कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लापट्टिकी सिठ्ठो रानाको केही महिनायता दैनिकी फेरिएको छ । अचेल दोदा नदीको बगरमा भेटिनुहुन्छ, उहाँ । बगरको बीचमा सानो छाप्रो छ । त्यहीँ छाप्रो उहाँको बासस्थान बनेको छ ।
नदीको पाँच कट्ठा बगर क्षेत्रमा उहाँले तरकारी खेती गर्नुभएको छ । बगरमा लगाएको तरकारी कुर्न बगर छेउमा छाप्रो बनाएर बास बस्नु परेको सिठ्ठोले बताउनुभयो । “वर्षांैदेखि बगरमा खेती गर्दै आएका छौँ, यहीँबाट घरखर्च चलाउँछौँ”, उहाँले भन्नुभयो, “माघदेखि जेठसम्म बगरमा खेती गर्छौं, अरू समयमा मजदुरी ।”
श्रीमान् मीनबहादुर दिनभर तरभुजालगायत उत्पादन ट्र्याक्टरमा लगेर गाउँगाउँमा बिक्री गर्छन् । अट्ठाइस सदस्यीय रानाको संयुक्त परिवारको खर्च बगर खेतीबाटै चलेको छ । “जङ्गली जनावरबाट खेती जोगाउन हम्मेहम्मे हुन्छ, चोरी पनि हुने गरेको छ”, सिठ्ठोले भन्नुभयो, “जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन छाप्रोमै बास बस्ने गरेका छौँ ।” उहाँका अनुसार दिनमा आफू र राति श्रीमान् खेती हेर्नका लागि छाप्रोमा बस्ने गरेका छन् । बगरमा उत्पादित तरकारीबाट वार्षिक रू ६० हजारभन्दा आम्दानी हुने गरेको सिठ्ठोले जानकारी दिनुभयो ।
लालझाडी गाउँपालिका–४ डाँडापट्टिकी डुठ्ठो रानाको दैनिकी पनि यस्तै छ । उहाँका श्रीमान् शारदा रोजगारीको सिलसिलामा भारतको सिम्लामा छन् । छोरीसहित डुठ्ठो बगर खेती गर्नुहुन्छ । उहाँले बगरमा काँक्रा, लौका, तरभुजा, फर्सीलगायत खेती गर्नुभएको छ ।
जङ्गली जनावर र चोरीबाट खेती जोगाउन रातदिन बगरमै बास बस्नु परेको उहाँले बताउनुभयो । “पाँच कट्ठा क्षेत्रमा खेती गरेकी छुँ, तयार भएको उत्पादन बिक्री गर्न थालेको साताभन्दा बढी भयो”, उहाँले भन्नुभयो, “रातमा जनावर र चोरीबाट खेती जोगाउन जाग्राम बस्नुपर्छ, जनावर धपाउन ढ्याङ्ग्रो बजाउँछौँ ।”
तरकारी किन्न कतिपय ग्राहक बगरमै आउने उहाँको भनाइ थियो । यस वर्ष तरभुजा, काँक्रा, लौका, फर्सीलगायत तरकारी बिक्री गरेर रू १२ हजार आम्दानी गरिसकेको डुठ्ठोले जानकारी दिनुभयो ।
बगरमा व्यावसायिक तरकारी खेती गरिरहेका तटीय क्षेत्रका किसान खेती जोगाउन बगरमा बास बस्ने गरेका छन् । विद्युत्को सुविधा नहुँदा सोलार बालेर खेती कुर्ने गरिएको लालझाडीको डाँगाजाईंका किसान दानसिंह गिरीले बताउनुभयो । “तरभुजा, काँक्रा चोरी हुने गरेका छन्, स्यालबाट पनि खेती जोगाउन मुस्किल छ”, उहाँले भन्नुभयो, “खेती जोगाउन राति जाग्राम बस्छौँ, दिनमा सुत्छौँ ।”
