पुस १२
बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा डडेल्धुराले डाेटीमाथि शानदार जित निकालेकाे छ । प्रतियोगितामा दाेस्राे जित दर्ता गर्ने क्रममा डडेल्धुराले डाेटीलाई १० विकेटले हरायाे । जितका लागि पाएकाे ७० रनकाे सामान्य लक्ष्य डडेल्धुराले १२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्याे । जसमा विशाल ऐेर ४७ र निशान्त बुढाऐर १७ रनमा अविजित रहे । यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर हारेर ब्याटिङकाे निम्ता पाएकाे डाेटी १९.४ ओभरमा ६९ रनमा समेटियो । उसका कप्तान भाेजराज भट्ट र पारस महतले १५/१५ रन हिर्काए । डडेल्धुराका लागि कप्तान सुरज देउवाले ४ , निरज ऐरले ३ विकेट हात पारे । सुरज खेलका म्यान अफ द म्याच चुनिएका स्काेरर दीपेन्द्रबहादुर बाेहराले जानकारी दिनुभयो । दाेस्राे जित निकालेकाे डडेल्धुराकाे क्वालिफायर हुने सम्भावना जीवितै छ । भाेलि हुने डाेटी र बझाङबीचकाे खेलले क्वालिफायर हुने टिमकाे टुंगाे लाग्नेछ । बझाङ विजयी भए साेझै क्वालिफायर हुनेछ भने पराजय भए डाेटी,डडेल्धुरा र बझाङकाे नेट रनरेटका आधारमा क्वालिफायरकाे टुंगो लाग्नेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएकाे हाे ।
प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनाैट गरिररहेकाे छ । पहिलाे चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ। दाेस्राे चरणमा कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन् । प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डाेटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् ।गतवर्षकाे प्रदेश छनाैटमा सेमिफाइनल पुगेका टाेलीले साेझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टाेलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् । प्लेट च्याम्पियनसिपकाे विजेता टाेलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहराले बताउनुभयो । ईलिट च्याम्पियनसिपकाे उद्घाटन खेलमा पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपकाे विजेता टाेलीबीच खेल हुनेछ ।
