खेमराज भट्ट, कात्तिक २०
काठमाडौं – काठमाडौं उपत्यकामा विभिन्न समयमा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ। चोरी भएका मोटरसाइकल तथा स्कुटरको खोजतलासलाई तीव्र बनाउँदै आएको प्रहरीले एकैपटक ५० वटा सवारीसाधन फेला पारेर धनीलाई हस्तान्तरण गरेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले शुक्रबार आयोजित कार्यक्रममा २५ वटा मोटरसाइकल र २५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो।
चोरी भएका सवारीसाधन फेला पार्ने अभियानलाई निरन्तरता दिँदै आएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ३०३ वटा सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ। त्यस्तै, मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा ३४ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसरहरूमा पठाइएको छ। कारबाहीका क्रममा तीनवटा चारपाङ्ग्रे गाडी र दुईवटा मोटरसाइकल भन्सार कार्यालयमा समेत पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।
प्रवक्ता सुवेदीका अनुसार दुईपाङ्ग्रे सवारीसाधन मानिसको दैनिक जीवन, रोजगारी, पारिवारिक आवश्यकता र व्यक्तिगत संघर्षसँग जोडिएको महत्वपूर्ण सम्पत्ति हो। त्यसैले नागरिकको मेहनत र सम्पत्तिमाथि आँच पुर्याउने सवारीसाधन चोरीजस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले मानवीय जनशक्तिसँगै आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी निगरानी तथा खोजतलासलाई प्रभावकारी बनाउँदै आएको छ।
उहाँले भन्नुभयो, अर्काको खुसी, सपना, संघर्ष र सम्पत्ति खोसेर आफू खुसी बन्न खोज्नु गम्भीर अपराध हो। यस्तो आपराधिक कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी निरन्तर सक्रिय छ।
सवारीसाधन चोरी नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै नागरिकको व्यक्तिगत सतर्कता र प्रविधिको प्रयोग पनि उत्तिकै आवश्यक रहेको उहाँको भनाइ छ। सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्यान्डिल लक तथा डिस्क लक प्रयोग गर्ने, सुरक्षा साइरन र जीपीएस जडान गर्ने तथा मानिसको आवतजावत कम हुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्ने जस्ता सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
त्यस्तै, सवारीसाधन चोरी वा हराएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न तथा नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिनसमेत अनुरोध गरिएको छ।
चोरी भएका सवारीसाधन खोजी गरी वास्तविक धनीलाई फिर्ता गर्ने ट्राफिक प्रहरीको अभियानले नागरिकको सम्पत्ति संरक्षण, प्रहरीप्रतिको विश्वास अभिवृद्धि तथा सवारीसाधन चोरी नियन्त्रणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
