दोषी उम्कन हुँदैन, निर्दोषी फस्नु हुँदैन : मन्त्री विश्वकर्मा

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले जुनसुकै अपराधमा दोषी उम्कन नहुने र निर्दोषी फस्न नहुने बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा आज पोखरामा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले बढ्दो प्रविधिको विकाससँगै अपराधमा प्रयोग हुने गरेका नयाँ–नयाँ प्रविधि तथा प्रयोगको चुनौतीलाई सामाना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अपराध अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताउनुभयो । समाजमा शान्ति सुरक्षा कायम गराउन आपराधिक गतिविधि अन्त्य हुनुपर्नेमा जोड दिँदै उहाँले अनुसन्धानलाई अझै प्रभावकारी बनाउने गरी लाग्नुपर्ने उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी सङ्गठन निरन्तर दत्तचित्त भएर लागेको बताउनुभयो । प्रहरीको मनोबल उच्च बनाउनका लागि सङ्गठनलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै उहाँले यसबाट अनुसन्धानको प्रभावकारितामा पनि वृद्धि हुने बताउनुभयो । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा त्यसलाई निष्पक्ष र भयरहित बनाउने वातावरण तयार गर्न उहाँले मातहतका निकायलाई निर्देशन दिनुभयो । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले पछिल्लो समयमा अपराधको प्रवृत्ति बदलिएको उल्लेख गर्दै समय सापेक्ष चुनौतीका रुपमा बढिरहेका अपराधजन्य गतिविधिको अनुसन्धान तथा नियन्त्रण अहिलेको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, प्रहरी नायब उपरीक्षक प्रवणकुमार विकलगायतले अपराधको अनुसन्धान र नियन्त्रणमा प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा बदलिँदो चुनौतीलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । गोष्ठीको आन्तरिक सत्रमा अपराध अनुसन्धान सम्बन्धमा प्रदेशका ११ वटै जिल्लाका प्रहरी प्रमुखबाट प्रस्तुतिकरणका साथै गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रस्तुतिकरण हुने बताइएको छ । साथै गोष्ठीमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको प्रस्तुतिका साथै छलफल एवं अन्तक्र्रिया हुनेछ । –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply