धनबहादुर बिक
पुनर्वास भागेश्वर चिनी मिलको फोहोर व्यवस्थापन गर्न माग गर्दै पुनर्वासका स्थानीयले ज्ञापनपत्र बुझाएका छ्न । बुधबार भागेश्वर चिनी मिलका फोहोरका कारण प्रत्यक्ष मारमा परेका पुनर्वासका स्थानीय भेला भई नगरउपप्रमुख भुलिया रानालाई ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रमा पुनर्वासमा भागेश्वर चिनी मिल खुल्नु किसान र नगरवासीहरुका लागि खुशीको कुरा भएपनी हरेक उद्योगी व्यवसायीहरुले पुनर्वासी जनताहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै यस क्षेत्रको वातावरणलाई जोगाउन ध्यान दिनुपर्ने उल्लेख गरिएको छ
चिनी मिलबाट उत्सर्जित फोहोरको उचित व्यवस्थापन गराउनका निम्ति नगरपालिकाले पहलकदमी गर्न अनुरोध गरिएको छ । फ़ोहोर व्यवस्थापन नभएको खण्डमा चरणबद्ध आन्दोलन र संघर्षमा उत्रिन आफुहरु बाध्य हुने समेत जानकारी गराईएको छ ।
ज्ञापनपत्र बुझ्दै नगरउपप्रमुख भुलिया रानाले यस समस्याको समाधानका लागि यथासिघ्र नगरपालिकाले पहल गर्ने बताउनुभयो ।
भागेश्वर चिनी मिलबाट निस्कने फोहोरलाई उचित व्यवस्थापन नगरी खुला छोडीदिएको अवस्था छ ।
तरल फोहर सिधै खोलामा छाडीदिदा जल, जमीन अत्यन्तै प्रदुषित भएको छ । यसले सिमरी खोला र दोदा नदिलाई दुर्गन्धित बनाई लाखौं जनावरलाई असर पुगेको छ । साथै धुवाँ र धुलोलाई फिल्टर नगरी त्यत्तिकै छाडिदिदा चिनी मिल वरपरका बस्ती कालो खरानीले ढाकेको छ । जसका कारण स्थानीयमा स्वासप्रस्वास सम्बन्धि रोग देखा परेको छ । भर्खरै जन्मेका बालबालिका र वृद्धवृद्धामा यसले गम्भीर असर पारेको छ ।
यसरी जल, जमीन र हावा प्रदुशीत भई मानव तथा घरपालुवा जनावरको स्वास्थ्यमा गम्भीर असर पुगीरहेको छ ।
पीडित जनताले थुप्रैपटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि नगरपालिकाले यस कुरामा कुनै ठोस पहल नगरेको युवा अभियन्ता बिरेन्द्र तामाङले बताउनुभयो ।
भागेश्वर चिनी मिलको फोहोरका कारण जल, जमीन र हावा प्रदुशीत भई मानव तथा घरपालुवा जनावरको स्वास्थ्यमा गम्भीर असर पारेको र यसको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै पुनर्वासका स्थानीय लामो समयदेखि आन्दोलित छ्न ।
