महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल र नेपालका लागि बंगलादेशका राजदुत सलाउद्दिन नोमन चौधरीबिच भेटवार्ता भएको छ ।
बिहीबार दोधारा चाँदनी नगरपालिकामा भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देश बीचको सम्बन्ध र आपसी सहयोगका विषयमा छलफल भएको छ ।
बंगलादेशले अहिले नेपालसंग व्यापार, पर्यटन, शिक्षा र विकासमा सहकार्य गर्दै आएको छ । यसलाई अझ सुदृढ बनाउदै स्थानीय तहहरुबीच पनि सहकार्य र अनुभव आदान प्रदान लगायतका गतिविधि गर्न सकिने निवर्तमान मुख्यमन्त्री रावलले बताए ।
बंगलादेशले अहिले बिराटनगरसंग अनुभवसंगै प्रविधिको क्षेत्रमा सहयोग गरिरहेको छ । बंगलादेशको एक स्थानीय तहसंग बिराटनगरले सहकार्य गरिरहेको राजदुत चौधरीले बताए ।
दोधारा चाँदनीसंग पनि सहकार्य गर्न सकिने उनको भनाइ थियो । राजदुत चौधरीलाई दोधारा चाँदनीका नगर प्रमुख किशोर कुमार लिम्बुले स्वागत गरेका थिए ।
यसैगरि निवर्तमान मुख्यमन्त्री रावलले आफनो पुस्तक डोटी राज्यको मद्य्यकालीन इतिहास राजदुत चौधरीलाई मायाको चिनो स्वरुप हस्तान्तरण गरे । चौधरीले पनि रावल र लिम्बुलाई पुस्तक उपहार दिएका थिए ।
