सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज तेस्राेपटक निर्वाचन हुँदै छ । यसअघि दुई पटकसम्म भएको निर्वाचनमा कसैले पनि बहुमत नपाउँदा सभामुख चयन हुन सकेकाे थिएन । यदि आज पनि सभामुख चयन नभए संवैधानिक संकट उत्पन्न हुनेछ ।
प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र त्यसपछि सभामुखले उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १८२ मा प्रदेशसभाको सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ ।
उपधारामा १ मा भनिएको छ, ‘प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेशसभाका सदस्यहरूले आफू मध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने छन् ।’ सुदूरपश्चिममा प्रदेशसभाकाे पहिलाे बैठक सुरु भएकाे आज १५ दिन पुगेकाे छ ।
आज बिहान ९ बजे प्रदेशसभाकाे बैठक बाेलाइएकाे छ । याे बैठकमा सभामुख चयनका लागि निर्वाचन हुने छ । तर आज पनि सभामुख चयन हुन नसके संवैधानिक संकट उत्पन हुने देखिएकाे छ । माग पूरा नभएकाे भन्दै नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुखका लागि बहुमत पुगिरहेकाे छैन । सरकार गठनमा नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्दा नेकपा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।
गत शनिबार दाेस्राेपटक भएकाे निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सभामुखका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मत र नेपाली कांग्रेसका मानबहादुर रावलले पनि २२ मत खसेकाे थियाे । यसअघि २८ पुसमा भएको सभामुखको चुनावमा पनि भण्डारी र रावल दुवैले बहुमत पाएनन् । त्यो दिन भण्डारीले २६ र रावलले २३ मत पाएका थिए ।
२८ गतेको सभामुखको चुनावमा एमालेका चक्र मल्ल र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी अनुपस्थित रहेका थिए भने सत्तारुढ गठबन्धन एक मत बदर भएको थियो । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सात सांसद रहेको सत्ता साझेदार नागरिक उन्मुक्ति तटस्थ बसेको छ ।
नागरिक उन्मुक्तिसहित सत्तारुढ गठबन्धनसँग २९ सांसद छन् । नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सांसद छन् । यस्तै, प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका चार र एक जना स्वतन्त्र सांसद छन् ।
