खेमराज भट्ट, कार्तिक २१
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सडक खन्ने तथा निर्माण गर्ने क्रममा आवश्यक सुरक्षा मापदण्ड पालना नगर्ने र वातावरण प्रदूषित गर्ने निर्माण पक्षमाथि कारबाहीलाई कडाइ गरेको छ।
महानगरपालिका वडा नं. १३ स्थित सोल्टी होटल रोडमा पिच सडक खन्ने क्रममा आवश्यक सुरक्षा व्यवस्था नअपनाई धुलो तथा फोहोरमैला फैलाएको पाइएपछि महानगर प्रहरी बलले राजुदास शंकरलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
सडक खन्ने क्रममा निर्माणस्थललाई व्यवस्थित नराखेको, धुलो नियन्त्रणका उपाय नअपनाएको तथा फोहोर व्यवस्थापनमा बेवास्ता गरेको पाइएपछि महानगरले कारबाही गरेको हो। सार्वजनिक सडकमा निर्माण कार्य गर्दा सर्वसाधारणको सुरक्षा र सहज आवागमनलाई प्राथमिकता दिनुपर्नेमा त्यसको बेवास्ता गरिएको महानगरको कारबाहीले देखाएको छ।
महानगरपालिकाले सडक निर्माण तथा मर्मतका काम गर्दा निर्माणस्थलमा आवश्यक संकेत चिह्न राख्न, जोखिमयुक्त क्षेत्र सुरक्षित बनाउन, धुलो उड्न नदिन नियमित पानी छर्किन, निस्किएको माटो तथा फोहोर तत्काल व्यवस्थापन गर्न र पैदलयात्री तथा सवारीसाधनको आवागमन अवरुद्ध नहुने व्यवस्था मिलाउन सम्बन्धित निर्माण पक्षलाई आग्रह गरेको छ।
निर्माणका नाममा सार्वजनिक सडक अस्तव्यस्त बनाउने, सुरक्षा सावधानी नअपनाउने र वातावरण प्रदूषित गर्ने कार्यलाई महानगरले सामान्य रूपमा नलिने सन्देशसमेत यस कारबाहीले दिएको छ।
विकास निर्माण नागरिकको सुविधाका लागि हुनुपर्ने भए पनि निर्माणकै क्रममा नागरिकले धुलो, फोहोर, जोखिम र आवागमनको समस्या भोग्नुपर्ने अवस्था उचित होइन। त्यसैले निर्माण व्यवसायीले तोकिएको मापदण्ड र जिम्मेवारी पूरा गर्नुपर्ने महानगरको अपेक्षा छ।
महानगरको यस कदमले सार्वजनिक सडकमा जथाभावी खन्ने, निर्माणस्थल असुरक्षित बनाउने र सर्वसाधारणलाई सास्ती दिने प्रवृत्ति निरुत्साहित हुने अपेक्षा गरिएको छ। विकास निर्माणसँगै नागरिकको सुरक्षा, स्वच्छ वातावरण र सहज आवागमन सुनिश्चित हुनुपर्ने सन्देश महानगरले दिएको छ।
