‘बाटुलो जून’को ११ दिनमा ८ करोड ३५ लाख कमाइ, अनमोलको करिअरकै दोस्रो ठूलो हिट

मंसिर ७ । भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ले घरेलु बक्स अफिसमा राम्रो व्यापार गर्दै अभिनेता अनमोल केसीको करिअरकै दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्मको स्थान बनाएको छ। प्रदर्शनको ११ दिनमा फिल्मले ८ करोड ३५ लाख ३७ हजार ९१७ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार उक्त अवधिमा फिल्मका २ लाख ६९ हजार ५४४ टिकट बिक्री भएका छन्। कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सुरुवाती दिनदेखि नै दर्शकको साथ पाएको थियो।

११ दिनको कमाइसँगै ‘बाटुलो जून’ अनमोल केसीको करिअरमा सबैभन्दा धेरै कमाउने फिल्म ‘जेरी अन टप’पछिको दोस्रो स्थानमा पुगेको छ। गत वर्ष प्रदर्शनमा आएको ‘जेरी अन टप’ले घरेलु बक्स अफिसमा १२ करोड २८ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो। उक्त रेकर्ड उछिन्न ‘बाटुलो जून’ले अझै ३ करोड ९० लाख ६२ हजार ८३ रुपैयाँ कमाउनुपर्नेछ।

फिल्मले देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजबाट यसअघि नै ‘सुपरहिट’को ट्याग पाइसकेको छ। यद्यपि, दर्शकबाट फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ। कथा, प्रस्तुति र अभिनयबारे दर्शकका धारणा फरक–फरक भए पनि व्यावसायिक रूपमा फिल्मले बलियो उपस्थिति देखाएको छ।

सुरुवाती कमाइको गति घट्दै

फिल्मको व्यापारले पहिलो पाँच दिनमा तीव्र गति लिएको थियो। निर्माण पक्षले सार्वजनिक गरेको विवरणअनुसार त्यस अवधिमा फिल्मले ५ करोड ७५ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो। तर पछिल्ला छ दिनमा थप २ करोड ६० लाख ३७ हजार ९१७ रुपैयाँ मात्रै कमाएको छ। यसले सुरुवाती पाँच दिनको तुलनामा पछिल्लो समय कमाइको गति केही सुस्ताएको देखाउँछ।

डेब्यूमै प्रिन्सीको चर्चा

‘बाटुलो जून’बाट अभिनेत्रीका रूपमा डेब्यू गरेकी प्रिन्सी खतिवडाले पहिलो फिल्मबाटै प्रशंसा बटुलेकी छन्। टिकटकबाट चर्चामा आएकी प्रिन्सीले यसअघि विभिन्न म्युजिक भिडियोमा मोडलिङ गरेकी थिइन्। फिल्ममा उनको अभिनय, प्रस्तुति र अनमोल केसीसँगको केमेस्ट्रीलाई दर्शकले रुचाएका छन्।

फिल्ममा अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिकामा छन्। भुवन केसी, गरिमा पन्त, न्यान्सी खड्का, रेअर राई, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना र लक्ष्मी गिरीलगायत कलाकारको पनि अभिनय छ।

विसं २०४० को दशकको नेपाली सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित फिल्मले तत्कालीन समयको प्रेम, सामाजिक अवस्था र जीवनशैलीलाई चित्रण गरेको छ। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्मका निर्माता जिया केसी र भविष्य खड्का हुन्। फिल्म अहिले दोस्रो सातामा प्रदर्शनरत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *