बैतडी । आजदेखि दशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राखेर घटस्थपाना गरिएको छ । बैतडीमा शक्तिपीठ तथा मन्दिरहरुमा सामूहिक जमरा राख्ने प्रचलन रही आएको छ । घरघरबाट जौं लगेर मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए । गाउँका सबै मानिसहरुको घरबाट जौं ल्याएर मन्दिरमा जमरा राखिएको बोहराले बताए । उनले भने ‘दशैंको बेला हाम्रो यतातिर घरघरमा जमरा राख्ने चलन छैन् । मन्दिरमै सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ । दशैंको दिन सबैले मन्दिरबाटै जमरा लगेर लगाउने गरेका छन् ।’
जिल्लाका सबैजसो मन्दिर तथा शक्तिपीठहरुमा सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ । जिल्लाका प्रसिद्ध शक्तिपीठहरुमा आज सामूहिक रुपमा जमरा राखिएको जनाइएको । जिल्लाका पुर्चौंडी नगरपालिका ८ मल्लादेहीस्थित डिलाशैनी भगवती मन्दिरमा सामूहिक जमरा राखिएको मन्दिरका पूजारी हरिशचन्द्र भट्टले बताए । उनले भने ‘नवरात्रको पहिलो दिन मन्दिरमा जमरा राखिएको छ । आज राखिएको जमरालाई दशैंका दिनका देवीको प्रसादको रुपमा लगाउने चलन रही आएको छ ।’
जिल्लाका प्रसिद्ध त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी लगायतका शक्तिपीठहरुमा सामूहिक जमरा राखिएको छ । यस्तै सिगास, केदार,शिवनाथ, बासुलिङ्ग, दोगडाकेदार, महारुद्र लगायतका मन्दिरहरुमा सामूहिक रुपमा जमरा राखिएको छ । मन्दिरहरुमा जमरा राखेपछि नवरात्र पनि शुरु भएको छ । मन्दिरमै बसेर नवरात्र उपासना गर्ने चलन समेत रही आएको अनिरुद्र मन्दिरका पूजारी गणेशदत्त अवस्थीले बताए ।