लिग–२ क्रिकेटमा नेपालः दुरुह बन्दै विश्वकपको सपना, एक दिवसीय मान्यता पनि धरापमा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालको यात्रा मध्यविन्दूबाट पार भइसकेको छ । अहिलेसम्मका खेलमा स्थिर प्रदर्शन गर्न नसकेको नेपाली टिमका आगामी दिनहरु चुनौतिपूर्ण छन् ।

लिग २ अन्तर्गत आफ्नो भागमा परेका ३६ खेलमध्ये नेपालले २० खेल खेलेकोमा ८ वटा मात्रै जित निकालेको छ । ११ खेलमा हार र एक बराबरीसहित १७ अंक जोडेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । हालै स्कटल्यान्डमा सम्पन्न लिग–२ अन्तर्गत चार खेलमा अपेक्षित नतिजा ल्याउन नसकेपछि नेपालको यात्रा थप चुनौतिपूर्ण बनेको हो ।

स्कटल्यान्डको त्रिदेशीय एकदिवसीय श्रृङखलामा नेपालले कम्तिमा तीन खेल जितेर तालिकाको तेस्रो स्थानमा उक्लिने लक्ष्य लिएको थियो । तर ठ्याक्कै विपरित नतिजा आयो । नेपालले तीन खेलमा हार बेहोर्यो र एउटा मात्रै जित निकाल्न सक्यो । यो प्रदर्शनसँगै नेपाली क्रिकेट टिमले विश्वकप खेल्ने सम्भावना कठिन बनेको छ भने एकदिवसीय मान्यता पनि दाउमा लागेको छ ।

शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना लगभग सकिएको छ । एकदिवसीय राष्ट्रको मान्यता जोगाउन नेपाल शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ । स्कटल्यान्ड भ्रमणबाट स्वदेश फर्किएपछि कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कुनै पनि हालतमा एकदिवसीय मान्यता गुम्न नदिने बताए । तर, यो निकै चुनौतिपूर्ण छ । स्कटल्यान्डबाट फर्केलगत्तै प्रमुख प्रशिक्षकबाट दासानायकेले हात झिकिसकेका छन् ।

स्कटल्यान्डमा नेपालको अपेक्षित नतिजा नआउनुको प्रमुख कारण हो, कमजोर ब्याटिङ । घरेलु मैदानमा उत्कृष्ट देखिने गरेको नेपाली टिमको ब्याटिङ विदेशी भूमिमा भने लड्खडाउने गर्छ । एकदिवसीय खेलमा पनि २ सय रनको टार्गेट चेज गर्न नेपाललाई आच्छुआच्छु पर्ने गरेको छ । खेलाडीहरु ५० ओभरसम्म क्रिजमा टिक्नसमेत सक्दैनन् । पूरा ओभर नखेली अलआउट हुने समस्याबाट नेपाल पिडित छ ।

स्कटल्यान्डमा खेलिएका चार खेलमा नेपालका आसिफ शेखबाहेक कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । सबैभन्दा आशा गरिएका दिपेन्द्र सिंह ऐरीले निराश बनाए । अर्का स्टार रोहित पौडेलको प्रदर्शन पनि सोचेजस्तो भएन । फलतः नेपालले आफूभन्दा कमजोर मानेको नामिबियासँग दुवै म्याचमा हार व्यहो¥यो । स्कटल्यान्डविरुद्ध एउटा खेलमा उत्कृष्ट प्रदर्शनले नेपालको लाज ढाकेको थियो ।

लिग–२ अन्र्तगत नेपालले १६ खेल खेल्न बाँकी छ । ओडीआइ मान्यता जोगाउनका निम्ति नेपालले अब १० भन्दा बढी खेल जित्नुपर्ने हुन सक्छ । अब बाँकी खेलमध्ये ८ खेल होमग्राउन्डमा र बाँकी ८ खेल विदेशी भूमिमा खेल्नेछ । विदेशमा खेल्ने आठ खेलमा ४ खेल पपुवा न्यूगिनी र चार खेल नामिबियामा हुनेछन् । यी दुवै राष्ट्र नेपालभन्दा कमजोर मानिन्छन् । तर, विदेशी भूमिका केही भन्न सकिन्न । त्यसैले आफ्नो होमग्राउन्डमा हुने ८ खेलमा नेपालले अधिकतम जित निकाल्नुपर्ने हुन्छ ।

लिग–२ अन्र्तगत नेपालले घरेलु मैदानमा अहिलेसम्म चार खेल मात्रै खेलेको छ । जसमा दुई खेलमा जित निकालेको छ । २०२० फेब्रुअरी ५ देखि १२ सम्म त्रिवि क्रिकेट मैदानमा भएको ओमान र अमेरिका सम्मिलित त्रिदेशीय श्रृङ्खलामा नेपालले दुई खेलमा अमेरिकालाई समान आठ विकेटले हराएको थियो । ओमानविरुद्ध भने १८ र ३५ रनले पराजित भएको थियो ।

त्यसपछि, ओमानमा सेप्टेम्बर १३ देखि १९ सम्म अमेरिका सम्मिलित श्रृङखला खेलेको थियो । चार खेलको श्रृङखलामा नेपाल दुई खेल जित्न सफल भयो । एक खेलमा अमेरिकाविरुद्ध ५ विकेट र ओमानसँग ७ विकेटले नेपाल विजयी भएको थियो । बाँकी खेलमा अमेरिकासँग ६ विकेट र ओमानसँग ५ विकेटले हारेको थियो ।

ओमानपछि नेपाली टिम लिग–२ कै सिलसिलामा यूएई पुग्यो । यूएईमा घरेलु टिम र पपुवा न्यूगिनी (पीएनजी) सँगको श्रृङखला खेलेको नेपाल यूएईमा पनि दुई जित मात्रै निकाल्न सफल रहयो । युएईसँग दुवै खेलमा हारेको नेपालले पीएनजीसँगका दुई खेल भने जितेको थियो । पीएनजीलाई पहिलो खेलमा २ विकेटले हराएको नेपाल त्यसपछि यूएईसँग क्रमशः ४८ रन र ९९ रनले पराजित भएको थियो । अन्तिम खेलमा पीएनजीलाई ७ विकेटमा हराउँदै श्रृङ्खलाको सुखद अन्त्य गरेको थियो ।

लिग–२ को तयारीस्वरुप नेपालले घरेलु मैदानमा गत मार्चमा पीएनजीसँग दुई खेलको एकदिवसीय श्रृङ्खला खेल्यो तर दुवै खेल पाहुना टोलीलाई सुम्पिएको थिया । पहिलो खेलमा ६ रन र दोस्रो खेलमा नेपाल तीन विकेटले पराजित भएको थियो ।

अघिल्लो महिना जुन ९ देखि १५ सम्म अमेरिकामा ओमान सम्मिति त्रिदेशीय श्रृङखलामा पनि नेपाल एक जितमा सिमित भयो । यस बिचमा नेपालले जिम्बावे ए सँग समान तीन खेलको टी–२० र एकदिवसीयको अभ्यास खेल खेलेको थियो । यस्तै, अमेरिकाको अलस्टार्स क्लब र क्यानाडामा पनि स्थानिय क्लबसँग अभ्यास खेल खेल्यो । जताततै नेपाले ब्याटिङमा संघर्ष गरिरहनु पर्यो ।

यो सबै नतिजा हेर्दा समग्रमा नेपालको कमजोरी ब्याटिङमै देखिएको छ । तर, समर्थकहरुले चाहिँ प्रशिक्षक पुबुदु र कप्तान सन्दीपमाथि दोष थोपर्ने गरेका छन् । कप्तान परिवर्तनका कारण टिममा एकता नभएको र प्रदर्शन खस्किएको टिप्पणी सामाजिक सञ्जालमा हुने गरेको छ ।

टिमका खेलाडीहरु भने ब्याटिङकै कमजोरीका कारण हारिएको स्वीकार्छन् । स्कटल्यान्ड भ्रमणपछि बोल्दै नेपालका ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेखले नेपालको मुख्य समस्या ब्याटिङमै रहेको बताए ।

‘हामीले ब्याटिङ टेक्निकमा काम गर्नुपर्छ । जब हामी क्रमशः एक÷दुई खेलमा २५० भन्दा माथिका स्कोरहरु चेज गर्न चाल्छौ भने त्यसको बानी पर्न थाल्छ । हामी त्यसैमा चुकिरहेका छौं,’ आसिफले भने ।

यस्तै, आरिफले नेपाली टिम बलिङ र फिल्डिङमा उत्कृष्ट भएपनि ब्याटिङमा सँधै चुकेको र टिमले आफ्नो ताकत नै बिर्सिएको बताए ।

‘हामी बलिङ र फिल्डिङमा सँधै उत्कृष्ट छौं । मुुख्य समस्या हाम्रो ब्याटिङमा छ । हामीले हाम्रो जित्ने ताकतलाई ब्याक गर्न सकेका छैनौं । सबैलाई आफ्नो टिममा आफ्नो भुमिका के हो भनेर स्पष्ट पनि नभए जस्तो लाग्छ । हामीले ब्याटिङमै धेरै अभ्यास गर्नुपर्छ,’ आरिफले भने ।

स्कटल्यान्ड भ्रमणमा नेपालले पहिलो खेलमा नामिबियासँग ४० रनको पराजय बेहोरेको थियो । दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा नामिबियासँग ६३ रन र चौथो खेलमा स्कटल्यान्डसँग आठ विकेटले हारेको थियो ।

स्कटल्यान्ड भ्रमणपछि कप्तान सन्दीप पनि खुसी देखिएका छैनन् । उनले पछि गएर पछुताउनु भन्दा सबैले एक टिमको रुपमा यसअघि गरेका गल्तिलाई सुधारेर अघि बढ्नु पर्ने र समग्र क्रिकेटलाई बचाउन बाँकी खेलमा राम्रो नतिजा ल्याउनुपर्ने प्रतिक्रिया दिए ।

‘टिमको रुपमा हामी जे सोचेर स्कटल्यान्ड गएका थियौं । त्यो गर्न सकेनौं । हामी असफल भयौं । हाम्रो ब्याटिङ भनेको माइन्ड सेटका कारण राम्रो हुन नसकेको हो । विस्तारै परिवर्तन हुन्छ । बाँकी खेलमा हामीले गल्ति गर्नु हुँदैन,’ सन्दिपले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply