कैलाली । कैलालीको घोडाघोडी नगरपालिका राजनैतिक हस्तक्षेपले रोकिएको करार कर्मचारीको परीक्षा करिब एक महिना पुग्नै लाग्दा पनि सुरु हुन सकेको छैन । नगरपालिकाले साउन १ गते विभिन्न १६ पदको लागि २९ जनाको विज्ञापन खोलेको थियो । तर, विभिन्न राजनैतिक दलले दबाब दिएपछि परीक्षा सुरु भएकै दिन परीक्षा स्थगित गरिएको थियो ।
आठौँ तहको मेडिकल अफिसरदेखि श्रेणीविहीन स्पिरसम्म पुनः परीक्षा हुन सकेको छैन । ‘अहिले उक्त विषयमा छलफल भएको छैन’ नगरपालिकाका मेयर खडक रावतले भने ‘स्थगित भएको परीक्षा अनिश्चित छ ।’
कार्यालयले साउन २९ गते देखी भदौ १२ गते सम्म परीक्षाको मिति तोकेको थियो । पहिलो दिन साउन २९ गते स्टाफ नर्स र अनमिको परीक्षा तोकिएको थियो । सोही तालिका अनुसार अनमि तर्फ १६ जना र स्टाफ नर्सतर्फ १४ जनाले परीक्षा दिइरहेका थिए । उता परीक्षार्थीले परीक्षा दिइरहेका बेला यता नगरपालिकाले अर्को सूचना जारी नहुँदासम्मको लागि परीक्षा स्थगित भएको सूचना जारी गर्यो ।
राजनैतिक दलको दबाबमा परीक्षा स्थगित गरेको नगरपालिकाले भूमिसम्बन्धी काम गर्नको लागि अमिन पदमा ज्यालादारीमा काम लगाउने निर्णय गरेको थियो । अहिले यहाँ भूमिसम्बन्धी काम भइरहेको छ । मेडिकल अफिसरको परीक्षा नहुँदै स्थगित भएपछि पूर्ण क्षमतासहित नगर अस्पताल सञ्चालन गर्ने नगरपालिकाको योजना पनि असफल भएको छ ।
त्यो बेला परीक्षार्थीले बुझाएको दरखास्तसमेत नगरपालिकाले फिर्ता गरेको छैन । दरखास्तसमेत फिर्ता नगरेर परीक्षा स्थगित गर्न बाध्य पारेका राजनैतिक दलहरू पनि अहिलेसम्म यस विषयमा छलफल सुरु गर्न सकेका छैनन् ।
अघिल्लो महिना २९ गते परीक्षा स्थगित गर्ने भन्दै सूचना जारी गरेका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले नै राजनैतिक दबाबका कारण परीक्षा स्थगित गर्न बाध्य भएको बताएका थिए ।
‘कर्मचारी प्रति हाम्रो विश्वास छैन, यो परीक्षा हाललाई स्थगित गरी नयाँ ढंगले जानुपर्छ भन्ने कुरा आएर दबाब सृजना भएपछि मैले नै हाललाई स्थगित गरेको हुँ’ आचार्यले भनेका थिए ।
अहिले प्रशासकीय अधिकृत पनि यस विषयमा छलफल नभएको बताउँछन् । सोमबार थप दुई पदमा विज्ञापन आह्वान गरेका आचार्यले पुराना परीक्षाका विषय अनिश्चित रहेको बताए । सोमबार आठौँ तहको पशु सेवा चिकित्सक र कृषि स्नातकको परीक्षा आह्वान गरेको छ ।
राजनैतिक हस्तक्षेपले यो परीक्षा पनि स्थगित हुने त होइन भन्ने नगरपालिकाका कर्मचारीलाई चिन्ता छ ।