डीआईजी थपलियाको नेतृत्वमा काठमाडौंको सुरक्षा मजबुत

खेमराज भट्ट,कार्तिक २०
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा काठमाडौं उपत्यकाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ।

आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (साउन, भदौ र असोज) को सुरक्षा समीक्षा सार्वजनिक गर्दै उपत्यका प्रहरीले तीन महिनाको अवधिमा अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ, लागुऔषध कारोबार नियन्त्रण तथा सडक सुरक्षामा उल्लेखनीय काम गरेको जनाएको छ।

डीआईजी थपलियाको नेतृत्वमा सञ्चालन गरिएको सुरक्षा रणनीतिअन्तर्गत तीन महिनामा अदालतबाट फैसला भई फरार रहेका १ हजार १६२ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट ३०२ वर्ष ४ महिना १८ दिन कैद सजाय कार्यान्वयन गर्नुका साथै १५ करोड ७८ लाख ९८ हजार ७०७ रुपैयाँ जरिवाना असुल गरिएको छ। विभिन्न कारागार तथा थुनाबाट फरार थप ६७ जना कैदीलाई समेत पक्राउ गरिएको छ।

उपत्यकामा प्रहरीको प्रत्यक्ष उपस्थिति बढाउन यस अवधिमा २३ हजार २४३ पटक मोबाइल गस्ती, २० हजार ८८७ पटक पैदल गस्ती, ११ हजार ३४९ पटक मोटरसाइकल गस्ती तथा ६ हजार १७ पटक नियमित र आकस्मिक चेकिङ गरिएको छ।

लागुऔषध कारोबार नियन्त्रणतर्फ ४४४ वटा मुद्दा दर्ता गरी ३७८ जनालाई पक्राउ गरिएको छ। प्रहरीले गाँजा, खैरो हेरोइन, ट्रमाडोललगायत विभिन्न प्रकारका २ लाख ९५ हजार ६७६ एम्पुल तथा चक्की नियन्त्रित लागुऔषध बरामद गरेको छ।

त्यसैगरी, हुण्डी कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरी चारवटा मुद्दा दर्ता गरिएको छ। उक्त कारोबारमा १ करोड ६० लाख ८४ हजार १८० रुपैयाँ बिगो मागदाबी गरिएको छ। भन्सार छली तथा अवैध सुन ओसारपसारमा संलग्न २७ जनालाई पक्राउ गरी २३ किलो ८८८.०६ ग्राम सुनजस्तो देखिने पहेँलो धातु बरामद गरिएको छ।

सार्वजनिक सुरक्षा र महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार नियन्त्रणका लागि सञ्चालन गरिएको स्विप अपरेसनमा २ हजार ७३४ जनालाई नियन्त्रणमा लिएर छानबिन गरिएको छ। त्यस्तै, ‘सेफ्टी पिन अपरेसन’ अन्तर्गत ६३७ जनालाई पक्राउ गरिएको छ। तीमध्ये गम्भीर प्रकृतिका कसुरमा संलग्न ६३ जनाविरुद्ध ४३ वटा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

सडक सुरक्षातर्फ मादक पदार्थ सेवन गरी सवारी चलाउने र लागुऔषध सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरिएको छ। साथै, सवारी चोरी तथा हराएको सम्बन्धमा परेका ५२१ उजुरीमध्ये २५७ वटा सवारीसाधन फेला पारिएको र २२१ वटा सम्बन्धित धनीलाई बुझाइएको छ। चोरीमा संलग्न ३४ जनालाई पक्राउ गरिएको छ।

चाडपर्वमा ८ हजार ६६८ प्रहरी परिचालन:दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी डीआईजी थपलियाको नेतृत्वमा असोज १८ देखि कात्तिक १८ गतेसम्म एकमहिने विशेष सुरक्षा योजना लागू गरिएको थियो।

उक्त योजनाअन्तर्गत उपत्यकामा विभिन्न दर्जाका ८ हजार ६६८ प्रहरी जनशक्ति परिचालन गरिएको थियो। यात्रु तथा नागरिकको सहजताका लागि ३७ वटा सहायता कक्ष स्थापना गरिएका थिए भने उपत्यकाका नाका तथा संवेदनशील क्षेत्रमा २२ वटा नाका चेकिङ सञ्चालन गरिएको थियो।

प्रहरीले सादा पोसाकमा सूचना सङ्कलन, पैदल तथा सवारी गस्ती, कमान्ड पोस्ट, सिसिटिभी, ड्रोन र तालिमप्राप्त कुकुरको सहायताबाट समेत निगरानी बढाएको थियो।

विशेष सुरक्षा अभियानका क्रममा जुवातास खेल्ने तथा खेलाउनेविरुद्ध १२ वटा मुद्दा दर्ता गरी ९१ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट २८ लाख ७९ हजार ७७५ रुपैयाँ नगद र ४९ बुक तास बरामद गरिएको छ।

त्यस्तै, अवैध पटाका कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरिएको छ। प्रहरीले ३४ हजार ३५७ थान विभिन्न प्रकारका पटाका, १३ हजार ८४९ प्याकेट विस्फोटक प्रकृतिका सामग्री तथा बेवारिसे अवस्थामा रहेका तीन बोरा पटाका बरामद गरेको छ।

समग्रमा, डीआईजी गोविन्द थपलियाको नेतृत्वमा काठमाडौं उपत्यका प्रहरीले नियमित सुरक्षा गस्ती, अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ र चाडपर्व लक्षित विशेष सुरक्षा परिचालनलाई प्राथमिकता दिएको देखिन्छ।

प्रहरीले जुवातास खेल्ने वा खेलाउने तथा पटाका र विस्फोटक पदार्थ पड्काउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गर्दै त्यस्ता गतिविधि देखिए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ। साथै, चौबिसै घण्टा प्रहरी परिचालन र प्रविधिमार्फत सुरक्षा निगरानी भइरहेको जनाउँदै दीपावली तथा छठ पर्व सुरक्षित रूपमा मनाउन सबैमा शुभकामना व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *