अमेरिका समुद्री आँधी: फ्लोरिडामा तुफान र बाढीको सङ्कटबीच ‘लुटपाट’ नियन्त्रणका लागि कर्फ्यु

शक्तिशाली तुफानसहितको समुद्री इयान आँधी अमेरिकाको फ्लोरिडा राज्यमा बज्रिएपछि उक्त दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी आएको छ। त्यहाँ तीव्र वेगले हावा चलिरहेको छ भने उच्च वर्षाका कारण कैयौँ घरहरू डुबेका छन्।

उक्त राज्यका गभर्नरले यो आँधी फ्लोरिडामा बज्रिएका हालसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक भएको बताएका छन्। उनका अनुसार आँधीले पूरै राज्यभरि क्षति पुर्‍याएको छ।

अमेरिकी सीमामा गस्ती गर्ने सुरक्षाकर्मीले क्युबाबाट फ्लोरिडा कीज्‌तर्फ आप्रवासीलाई बोकेर आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना मानिसहरू हराइरहेको बताएका छन्। उक्त राज्यभरि १८ लाखभन्दा बढी मानिस विद्युत आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका छन्।

कर्फ्यु घोषणा

आँधीका कारण फोर्ट मायर्स सहरसहित ली काउन्टीमा कर्फ्यू घोषणा गरिएको छ। बुधवार बेलुका ६ बजेबाट सुरु भएको कर्फ्यु “अर्को सूचना नभएसम्म” कायम रहने काउन्टीले जनाएको छ। आँधीका कारण पेट्रोल स्टेशनहरूमा लुटपाट भएका भनी आएका विवरणमा फोर्ट मायर्स प्रहरीले कारबाही गर्न असमर्थ भएपछि कफ्यु लगाइएको हो।

काउन्टीका प्रबन्धक रोजर डेजार्ली उक्त आदेश “कानुन कार्यान्वयन गर्ने निकायद्वारा लागु गरिने” बुधवार साँझ एक पत्रकार सम्मेलनमा बताए।

उनले आफ्नो सहरमा लुटपाट र हिंसाका लागि शून्य सहनशीलताको नीति अपनाइने बताएका छन्। उनले फोर्ट मायर्स समुदाय “केही हदसम्म ध्वस्त भएको” बताएका थिए। तर “त्यस क्षेत्रमा भएको चरम क्षति”को आकलन गर्न केही समय लाग्ने बताइएको छ।

अझै खतरनाक अवस्था आउने चेतावनी

फ्लोरिडाकै टम्प सहरकी मेयरले आउँदो २४ घण्टा सबैभन्दा खतरनाक हुने भन्दै रातभरि मानिसहरूलाई सुरक्षित स्थलमा शरण लिन आग्रह गरेकी छन्।

मेयर जेन क्यास्टरले बुधवार साँझ भनिन्, “हामीले ठूलो वर्षा र तीव्र वेगको हावा बेलुका आठ बजेबाट सामना गर्नेछौँ र त्यो रातभर रहनेछ।”

“यसले अझै बाढी निम्त्याउनेछ,” उनले भनिन्। तर उनका भनाइमा दक्षिणी फ्लोरिडाको जस्तो त्यहाँ चाँडै बाढीको स्तर बढ्ने छैन। त्यस्तै उनले टम्पमा अहिले कर्फ्यु लगाउने कुनै योजना नरहेको पनि पुष्टि गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply