक पहिचानदेखि कैलाली-कञ्चनपुरको थारू भाषा तथा संस्कृतिसम्मको विविधता सुदूरपश्चिमको सांस्कृतिक सम्पत्ति हो। यी मौलिक पहिचानलाई पर्यटन र स्थानीय उत्पादनसँग जोड्न सके प्रदेशको आर्थिक समृद्धिको आधार थप बलियो बन्न सक्छ। अत्तरिया बजारमा निर्माण भइरहेको आकाशे पुलप्रति स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन्।
उनीहरूको अपेक्षा छ, अब सडक पार गर्दा जोखिम मोल्नुपर्ने अवस्था कम हुनेछ, बजार व्यवस्थित हुनेछ र अत्तरियाले आधुनिक सहरको नयाँ पहिचान पाउनेछ। यद्यपि आकाशे पुलसँगै बजारका फुटपाथ, पार्किङ, बसपार्क, ढल निकास, फोहोर व्यवस्थापन, सडक बत्ती, सार्वजनिक शौचालय र हरियाली प्रवर्द्धनलाई पनि प्राथमिकता दिन आवश्यक छ। व्यवस्थित सडक, सुरक्षित पैदलमार्ग, स्वच्छ बजार, आधुनिक पूर्वाधार र पर्यटकीय सम्भावनाको सदुपयोग गर्न सके गोदावरी-अत्तरिया सुदूरपश्चिमकै नमुना सहर बन्न सक्ने आधार प्रशस्त छन्।
अत्तरियामा निर्माण भइरहेको आकाशे पैदल पुल एउटा भौतिक संरचना मात्र होइन, सुरक्षित आवागमन र आधुनिक सहरी विकासप्रतिको नयाँ सोच पनि हो। पहाड र तराई, धार्मिक आस्था र पर्यटन, कृषि र व्यापार तथा नेपाल र भारतबीचको सीमावर्ती आवागमनलाई जोड्ने यो क्षेत्र अब पूर्वाधार विकाससँगै आर्थिक समृद्धिको केन्द्र बन्ने सम्भावना बोकेको छ। सडक जोडिए, सहर विस्तारिँदै छ, अब सुरक्षित पैदलमार्ग र व्यवस्थित सहरी विकासले अत्तरियालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। सुदूरपश्चिमको विकास यात्रामा अत्तरियाको आकाशे पुल एउटा नयाँ पहिचान बन्नेछ।
