धनगढी ७ भदौ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गौरा पर्वले धार्मिक आस्था, आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, सौहाद्रता र ऐक्यबद्धतालाई थप सुदृढ गर्ने बताउनुभएको छ ।
आज गौरा पर्वको शुभकामना सन्देश जारी गरेर उहाँले नेपालभर र विश्वभरि छरिएर रहेका प्रदेशवासीको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभएको छ । गौरा पर्व प्रदेशभर भाद्र कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ ।गौरा पर्वमा महिलाले निराहार रही घरघरमा तामा वा पित्तलको भाँडोमा बिरुडा भिजाउने, धार्मिक अनुष्ठान तथा पूजाआजा गर्ने गर्दछन् । गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाले शिव पार्वतीको पूजाआजा गरी अष्टमीको दिनलाई विशेष श्रद्धाभक्तिका साथ मनाउने गर्दछन् ।
जारी सन्देशमा भनिएको छ, “गौरा पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने र इष्ट कुलदेवता प्रशन्न हुने जनविश्वास रहेको छ ।” गौरा पर्वका अवसरमा प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ ।
