बेलडाँडी गाउँपालिकाले डेंगु लगायतका किट जन्य रोगबाट बच्नका लागि जनचेतना मूलक र्याली निकालेको छ ।
मंगलवार विहान बेलडाँडी गाउँपालिका, प्राथमिक स्वास्थ केन्द्र बेलडाँडी र ईलाका प्रहरी कार्यालय बेलडाँडीको संयुक्त सहभागितामा बेलडाँडी बजार र चवन्नी बजारमा जनचेतना मूलक सन्देश प्रवाह गर्दै डेंगु रोकथामको अभ्यास गरिएको थियो ।
पालिका प्रमुख हरिशचन्द्र रानाका अनुसार डेंगुको संक्रमण बाट बच्नका लागि पूर्व तयारी गर्दै पानी जमेका ठाउँहरूमा डेंगुका लार्भाहरू जम्न नदिन खाली पानी भरिएका टायर फोहर हटाउने कार्य गर्नुका साथै डेंगु सम्वन्धी सचेतना गराएको बताए ।
पालिकाले माइकिङ गर्दै सरसफाईमा ध्यान दिन र राती सुत्दा झुलको प्रयोग गर्न आग्रह गर्दै थप जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी रहेको जनाए ।
स्वास्थ्यकर्मीहरुले डेंगुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा आम नागरिकलाई सचेत गराउने कार्यमा जोड दिनु भयो । टायर, जार, नाली लगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेंगुको सङ्क्रमणबाट बच्न सकिने रानाको भनाइ थियो ।
