कञ्चनपुरको लालझाडी गाउँपालिका–२ कसवाका ८६ वर्षीय रन्तु राना स्थानीय शिवशङ्कर आधारभूत विद्यालयबाट हँसिलो अनुहार लिएर घर फर्किंदै गर्दा बाटोमा भेटिए । नेपाली सेनाले दिएको कम्बल हातमा च्यापेर लौरीको सहारामा घर फर्किन लागेका वृद्ध रानाले बस्तीमै सेनाले स्वास्थ्य सेवादेखि असहाय बालबालिकालाई राहत तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेपछि सेनाको गुणगान मात्रै गाएनन्, जयजयकार पनि गरे ।
“भौगोलिकरूपमा विकट राना थारू बस्तीमा सेनाले यसरी पनि सहयोग गर्दो रहेछ”, उनले भने, “सेनाको त देशको सुरक्षासँगै सामाजिक क्षेत्रमा पु¥याएको योगदानले लालझाडीवासी सुखी छन् ।”
हालसालै दोदा नदीमा पक्की पुल बनेपछि जिल्लाको मूलधारसित स्थलमार्गबाट सहज पहुँच पाएको लालझाडी मुलुकमै कैलाली–कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारूको बाहुल्य क्षेत्र पनि हो । भौगोलिकरूपले विकास र स्वास्थ्य, शिक्षा लगायतका सुविधाबाट पछि रहेको सो क्षेत्रमा नेपाली सेनाले सामाजिक उत्तरदायित्व सम्झिँदै सोमबार बृहत् कार्यक्रम गर्यो ।
सेनाले यहाँ ज्येष्ठ नागरिकलाई न्यायो लुगा वितरण गर्नुका साथै दुई दर्जनभन्दा बढी असहाय बालबालिकालाई राहत सामग्री वितरण र यहाँका तीनवटा सामुदायिक विद्यालयलाई फर्निचर, शैक्षिक सामग्रीका साथै खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
यहाँ २०५७ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत सावित्रा रानाले आफूले पहिलोपटक सुरक्षा निकायबाट निःशुल्क स्वास्थ्य शिविरदेखि सहयोग भएको देखेको बताए ।
“बिरामी हुँदा यहाँ एम्बुलेन्स पाउने स्थिति दोदामा पुल आएपछि मुस्किलले बन्यो”, रानाले भने, “अहिले सेना नै आएर गाउँमा स्वास्थ्य शिविर लगाएपछि ज्येष्ठ नागरिकदेखि बालबालिकासम्मलाई स्वास्थ्य उपचारमा निकै राहत मिल्यो ।”
उनले पछिल्लो समय लालझाडीमा स्वास्थ्य संस्था थपिरहेको भए पनि अझै पनि स्थानीयवासीले उपचारका लागि धनगढी र महेन्द्रनगर लगायतका सहरमा जानुपर्ने बाध्यता यथावत् रहेको बताए ।
सेनाको निःशुल्क स्वास्थ्य सेवा लिन यहाँका बस्तीहरूबाट स्थानीयवासीहरू बैलगाडा चढेर आएका थिए । यहाँस्थित नेपाली सेनाको श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकको समन्वय र सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर व्यवस्थापनमा श्रीदल गुल्म, सहकार्यमा लालझाडी गाउँपालिका र प्राविधिक सहयोगमा महाकाली प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालय कञ्चनपुर रहेको सेनाले जनाएको छ ।
त्यसैगरी स्वास्थ्य शिविरमा आफ्को आँखा र नातिको नसासम्बन्धी उपचार गराएका स्थानीय ५३ वर्षीय बन्धु रानाले दुई वर्षदेखि आफू उपचारका लागि जान नसकेका बेला सेनाले आँगनमै आएर उपचार गरिदिएको बताए । “गोरु चराउन जाँदा आँखामा समस्या आएयता गाउँबाट उपचारका लागि आर्थिक अवस्थाले पनि जान सकेको थिइनँ”, रानाले भने, “आज सेनाको शिविर मेरा लागि बरदान नै भयो ।”
यता ७० वर्षीय बादल राना पहिलोचोटि चिसोयाममा कम्बल पाउँदा हर्षित भए । “चिसो बढेसँगै रातभरि छेउमा आगो बालेर सुत्थेँ”, रानाले भने, “अब त कम्बल ओढेर सुत्न पाउने भएँ ।” उनले बस्तीका ज्येष्ठ नागरिकले पहिलोचोटि कम्बललगायतका न्यानो लुगा पाएको बताए । “बालबालिकाहरूलाई स्कुल डे«स मिले पनि ज्येष्ठ नागरिकलाई भने कसैले कपडा दिएको थिएन”, रानाले भने, “उपचारसँगै न्यायो लुगा पाउँदा हामी ज्येष्ठ नागरिक खुसी छौँ ।”
राहत, लुगा, विद्यालयहरूलाई फर्निचर तथा शैक्षिक सामग्री, असहाय बालबालिकालाई राहतका साथै केही अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर र वैशाखीलगायतका सामग्री नेपाली सेना, सैनिक श्रीमती सङ्घका अध्यक्ष सुनिता शर्माले वितरण गरेकी थिइन् । यहाँको शिवशङ्कर आधारभूत विद्यालय, नवोदय आधारभूत विद्यालय, जनचेतना आधारभूत विद्यालयलाई उनले फर्निचर, शैक्षिक तथा खेलकुद सामग्रीका साथै कम्प्युटरलगायतका सामान प्रदान गरिन् ।
यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी सुमित श्रेष्ठले बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट सो क्षेत्रका छ सय ४२ महिला तथा पुरुष लाभान्वित भएको जानकारी दिए । उनले शिविरमा छाला रोग, स्त्रीरोग, बालरोगको विशेषज्ञ सेवाका साथै अन्य स्वास्थ्य सेवा र औषधि उपलब्ध गराइएको बताए ।
उक्त सामग्री हस्तान्तरण गर्दै सङ्घका सचिव शोभना पौडेलले सङ्घले शीतलहर, बाढीपीडित, असहायलाई सहयोग गर्दै आएको बताइन् । “सेवामूलक कार्य विस्तार गर्ने क्रममा यहाँ आइपुगेका हौँ”, उनले भनिन्, “सानो सहयोगले विद्यालय तथा विद्यार्थीको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्नेमा विश्वस्त छौँ ।”
त्यसैगरी नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ भई जनतासँग नेपाली सेना भन्ने भावनालाई प्रभावकारी बनाउन थप टेवा पुग्ने बताए। उनले आफ्नो आदर्शको मर्मअनुसार नै स्थापनाकालदेखि सामाजिक कार्य सञ्चालन गर्दै आएको बताए ।
सो कार्यक्रममा सहभागी लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले विकास, शिक्षा, स्वास्थ्यको क्षेत्रमा पछि पारेको पालिकामा सेनाले आयोजना गरेको स्वास्थ्य शिविर र विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरणले निकै सहयोग पुगेको बताए।