गोपी हमाल: बालेन र हर्क साम्पाङ जसरी नै जितेका धनगढीका मेयर ‘नगर बनाउन व्यस्त’

धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमाललाई निर्वाचित भएको एक सय दिन पुग्दा आफूले गरेका काम नगरवासीले देखेरै ठम्याउन सकुन् भन्ने लागेको छ। तर उनी काठमाण्डू र धरानका मेयरजस्तो चर्चामा छैनन्।

काठमाण्डूका मेयर बालेन शाहले सहरका ठूला भवनको बेसमेन्ट खाली गराएर अनि अनुमति नलिई बनाइएका संरचना हटाएर चर्चामा छन्। धरानका मेयर हर्क साम्पाङ खानेपानीको अभाव टार्ने वाचा पूरा गर्न ढुङ्गा बोकिराखेका छन्।

मेयरका रूपमा कार्यालय छिरेको पहिलो दिन उनी छक्क परेछन्। केही कर्मचारी ११ बजे फुर्सदिलो पाराले आइपुगे। कोही पोसाकमा थिएनन्। अनि केही चाहिँ अनेक कारण देखाउँदै कार्यालय समय सकिनुअघि नै निस्किएछन्। एक कर्मचारी त मदिरा सेवन गरेर उपस्थित भएको थाहा पाएपछि आफूले उनलाई प्रहरीको जिम्मा लगाएको हमालले बताए।

“समयको पालना नगर्नु र अनुशासनमा नरहनु नै अस्तव्यस्तताको प्रमुख कारणहरू हुन् भन्ने कुरा पहिलो दिन नै महसुस गरेँ। त्यही दिन- आफ्नो समय पनि खेर फाल्दिनँ र जनताको समयको पनि अवमूल्यन गर्दिनँ भन्ने प्रण गरे,” उनले भने।

उनी सेवाग्राही आफ्नो अनुकूलता अनुसार आए पनि कर्मचारीहरू कार्यालय समयभर सतर्क रहनु पर्ने मत राख्छन्। अहिले कर्मचारी कम भएकाले कार्यालयका हरेक मानिस शत प्रतिशत खट्नु पर्ने अवस्था रहेको उनी बताउँछन्। कारण- उनले गत असार मसान्तमा करार अवधि सकिएका कर्मचारीहरूको सम्झौता नवीकरण गरिदिएनन्। त्यति बेला आवश्यकताभन्दा बढी जनशक्ति भएकाले त्यसो गरेको उनले बताए। भने, “कर्मचारी आवश्यक परे विज्ञापन दिएर खुला प्रतिस्पर्धामार्फत बोलाउँछौँ। आवश्यकता नभई अनुहार हेरेर कर्मचारी राखेमा राजनीतिक शक्तिको आडमा स्रोतको दुरुपयोग गरेजस्तो हुन्छ।”

राजनीतिमा पस्नुको कारण

सफल व्यवसायीको रूपमा सुदूरपश्चिममा स्थापित हमाल २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नृपबहादुर वडसँग निकै कम मतान्तरले पराजित भएका थिए। त्यसपछि उनी केही समय विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक बने। गत फागुनमा उनले पार्टी त्याग गरेर पुनः चुनाव लड्ने बताएका थिए।

“मैले व्यवसायीको रूपमा पनि थुप्रै समाजसेवा गरेँ। एउटा विन्दुमा पुगेपछि समाजले भोगिरहेको समस्या समाधान गर्न नीतिगत तहमै काम हुनुपर्छ भन्ने महसुस भयो,” उनले आफू राजनीतिमा होमिनुको कारण सुनाए।

भ्रष्ट राजनीतिलाई कल्याणकारी बनाउने वाचा गरेका उनलाई यस पटक धनगढीवासीले विश्वास गरे। त्यही विश्वास र साथका कारण आफूले छोटो अवधिमै विभिन्न कार्यक्रम तथा योजनाहरू सफल बनाउन सकेको उनी बताउँछन्।

कस्ता काम भएका छन् त?

धनगढीका मानिसहरू बिरामी हुँदा सेती अस्पताल धाउँछन्। भेगकै ठूलो यस अस्पतालमा प्रदेशभित्र र बाहिरका मानिसहरूका कारण सधैँ चाप हुन्छ। कतिपय अवस्थामा बिरामीहरू विशेषज्ञ सेवाको निम्ति नेपालगन्ज वा भारतसम्मै धाउनु पर्ने स्थिति छ।

अनि उप-महानगरपालिकामा अझै विकराल बनेर फैलिएको रहेछ- रोग लुकाउने प्रवृत्ति।

“धेरैजसो महिलाहरूले आफ्नो यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या लुकाउने गरेको पायौँ। उपचार गर्न चाहने महिलाहरू पनि उपचार खर्च जुटाउन आफूले पालेको कुखुरा वा हाँस बेच्न बाध्य रहेछन्,” हमालले भने।

त्यसैले कार्यभार सम्हालेको एक महिनामै सुरु गरे “विशेषज्ञ वडा क्लिनिक”- जस अन्तर्गत प्रत्येक वडामा हरेक महिनाको एक दिन विशेषज्ञ सेवासहित स्वास्थ्य परीक्षण तथा औषधोपचार गरिन्छ।

यस कार्यक्रम अन्तर्गत जनरल फिजिसियन, स्त्री तथा प्रसूति रोग, आँखा तथा दाँत रोग सम्बन्धी विशेषज्ञ वडामै उपस्थित हुन्छन्। परीक्षणबाहेक प्रयोगशाला, अल्ट्रासाउन्ड, ईसीजी सेवा तथा औषधिहरू पनि नि:शुल्क उपलब्ध गराइन्छ।

नगर कार्यपालिकाको तथ्याङ्कका अनुसार गत साउन महिनामा मात्र कुल चार हजार २८१ जनाले वडा क्लिनिकको सेवा लिए। भाद्र महिनाको तेस्रो सातासम्म दुई हजार १९४ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। यस तथ्याङ्कमा प्रयोगशाला, ईसीजी वा अल्ट्रासाउन्ड सेवा उपभोग गर्नेहरूको तथ्याङ्क समावेश छैन।

वडा क्लिनिकको देन

वडा क्लिनिकमा उपचार सम्भव नभएका केसहरूलाई भने चिकित्सकले अन्य अस्पतालमा रेफर गरिदिन्छन्।

समुदायको साथ र सहयोगका कारण यो कार्यक्रम सकारात्मक ढङ्गले अघि बढिरहेको हमालको ठहर छ। यसका लागि भाटभटेनी सुपर मार्केटले पाँच वर्षसम्म जनरल फिजिसियन र स्त्री रोग विज्ञका निम्ति मासिक चार लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता गरेको छ। अन्य व्यवसायी र आम मानिसले पनि सहयोग गरिरहेको उनी बताउँछन्।

भन्छन्, “मौलिक हक र अधिकार कागजमा लेखिएको छ भन्ने सधैँ भइरह्यो। म त्यो अधिकार महसुस गराउन चाहन्छु र यसका लागि आम जनताकै साथ अत्यावश्यक छ।” अभियानले समुदायलाई स्थानीय सरकारसँग प्रत्यक्ष जोड्ने उनको विश्वास छ।

क्लिनिकमा नगरवासीहरूमध्ये केही हातमा हँसियाले काट्यो भने ह्यान्डिप्लास्ट खोज्दै समेत आइपुग्छन्। केही त्यस्ता पनि छन् जो आफूलाई गाह्रो भइरहेको महसुस त गर्छन् तर ठ्याक्कै के भइरहेको हो मेसो पाउँदैनन्।

हमालले मनोसामाजिक समस्याहरूको गुत्थी खुल्न थालेको ठानेका छन्। आम मान्छेलाई मानसिक रोग पनि अरू स्वास्थ्य समस्याजस्तै हो भन्ने बुझाउन र त्यसको उपचारको निम्ति तयार पार्न गाह्रो हुने उनको बुझाइ छ, “तर हाल मानसिक स्वास्थ्यबारे चेतनामूलक अभियानहरूबाटै सुरु गर्दै छौँ। नगरका कोही पनि मानसिक आघात बोकेर बाँच्न बाध्य नहोउन् भन्ने कोसिस गर्दै छौँ।”

मानसिक स्वास्थ्यसँगै अटिजम पहिचान, यस स्वास्थ्य जटिलताबारे परामर्श र उपचारका लागि कार्यक्रम तय गरी बजेट छुट्ट्याएको हमालको दाबी छ।

स्वास्थ्य सेवाका अतिरिक्त कृषक प्रोत्साहन कार्यक्रममा पनि जोड दिएको हमाल बताउँछन्। शिक्षा, फोहोर मैला व्यवस्थापन र वातावरणको क्षेत्रमा पनि काम भइरहेको उनको भनाइ छ। भ्रष्टाचार वा सरकारी काम ढिलासुस्ती भएको, एउटै फाइल सात दिनभन्दा बढी समय अड्किएको लगायत अनियमितता भएको पाइए गुनासो गर्न आम मानिसका लागि ह्वाट्सएपमार्फत् ‘मेसेजिङ’ सेवा खुला राखिएको छ।

पूर्व मेयरको नजरमा हमाल

उप-महानगरपालिकाले सार्वजनिक जग्गा तथा खोलानाला अतिक्रमण गरेर बनाइएका संरचनाहरू भत्काउने अभियान सुरु गरिसकेको छ। तर धनगढी उप-महानगरपालिकाले चालेका कदमहरू छायामा परेको मेयर हमालले महसुस गरेका छन्।

सञ्चारमाध्यमको आँखामा समेत नपरेको गुनासो गर्दै उनी भन्छन्, “परिहाले पनि छाउपडी र देउकीका कारण मात्र पर्छौँ। मैले चर्चा खोजेको होइन तर सम्भावना बोकेको सुदूरपश्चिम पनि देखियोस् भन्ने चाहना हो।”

२०७४ को स्थानीय तहमा हमाललाई पराजित गरेका पूर्व मेयर तथा नेपाली कांग्रेसका नेता नृपबहादुर वड भने अहिले नै उनको कामहरूबारे समीक्षा गर्ने समय नभएको बताउँछन्। हालसम्म उप महानगरपालिकाका नयाँ मेयरले आफूले गर्दागर्दै थाती रहेका कामहरूलाई निरन्तरता दिएको उनको बुझाइ छ।

“भदौसम्म त उहाँले मैले सुरु गरेर सम्पन्न नभएका कामहरूलाई निरन्तरता दिनु भयो। असोजबाट बल्ल उहाँको खाता खुल्दै छ। अब अगाडि के गर्नु हुन्छ त्यसको आधारमा समीक्षा गर्नु पर्छ”, वडले भने। हमाललाई आफूले आवश्यक साथ, सल्लाह र सुझाव दिने उनले बताए।

समाजसेवाले चिनिएका ‘गोपी दाइ’

गोपाल हमाललाई धनगढीवासीले गोपी दाइको रूपमा चिन्छन्। विद्यार्थी जीवनदेखि नै आफू समाज सेवामा सक्रिय रहेको उनी सुनाउँछन्।

“शरीरबाट रगत झिक्यो भने मान्छे मर्छ भन्ने विश्वास स्थापित भएको ठाउँमा ब्लड ब्याङ्क खुल्नु सामान्य कुरा थिएन,” उनी विगतमा फर्किँदा उनले अल्लारे छोरो जागिर नखोजेर यस्तै अभियानमा ‘बरालिएको’ ठानेर बुवा क्रोधित भएको पल पनि सम्झन्छन्।

तर हमालले दुई जना साथीहरूसँग पाँच/पाँच हजार रुपैयाँ सापटी लिएर त्यस बेला सामान राख्नेदेखि, दाइजो दिने वा मानिसहरू भारत जाँदा प्रायले बोक्ने टिनको बाकस बनाउन सुरु गरे। त्यसअघि धनगढीमा त्यस्ता बाकस भारतबाटै आयात हुन्थे।

“त्यो मेरो व्यवसायको सुरुवात थियो। पछि मैले काठ उद्योग, विद्युतीय सामग्री, यातायात, चामल, पीठो र तेल मिललगायत क्षेत्रमा पनि लगानी गरेँ।”

२०६४ सालमा कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदा उनले ‘सुन्दर सुदूरपश्चिम‘ अभियान नै चलाए। कतिपयका भनाइमा दुःख, अभाव, अन्धविश्वास र कुरीतिको अतिरिक्त सुदूरपश्चिम सुन्दर छ भन्ने कुराको प्रचार प्रसार गर्नमा उनी सफल ठहरिए।

त्यस्तै सुदूरपश्चिममा कथित ठूला वा उच्च पदमा रहेकाहरूलाई सयौँ किलोको माला लगाउने प्रवृत्तिको अन्त्य गर्न पनि उनकै जोड रह्यो।

“धेरैले असम्भव देखे पनि म एकोहोरो लागेँ र पुष्टि गरेँ, आखिर असम्भव के छ र?,” उनी आफ्नो तर्कलाई बल दिने उदाहरण पेस गर्छन्, “धनगढीमा विमानस्थल बनाउनु कसले सम्भव ठानेको थियो र? हाम्रै ठाउँका सांसद, मन्त्रीहरू समेत यहाँ नआई काठमाण्डूबाटै यो हुँदैन, बन्दैन भन्थे।”

हमालले आफ्नो हठ त्यागेनन्। धनगढी विमानस्थल निर्माणका निम्ति ‘एक पैसा अभियान’ चलाए। नीतिगत तहका मानिस चुप लागिरहन सक्ने अवस्था रहेन। अन्ततः एउटा १८ सिट भएको विमान आवतजावत गर्न थाल्यो। अहिले हरेक दिन आठ वटा ७० सिट भएका विमानका कारण धनगढीलाई देशको राजधानीसँग जोड्न सहज भएको उनले ठानेका छन्।

नगर र नागरिकको अवस्था

राजनीतिक दलहरूको असहयोगलाई उनी प्रमुख चुनौतीका रूपमा व्याख्या गर्छन्। सैद्धान्तिक मतभेदका कारण केही कर्मचारीहरूबाट असहयोग वा अस्वाभाविक प्रश्नदेखि कामहरूमा ढिलासुस्ती सहनु परेको उनी बताउँछन्।

स्वार्थ समूहका विरोध तथा प्रहारहरूलाई पनि चुनौतीभित्रै राखेका छन्। उनी ठान्छन्: नगर र नागरिकको अवस्था नबदलिएसम्म राजनीतिक व्यवस्था मात्र बदलिएर मात्र पनि हुँदैन रहेछ।

त्यसैले आफ्नो कार्यकालपछि पनि नागरिकलाई स्वतन्त्र रहनुको महत्त्वबारे बुझाउन सक्रिय रहने योजना छ उनको, “किनकि नागरिक स्वतन्त्र नरहेसम्म हरेक उद्देश्य, अभियान र योजनाहरूमा राजनीतिक स्वार्थ हाबी हुँदोरहेछ।”

यद्यपि, आफ्नो कार्य अवधिभर राजनीतिक आस्था राख्नेहरूसँग आफ्नो योजना जुध्ने र ‘जुध्दा झिल्का निस्कने’ कुरामा हमाल प्रस्ट छन्। तर उनी आफू केही पाउने आशाबिना राजनीतिमा होमिएकाले केही गुमाउने डर नबोकी खटिरहने बताउँछन्।

असन्तुष्टि र अनुत्तरित प्रश्न

चुनाव प्रचारका क्रममा उनी नगरभित्रै पर्ने एउटा बस्तीको चौतारीमा सर्वसाधारणहरूलाई आफ्नो योजना सुनाइरहेका बेला भेटिएका थिए। उसबेला मतदाता भेट्न पुगेका हमालसँग अहिले नगरवासी सेवाग्राहीको सम्पर्कको तार चुँडिएको छैन?

त्यस्तै गुनासो गर्नेहरूमध्येका एक वडा नं ९ का दानबहादुर कोलीको एउटा खुट्टा छैन, बैसाखी सहारा हो। मानसिक अस्वस्थता भएको आफ्नो छोराको उपचार र आफ्नो लागि ह्विलचियर वा विद्युतीय स्कुटर पाउने आशामा उनी हरेक दिन जसो उप महानगरपालिकाको कार्यालय धाइरहेको सुनाउँछन्।

“नयाँ मेयर”ले बिरामीहरूलाई धेरै राहत दिलाएको सुनेर दैनिक हमालको कार्यालय धाउँदा पनि भेट नभएको बताउने उनले आफ्नो खुट्टातर्फ देखाउँदै भने, “यस्तो अवस्था भएको मान्छेलाई एक छिन भेटिदिएको भए सधैँ आउनु पर्दैन थियो नि।”

पूर्व मेयरले दिएको ह्विलचियर बिग्रिएको र त्यसलाई मर्मत सम्भार मात्र गरिदिए पनि पुग्ने उनले सुनाए। उनले आफ्नो पीडा व्यक्त गरे, “घरमा कमाउने र खाना जुटाउने कोही भएन। बैसाखी टेकेर के गरूँ? कहाँसम्म पुगूँ? लाज लागे पनि मागेर खाइरहेको छु।”

नेपाल-भारतबीचको गौरीफन्टा सीमामा भेटिएकी पार्वती शर्मा पनि मेयरसँग आक्रोशित छन्। सडकमा ठेलागाडी राख्न नपाउने नियम लागू गरिएको र लगत्तै आफ्नो रोजीरोटीको बाटो गुमेको उनको गुनासो छ।

“म चाउमिन भुटिरहेकी थिएँ। नगरपालिकाका कर्मचारी आएर सबै भुईँभरि छरिदिए। त्यो एक प्लेट बेच्न पाएको भए एक छाक तरकारी आउँदैनथ्यो? भन्नु त?,” उनले प्रश्न गरिन्। ठेलाको व्यापारमा प्रतिबन्ध लागेपछि पार्वतीलगायत महिलाहरू भारततर्फबाट खाद्यान्न ल्याएर घरघरमा बेच्न हिँड्न थालेको पाइन्छ।

पार्वतिको प्रश्न छ, “हामी खानका लागि यो दुःख गर्छौँ। श्रीमान् रक्सी खाएर हामीलाई नै कुट्छन्। मेयरले त रक्सी बेच्न रोक्न पर्ने होइन? हाम्रो रोटी छिनेर के हुन्छ, मेयरलाई सोधिदिनुस्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply