चाडपर्व सुरक्षामा प्रहरीको विशेष निगरानी, ८ हजार ६६८ जनशक्ति परिचालन

खेमराज भट्ट, कार्तिक २०
काठमाडौं- काठमाडौं उपत्यकाको शान्ति सुरक्षा सुदृढ बनाउँदै अपराध नियन्त्रण र फरार अभियुक्त पक्राउ अभियानलाई तीव्रता दिएको उपत्यका प्रहरीले तीन महिनामै उल्लेखनीय सफलता हासिल गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा सञ्चालन गरिएको सुरक्षा रणनीतिअन्तर्गत आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन, भदौ र असोज) मा १ हजार १६२ जना फरार अभियुक्त पक्राउ परेका छन्।

डीआईजी थपलियाले रैकवार खबर डटकमलाई दिएको जानकारीअनुसार पक्राउ परेकाहरूबाट ३०२ वर्ष ४ महिना १८ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने १५ करोड ७८ लाख ९८ हजार ७०७ रुपैयाँ जरिवाना असुल गरिएको छ। विभिन्न कारागार तथा थुनाबाट फरार थप ६७ जना कैदीसमेत पक्राउ परेका छन्।

उपत्यकामा शान्ति सुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न र नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन प्रहरीले नियमित गस्ती तथा निगरानीलाई तीव्रता दिएको छ। तीन महिनाको अवधिमा २३ हजार २४३ पटक मोबाइल गस्ती, २० हजार ८८७ पटक पैदल गस्ती, ११ हजार ३४९ पटक मोटरसाइकल गस्ती तथा ६ हजार १७ पटक नियमित र आकस्मिक चेकिङ गरिएको छ।

लागुऔषध कारोबार नियन्त्रणमा ४४४ वटा मुद्दा दर्ता गरी ३७८ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट गाँजा, खैरो हेरोइन, ट्रमाडोललगायत विभिन्न प्रकारका २ लाख ९५ हजार ६७६ एम्पुल तथा चक्की लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, हुण्डी कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरी चारवटा मुद्दा दर्ता गरिएको छ। उक्त कारोबारमा १ करोड ६० लाख ८४ हजार १८० रुपैयाँ बिगो मागदाबी गरिएको छ। भन्सार छली तथा अवैध सुन ओसारपसारमा संलग्न २७ जनालाई पक्राउ गरी २३ किलो ८८८.०६ ग्राम सुनजस्तो देखिने पहेँलो धातु बरामद गरिएको छ।

सार्वजनिक सुरक्षा, महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार र अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले स्विप अपरेसनअन्तर्गत २ हजार ७३४ जनालाई नियन्त्रणमा लिएर छानबिन गरेको छ। त्यस्तै, ‘सेफ्टी पिन अपरेसन’ अन्तर्गत ६३७ जनालाई पक्राउ गरिएको छ। तीमध्ये गम्भीर प्रकृतिका कसुरमा संलग्न ६३ जनाविरुद्ध ४३ वटा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

सडक सुरक्षातर्फ मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरिएको छ। सवारी चोरी तथा हराएको सम्बन्धमा परेका ५२१ उजुरीमध्ये २५७ वटा सवारीसाधन फेला पारिएको र २२१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। चोरीमा संलग्न ३४ जना पक्राउ परेका छन्।

दसैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन डीआईजी थपलियाको नेतृत्वमा असोज १८ देखि कात्तिक १८ गतेसम्म एकमहिने विशेष सुरक्षा योजना सञ्चालन गरिएको थियो। उक्त योजनाअन्तर्गत उपत्यकाका विभिन्न स्थानमा ८ हजार ६६८ प्रहरी परिचालन गरिएको थियो। यात्रु तथा सर्वसाधारणको सहजताका लागि ३७ वटा सहायता कक्ष स्थापना गरिएका थिए भने विभिन्न नाका तथा संवेदनशील क्षेत्रमा २२ वटा नाका चेकिङ सञ्चालन गरिएको थियो।

प्रहरीले सादा पोसाकमा सूचना सङ्कलन, पैदल तथा सवारी गस्ती, कमान्ड पोस्ट, सीसीटीभी, ड्रोन र तालिमप्राप्त कुकुरको सहायताबाट सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाएको थियो।

विशेष सुरक्षा अभियानकै क्रममा जुवातास खेल्ने तथा खेलाउनेविरुद्ध १२ वटा मुद्दा दर्ता गरी ९१ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट २८ लाख ७९ हजार ७७५ रुपैयाँ नगद र ४९ बुक तास बरामद गरिएको छ। त्यसैगरी, अवैध पटाका कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरिएको छ। प्रहरीले ३४ हजार ३५७ थान विभिन्न प्रकारका पटाका, १३ हजार ८४९ प्याकेट विस्फोटक प्रकृतिका सामग्री तथा बेवारिसे अवस्थामा रहेका तीन बोरा पटाका बरामद गरेको छ।

डीआईजी थपलियाले शान्ति सुरक्षा कायम राख्नु, अपराध नियन्त्रण गर्नु र नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्नु प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्। चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, अवैध पटाका कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय रहेको उल्लेख गर्दै उनले सुरक्षा व्यवस्थापनमा सर्वसाधारणको सहयोग र सचेतना पनि उत्तिकै आवश्यक रहेको बताएका छन्।

उनले कुनै पनि शङ्कास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन्। प्रहरीको सक्रियता र नागरिकको सहकार्यबाट मात्रै सुरक्षित समाज निर्माण सम्भव हुने उनको भनाइ छ।

नियमित गस्ती, प्रविधिमैत्री निगरानी, अपराध अनुसन्धान र विशेष सुरक्षा अभियानलाई प्राथमिकतामा राख्दै काठमाडौं उपत्यका प्रहरी नागरिकको सुरक्षा र शान्तिपूर्ण वातावरण निर्माणमा सक्रिय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *