सिरहाको धनगढीमाई नगरपालिकाले बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच सुरु गरेको छ ।
नगरपालिकाको स्वास्थ्य टोलीले छदेखि पाँच वर्ष मुनीका बालबालिकामा पोषण अवस्थाबारे अभिलेख राख्ने उद्देश्यले कुपोषण जाँच सुरु गरेको हो ।
पाँच हजार ५९ बालबालिकाको पाखुराको नाप लिँदै कुपोषण भए÷नभएको जाँच सुरु गरिएको धनगढीमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विशेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुपोषण जाँचमा पाखुराको नाप लिन प्रयोग गरिएको मुवाक टेपमा हुने तीन वटा रङको सहायताबाट कुपोषण भए÷नभएको पत्ता लाग्नेछ ।
“पाखुरा नाप्दा टेपमा भएको हरियो रङ देखिएमा बच्चालाई कुपोषण नभएको, पहेँलो रङ देखिएमा मध्यम अवस्थाको र रातो रङ देखिएमा कडा अवस्थाको कुपोषण हो”, उहाँले भन्नुभयो ।
आमासमूहको सहायतामा घरघरमा गएर कुपोषण जाँच गरिने स्वास्थ्यकर्मी दिवस कार्कीले बताउनुभयो ।
हालसम्म पाँच सय ५० बालबालिकाको जाँच हुँदा १४ जनामा कडा अवस्थाको र २४ जनामा मध्यम अवस्थाको कुपोषण फेला परेका छन् । मध्यम अवस्थाको कुपोषण भएका बालबालिकालाई बेल्जियम सरकारले उपलब्ध गराएको सुपर सिरयलबाट उपचार गरिनेछ । साथै कडा अवस्थाको कुपोषण देखा परेका बालबालिकालाई स्थानीय नैनपुर अस्पताल र विष्णुपुर अस्पतालमा उपचार गरिने स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिनुभयो ।
