महिला समूहको नेतृत्वले प्रदेशसभाको यात्रा

कञ्चनपुर, २७ फागुन : महिला सशक्तीकरणको आवाज बुलन्द गर्दै आएकी कृष्णपुर नगरपालिका–६ सिंहपुरकी ३२ वर्षीया गीता चौधरी सुदूरपश्चिम प्रदेशसभा सदस्य हुनुहुन्छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यमा उहाँ सबैभन्दा कान्छो सदस्यका रूपमा रहनुभएको छ । निकै आरोह–अवरोह पार गर्दै चौधरी प्रदेशसभामा पुग्नुभएको हो ।

गाउँको महिला समूहमा आबद्ध भएर छलफल र बहस गर्दागर्दै उहाँ समाजको नेतृत्व गर्ने तहमा पुग्नुभएको छ । महिलाहरूको समूहमा रकम बचत गर्ने कार्यसँगै छलफलमा उहाँ सक्रियरूपमा भाग लिनुहुन्थ्यो । त्यही समूहको छलफलमा बोल्ने कार्यले नेता बनाएको उहाँ सुनाउनुहुन्छ ।

“समूहमा महिला सशक्तीकरणका लागि छलफल हुँदा निकै गहनरूपमा सुन्थेँ”, उहाँले भन्नुभयो, “आफ्ना विचार राख्थेँ, अधिकारका लागि अग्रपङ्क्तिमा रहेर कार्य गर्न थालेँ, त्यसपछि नेतृत्व विकास हुँदै गयो ।”

प्रदेशसभामा निर्वाचित भएपछि पनि समूहको बैठकमा जान भने उहाँले छाड्नुभएको छैन । समय मिले समूहको बैठकमा भाग लिन नछुटाउने गरेको उहाँ बताउनुहुन्छ । प्रदेशसभा सदस्य भइसक्दासमेत उहाँ अहिले पनि गाउँको महिला समूहमा आबद्ध हुनुहुन्छ । पहिला समूहमा रु २० महिलाले बचत गर्थे, अहिले रु एक सय बचत गर्छन् ।

“पहिला सडक मर्मत, महिला सशक्तीकरण, तालिम र रकम बचत गर्नेबारे समूहमा छलफल हुन्थ्यो”, उहाँले भन्नुभयो, “हाल व्यावसायिक खेतीलाई अगाडि बढाउने, बजार व्यवस्थापन, घरबास सञ्चालनबारे बहस हुने गरेको छ, आफैँ प्रदेश सदस्य भएपछि समूहमा आबद्ध महिलाले निकै ठूलो आशा राखेर बजेट व्यवस्थापनको कुरा उठाउने गरेका छन् ।”

समूहमा आबद्ध भएर कृष्णपुर गाउँ विकास समितिदेखि अहिलेको कृष्णपुर नगरपालिका हुँदासम्म महिला अधिकारका लागि स्थानीय तहमा पुगेर कुरा उठाउँदा उठाउँदै नेता भएको उहाँ सुनाउनुहुन्छ ।

“पुरुषको दाँजोमा महिलाको साक्षरता दर निकै कम थियो, समूहकै पहलमा गाउँमा अनौपचारिक शिक्षाका कक्षा सञ्चालन गर्ने प्रबन्ध मिलाइएपछि लेखपढ गर्न नसक्ने महिलालाई साक्षर गरायौँ”, उहाँले भन्नुभयो, “अहिले गाउँका महिला साधारण लेखपढन गर्न सक्षम छन्, अधिकारका लागि आफैँ नगरपालिकासम्म पुग्छन् ।”

समूहमा आबद्ध महिला अहिले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । घरबास सञ्चालन गर्ने तयारीमा जुटेका छन् । सामाजिक कार्यमा अग्रर भएर महिलाले अहिले पनि भाग लिने गरेका छन् । समूहमा आबद्ध भएसँगै उहाँले आफैँले पढेको महाकाली माध्यमिक विद्यालयमा रु एक हजार पाँच सय तलब पाउने गरी छ वर्ष अध्यापनको कार्यसमेत गर्नुभएको थियो ।

सिंहपुर सामुदायिक वनमा दुई वर्ष कर्मचारी, गाउँको क्लबमा सचिव र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धानजोन कार्यक्रममा उपाध्यक्ष भएर काम गरेको अनुभव चौधरीसँग छ । गाउँकोे एसलसी परीक्षा उत्तीर्ण गर्ने छात्रामा उहाँ पहिलो हुन् । अहिले उहाँले स्नातकोत्तरसम्मको पढाइ गर्नुभएको छ । “बोल्ने कार्य समूहमै सिकेको हो, बाजे प्रधानपञ्च हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “बुवाले दुईपटक वडाध्यक्ष भएर काम गरेका थिए, घरमै राजनीतिक माहोल थियो, त्यसकै प्रभावले पनि समाजको नेतृत्व गर्न प्रेरित ग¥यो ।”

महिला समूह र सामाजिक क्षेत्रमा क्रियाशील रहेकै बेला तत्कालीन नेकपा (माओवादी)मा आबद्ध भएर उहाँले वाइसीएलको जिल्ला उपाध्यक्ष भएर काम गर्ने अवसर पनि प्राप्त गर्नुभएको हो । वाइसीएल छाडेर विसं २०७४ मा नेपाली कांग्रेसमा आबद्ध हुनुभयो ।

प्रदेशसभामा समानुपातिकतर्फको उम्मेदवार भए पनि चुनावमा सफलता हासिल गर्न सक्नुभएन । पार्टीले विसं २०७९ को प्रदेशसभाको चुनावमा पुनः उहाँलाई समानुपातिकतर्फ उम्मेदवार बनायो । उहाँ यसपटक भने विजयी हुनुभयो । उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने मौका पाउनुभएको छ । महिलालाई राजनीतिमा लागेमा विगतको जस्तो हेर्ने दृष्टिकोण अहिले नभएको उहाँ बताउनुहुन्छ ।

“समाज परिवर्तन हुँदै जाँदा राजनीतिमा लागेका महिलालाई हर्ने दृष्टिकोण सकारात्मक रहेको छ”, उहाँले भन्नुभयो, “राजनीतिमा पुरुषको दाँजोमा महिला प्रतिनिधित्व कम भए पनि मौका भने पहिलेको तुलनामा बढी पाइन थालेको छ, आधा आकाश ढाक्ने महिलाले अधिकारसम्पन्न हुन नेतृत्वमा आउनैपर्ने हुन्छ ।”

चुनावी घोषणापत्रमा लेखिएका कुरा अक्षरसः पालना गर्न प्रतिबद्ध रहेको उहाँ सुनाउनुहुन्छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र कृषिलाई अगाडि बढाउन प्रयासरत रहने उहाँले राससलाई बताउनुभयो ।

विशेष योजनाका रूपमा उहाँले शिक्षालाई अगाडि सार्नुभएको छ । “शिक्षाको गुणस्तरमा सुधार नहँुदासम्म समाजलाई परिवर्तन गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “निजी र सरकारी विद्यालयको भिन्नता हटाउनका लागि काम अगाडि बढाउँछु, सामुदायिक विद्यालयलाई अङ्ग्रजी माध्यममा लैजानका लागि योजनाबद्धरूपमा अगाडि बढ्छु, त्यसका लागि प्रदेशसभामा निरन्तर आवाज उठाउँछु, योजना ल्याउन बाध्य पार्छु ।”

सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा कान्छो सदस्यका रूपमा चौधरी रहनुभएको छ । नेपाली कांग्रसका क्षेत्रीय सभापति लालबहादुर सिंह गीतालाई जे भन्यो त्यो गर्ने व्यक्तिका रूपमा चिनेको बताउनुहुन्छ । “समाजका लागि सशक्तरूपमा आवाज बुलन्द गर्ने नेतका रूपमा रहेकै कारण प्रदेशसभामा गीतलाई पार्टीले नेतृत्व गर्ने अवसर प्रदान गरेको छ”, उहाँले भन्नुभयो, “आँटिलो नेता भएकाले जनतासँग गरेका बाचा पूरा गर्न सक्छिन् भन्ने आशा छ ।” समाज रुपान्तरणको अभियानमा निरन्तर लागिरहने नेताका रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply