धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले बडा दशैंले नेपालीहरुकाे सामाजिक र संस्कृतिक सम्बन्ध बढाउने अपेक्षा गरेका छन् । विजया दशमीकाे अवसरमा प्रदेशबासीकाे नाममा आज शुभकामना सन्देश ब्यक्त गर्दै मुख्यमन्त्री भट्टले यस्ताे अपेक्षा सार्वजनिक गरेका हुन् ।
‘स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण प्रदेशबासी दिदीवहिनी तथा दाजुभाईहरुमा सुख शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तराेत्तर प्रगतिकाे कामनासहित आपसी एकता र सद्भाव कायम रहाेस् भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु’ मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
सास्कृति विविधतायुक्त हाम्राे प्रदेशमा बडादशैंले सबै प्रदेशवासीलाई एकताकाे सुत्रमा आवद्ध गरी विविधताबीच एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा भातृत्व कायम गर्न सहयाेग पुगिरहेकाे र एकआपसमा खुशियाली साँटासाँट गर्ने अवसर समेत प्रदान गरेकाे सन्देशमा ब्यक्त गरेका छन् ।
मुख्यमन्त्री भट्टले चाँडपर्व मनाउँदा खर्चिलाे, भड्किलाे नबनाई आर्थिक मितव्ययीता कायम राख्न समेत आग्रह गरेका छन् ।