धनगढी :- लोकप्रिय मनोसामाजिक परामर्शकर्ता धनराज विक (अविरल) सम्मानित भएकाछन् । कैलालीको लम्कीचुहामा रहेको श्री राष्ट्रिय नव जागृत माध्यामिक विद्यालय हिरापुर चुहाको ५४ औं वार्षिकोत्सवमा विक मंगलबार सम्मानित भएकाहुन् । कार्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सम्मानपत्रले सम्मान गरेका थिए ।
कैलालीमा विगत लामो समय देखि मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या समाधानमा मनोपरामर्श सेवा दिदै आएका विकको सामाजिक योगदानको प्रसंसा गर्दै विद्यालयले सम्मान गरेको हो । बहुप्रतिभाको पहिचान बनाउन सफल बिकले विद्यालयको नाम उच्च राख्ने गरि मानसिक स्वास्थ्य,पत्रकारिता, मानवअधिकार र कला साहित्यको क्षेत्रमा समेत निरन्तर योगदान दिदै आएकोले पूर्व विद्यार्थी विकलाई सम्मान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद भण्डारीले बताए ।
मनोसामाजिक परामर्शकर्ता विक समस्यामा परेका जोकोहीले बोलोउदा पनि उनी सजिलै पुग्छन् । उनीहरुको मनको कुरा सुनेर सहयोग गर्छन् । समाजमा मानसिक र मनोसामाजिक समस्यामा रहेका व्यक्तिहरुलाइ बिना पारिश्रमिक निशुल्क परामर्श सेवा दिन्छन् । मानसिक स्वास्थ्यको महत्व र मनोसामाजिक समस्याले व्यक्तिको जीवनमा पार्ने असरका बारेमा जनचेतना जगाउदै आएका विकको मानविय र सामाजिक कार्यको समेत समाजमा चर्चा हुने गरेको छ । मनोपरामर्श सेवा पाएकाहरुको जिवनमा सकारात्मक प्रभाव परेको परामर्श सेवा लिएका बल प्रसाद न्यौपानेले बताए । विक मनोसामाजिक परामर्शकर्ता, खोज पत्रकार, साहित्यकार र मानवअधिकारकर्मीको रुपमा परिचितछन् ।
सीएमसी नेपालमा कार्यरत विकले सम्मानित हुने गरि राम्रो काम गर्दै आएको शिक्षक कृष्ण विकले बताए । उहाँले मनोपरामर्श सेवा दिएका व्यक्तिहरुको अनुभव मैले सुनेको छु । (सुसाईट नोट) आत्महत्या पत्र लेखेर पटकपटक आत्महत्याको प्रयास गरि उच्च जोखिममा रहेका व्यक्तिहरुले नयाँ जीवन पाएको बताएकाछन् । उनले भने –“मनोपरामर्शकर्ता विकको सीप र क्षमतालाई स्थानीय सरकारले संस्थागत रुपमा प्रवद्धन गर्नसके समाजले धेरै फाईदा लिन सक्छ । मानसिक र मनोसामाजिक समस्यालाई कम गर्न सकिन्छ ।”
आफूले अध्यन गरेको विद्यालयले पुर्व सफल विद्यार्थीको रुपमा सम्मान गरेकोले खुसी संगै थप जिम्मेवारी थपिएको विकले बताए । कैलालीमा मानसिक स्वास्थ्य र मनोसामाजिक समस्याका कारण धेरै व्यक्तिहरु समस्यामा रहेकाछन् । उनीहरुलाई मनोसामाजिक परामर्शसेवा अति आवश्यक रहेकोले स्थानीय सरकारले मानसिक स्वास्थ्य र मनोपरामर्श सेवा कार्यक्रम प्राथमिकताका साथ संचालन गर्नुपर्नेमा उनले जोड दिए ।
