उद्धार कार्यमा प्रशंसा बटुलेको प्रहरी क्षति विवरण सङ्कलन

गत शुक्रबार मध्यरात जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमलाई तहसनहस बनायो । सडक सञ्जालको सहज पहुँच नभएका ग्रामीण बस्तीदेखि सबैतिर भूकम्पले क्षति पुर्‍यायो । घाइतेहरूको उद्धार, शव सङ्कलन गरी अस्पतालमा पुर्‍याउनेदेखि सबैजसो काममा निकै सक्रियतापूर्वक काम गरेको थियो सुरक्षा निकायले ।स्वभावले नै विपत् र जोखिममा सक्रिय भएर कर्तव्य निर्वाह गर्नुपर्ने दायित्व प्रहरीको हुन्छ नै । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीमप्रसाद ढकाल भन्छन्, ‘त्यो सबै प्रहरीहरूले बुझ्नु भएकै हुन्छ । जुन दिन भूकम्प गयो, तत्काल प्रदेशका सबै जिल्लाका प्रहरी अधिकृत जवानहरू ग्राउन्डमा खटिनुभयो ।’विशेष गरी जाजरकोट र रुकुम पश्चिममा प्रहरीको सक्रियतालाई प्रशंसा गरिएको छ । पुरिएका घाइते तथा शवको उद्धार र व्यवस्थापनमा सुरक्षाकर्मी निकै तदारुकताका साथ खटिएका थिए । ढकालका अनुसार भूकम्प गएको रातभरमै घाइते र शव निकाल्ने काम भएको बताउँछन् । शनिबार मध्याह्नसम्म लगभग उद्धारको कार्य सकिएको थियो ।भूकम्प प्रभावित क्षेत्रमा प्रहरीको सक्रियतालाई प्रधानमन्त्रीदेखि मन्त्रीहरूले समेत प्रशंसा गरेका छन् ।


‘केन्द्रबाट आएको मन्त्री लगायतको सबैको टिमले कर्णाली प्रहरीको प्रशंसा गरेको छ,’ ढकाल भन्छन्, ‘०७२ सालको भूकम्पमा १५ दिनसम्म पनि सबै शव उठाउन सकिएको अवस्था थिएन । हिजो संसदीय समितिबाट आउनुभएको माननीयज्यूहरूले पनि भन्नुभयो । हामीले घटना घटेको रातिदेखि भोलिपल्टसम्म सबै काम सकेका थियौँ । त्यो एउटा सफलता हो, प्रहरी साथीहरू पनि घाइते हुनुहुन्थ्यो तर, उहाँहरू आफ्नो चोट बिर्सिएर पनि सक्रियताका साथ लाग्नुभयो ।’घाइतेहरूको उपचारका पक्षमा पनि प्रहरीको सक्रियता निकै प्रशंसायोग्य छ । घाइतेलाई अस्पतालसम्म लैजाने, गम्भीर घाइतेलाई काठमाडौँसम्म पुर्‍याउने कार्य पनि सुरक्षाकर्मीले शनिबार दिनभरिमा सकेको थियो ।ढकालका अनुसार अहिलेसम्म क्षतिको विवरण लिने काम करिब ८० प्रतिशत सकिएको छ । ‘कतिको घरमा कस्तो क्षति भयो, कति घाइते र कति मृतक भन्ने सबै विवरण सङ्कलन गर्ने काम लगभग सकिने बेला भयो,’ उनले भने, ‘कानुनी प्रक्रिया पूरा गर्ने कार्यमा पनि प्रहरीले निकै द्रुत गतिमा काम गर्‍यो । शवहरूको कानुनी प्रक्रिया जस्तै घटनाको प्रकृति, मुचुल्का उठाउने, पोस्टमार्टम गर्ने लगायतका कार्य पनि तदारुकताका साथ गर्न सक्यो । दुई दिनमा सबै शवहरूको व्यवस्थापन सकिएको थियो । हामीले मूल्याङ्कन गर्दा समग्रमा दत्तचित्त भएर, सक्रियताका साथ लागिपरेको छ ।’

अहिले एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको छ । ढकालले विभिन्न पाँच वटा टिम बनाएर नै प्रहरीले काम गरिरहेको बताए । ‘राहत कलेक्सन गर्ने एउटा टिम छ, वितरण गर्ने अर्को टिम छ, ढुवानी गर्ने अर्को टिम छ भने आवश्यक भएको कुरा सूचना गर्ने टिम अर्को छ । जुन ठाउँमा राहत लग्यो, त्यो ठाउँमा वितरण गर्ने पनि अर्को टिम छ,’ ढकाल भन्छन्, ‘सबै ठाउँमा प्रहरीले आफ्नो भूमिका गम्भीरताका साथ निभाएको छ ।’

ढकाल भूकम्प प्रभावित क्षेत्रमा एउटा सिस्टममा रहेर काम भइरहेको बताउँछन् । सुरक्षाकर्मीले गरेको कामलाई कमान्डरका हिसाबले आफूले पनि गर्व गरेको उनको भनाइ छ ।

भूकम्प प्रभावित क्षेत्रमा ८ सयभन्दा बढी प्रहरी, सशस्त्रका करिब तीन सय, आर्मी दुई सय हाराहारीमा खटिएको छ । भूकम्पमा परेर करिब पाँच जना प्रहरी पनि घाइते भएका थिए । उनीहरू सामान्य उपचारसँगै नागरिकको उद्धार र व्यवस्थापनमा खटिएका थिए ।

केमा केन्द्रित छ प्रहरी ?

अहिले प्रहरी राहत वितरण र भग्नावशेष भएका भौतिक संरचना पन्छाउने काममा सक्रिय छ । त्यो विषयमा एउटा कार्ययोजना नै बनाएर काम भइरहेको ढकाल बताउँछन् । भत्किएर जहाँ–जहाँ बाटोघाटो अवरुद्ध भएको छ, त्यसलाई हटाउनेदेखि नागरिकहरूका च्यापिएका सामग्रीहरू निकाल्ने कार्यमा पनि दत्तचित्त भएर प्रहरी खटिएको उनको भनाइ छ ।

हालसम्म ८० प्रतिशत भूकम्प पीडितलाई राहत वितरण कार्य सम्पन्न भएको पनि प्रहरीको दाबी छ । भूकम्पमा घर पूर्ण क्षति भई आवास गुमाएका पीडितहरूलाई सुरक्षाकर्मीबाट ७० स्थानमा अस्थायी आवास बनाइ आश्रय दिइएको छ भने लगत सङ्कलनको करिब ९० प्रतिशत काम सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply