कञ्चनपुर :- सुन्दर सुदूरपश्चिम कैलाली र कञ्चनपुर बसोवास गर्ने राना थारु समुदायको परम्परागत ‘तीज’ पर्वको रौनक छ । राना थारु बस्तीमा डोला (पिङ) हालिएका छन् । परम्परागत पोशाकमा सजिएका कृष्णपुर ८ बिचवा स्थित रानाथारू समुदायका महिला पिङ खेल्दै शनिबार साउनका परम्परागत गीत गुनगुनाउन सुरु गरेका छन् ।
विवाहित छोरीचेली माइती फर्किएका छन् । राना थारु समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक गरी मनाइन्छ । एक महिनासम्म तीज मनाउने यो समुदायमा चौकचौक,खाली प्राङ्गणमा,आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ । त्यसरी हालिएको पिङलाई ( डोला ) भनिन्छ । पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् ।
पिङ हाल्न दाजुभाइ-दिदीबहिनी मिलेर डाेरी बाटेर पिङको लठ्ठा बनाइन्छ । यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको रानाथारू संस्कृतिकी जानकार शिवराज रानाले बताइन् । कृष्णपुर नगरपालिका ८ विचवा, कलुवापुर र पिपरियामा पनि राना थारुहरूको बाक्लो बस्ती छ । अन्य समुदायजस्तै रहनसहन, परम्परा, रीतिरिवाज तथा खानपिन र कला संस्कृतिमा सम्पन्न छन् रानाथारू । हिन्दु धर्मावलम्बीहरूले श्रीमानको दीर्घायु तथा कुमारी केटीले महादेव जस्तै वर पाउँ भनी तीजको ब्रत बस्ने धार्मिक मान्यता छ । तर, राना थारूले समुदायमा भने तीजलाई फरक तरिकाले मनाइन्छ । राम्रो बरका लागि र श्रीमानको दीर्घायुका लागि नभएर दाजुभाइको आरोग्यता र दीर्घायुका लागि तीज मनाइन्छ राना थारु समुदायमा ।’संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइकाे जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ,’ कुष्णपुर ८ कि सुनिता रानाले भनिन् । श्रावण तृतीयालाई तिजको मुख्य दिन मानिन्छ । यस दिन दिदीबहिनीले निराहार व्रत बस्ने चलन छ । व्रत बसेका दिदीबहिनीले पूजामा चढाउन सिमही, गुलगुला, पपरा, पुरीलगायत परम्परागत परिकार पकाउँछन् ।
व्रतालु महिला साँझ परेपछि नदीकिनारमा गएर पूजा गर्छन् । गडरौदा जातको घाँस वा कुसमा विवाहितले सात र अविवाहितले पाँच गाँठा पारी त्यसको पूजा गर्छन् । पूजा सकिएपछि चाँदीको गहना वा सिक्काले त्यसलाई काट्छन् अनि प्रसादको रूपमा खानाका परिकार राखेर नदीमा बगाउँछन् । ‘विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइका उन्नति र दीर्घायुको कामना गर्छन्,’ कृष्णपुर ८ की बत्तु देवी रानाले भन्छिन्, ‘दाजुभाइको आयु नदीजस्तै लामो होस् भन्ने कामना गरिन्छ ।’ व्रत विसर्जन गर्न नदी किनारमा जाँदै गर्दा दाजुभाइले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने गर्छन् । रानाथारू संस्कृतिमा स्नातकोत्तर तहको शोध गरेकी जीवनका अनुसार परापूर्वकालमा बेहमैयाले तिजको व्रत बसेको र त्यहीँबाट यसको सुरुवात भएको विश्वास छ । बेहमैयाले गडरौदा जातको घाँस गाँठो पारी आफ्ना भाइभतिजाको नाम लिएर बगाउँदा बग्यो, तर त्यत्तिकै बगाउँदा बगेन । नबगेपछि बेहमैया रुन थालिन्, जुन शिव-पार्वतीले देखे । र, उनलाई रुनुको कारण सोधे । शिव-पार्वतीले बेहमैयालाई आफ्ना भाइभतिजाका लागि व्रत बस्न र दीर्घायु कामनाका साथ गडरौधामा गाँठो पारेर नदीमा बगाउनु भनेपछि व्रत बस्ने चलन सुरु भएको किंवदन्ती छ ।
अन्य समुदायमा श्रीमान्को दीर्घायुको कामना गर्दै तिज व्रत बस्ने चलन छ । यो समुदायमा भने दाजुभाइ र भतिजाको दीर्घायुको कामना गरिने रानाथारू संस्कृतिका जानकार कृष्णपुर ८ का शिवराज राना बताउँछन् । ‘परापूर्वकालमा हाम्रो समुदायमा दुःख बिमार परेर पुरुषको मृत्यु हुन थाल्यो,’ उनी भन्छन्, ‘त्यसैले संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ ।’
साथै सुर्य देव राजा थिए उनिका दुई छाेरा र छाेरी थिए भने कुनै कारण बत छाेरा लाई स्राप लागेपछि निकाे हुन भनेर बहिनि ले व्रत बस्न थलेकाे बताए । कञ्चनपुर र कैलालीमा मात्र यो समुदायको मुख्य बसोवास छ । सरकारले यो समुदायलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । नेपाल रानाथारू समाजका अनुसार यो समुदायको जनसंख्या करिब अन्दाजी पौने ४ लाख छ । दुई जिल्लामा एक सय ३४ वटा गाउँमा रानाथारूको बसोवास छ । आफ्नो समुदायको भाषा, रीतिरिवाज, चाडपर्व, संस्कृति र जीवनशैली अन्य समुदायको भन्दा पृथक रहेको राम प्रशाद रानाले बताए । कार्यक्रमका सभा अध्यक्ष रामप्रसाद राना प्रमुख अतिथि नेपाल कांग्रेस प्रदेश सभा सदस्य माननीय श्यामलाल राना विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ८ अध्यक्ष दिनेश खड्का, शिवराज राना , पुरन राना, अतिथि कृष्णपुर ८ वडा सदस्य अम्बिका चौधरी, समाजसेवी बुद्धिजीवी लगायतको बाक्लो उपस्थिति रहेकोे कार्यक्रमक संचालक सुनिता राना, निरज रानाले गरेका थिए ।