सुर्खेतमा १२.०२ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ, दुई जनाको साथमा सशस्त्र प्रहरीका परिचयपत्र र नियुक्तिपत्र

खेमराज भट्ट
काठमाडौँ, कात्तिक २० सुर्खेतमा लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले १२.०२ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनाको साथबाट सशस्त्र प्रहरीसँग सम्बन्धित परिचयपत्र तथा नियुक्तिको प्रमाणपत्रसमेत फेला परेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका अनुसार बिहीबार सुर्खेतस्थित ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-१३, करेखोलाबाट रुपेश घर्ती मगर र कुमारबहादुर रास्कोटीलाई ३.१९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१२ का बालाराम पौडेल र नवराज चालिसेलाई थप ८.८३० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनाको साथबाट कुल १२.०२ ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरिएको छ।

यस घटनामा थप चासोको विषय बनेको तथ्य पक्राउ परेका व्यक्तिहरूमध्ये नवराज चालिसेको साथबाट सशस्त्र प्रहरी सहायक हवल्दारको परिचयपत्र तथा रुपेश घर्ती मगरको साथबाट सशस्त्र प्रहरी परिचर पदको नियुक्तिको प्रमाणपत्र फेला पर्नु हो। ती कागजातको आधिकारिकता र सम्बन्धित व्यक्तिसँगको सम्बन्धबारे भने थप अनुसन्धान हुन बाँकी छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१३ का २३ वर्षीय रुपेश घर्ती मगर र २७ वर्षीय कुमारबहादुर रास्कोटी तथा वडा नं. १२ का ३१ वर्षीय बालाराम पौडेल र ३५ वर्षीय नवराज चालिसे रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएको जनाएको छ।

लागूऔषध नियन्त्रण तथा अवैध कारोबारविरुद्ध प्रहरीको सक्रियताले समाजमा बढ्दो लागूऔषध दुव्र्यसन र कारोबार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी युवापुस्तालाई लागूऔषधको जोखिमबाट जोगाउन सुरक्षा निकाय, परिवार र समुदायबीच सहकार्य आवश्यक देखिन्छ।

लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले उक्त जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *