माओवादी सुदूरपश्चिम सन्दर्भ:

राजुुराम सार्की
तपाईं, हामीले अहिले देखिरहेको र भाेगिरहेकाे अराजकता अकस्मात क्षणभरमै टुपलुक्क प्रकट भएको किमार्थ पनि हाेइन !
जतिबेला पार्टीले युद्धबाट शान्ति प्रक्रियामा पाइला टेक्याे, त्यसै दिनदेखि जनयुद्धताका सुषुप्त अवस्थामा रहेको अराजकताका रक्तविजलाई नवीकरण, विकास र विस्तार गर्ने कार्य त्यतिबेलाकाे पार्टीकाे मूल नेतृत्वले नै गरेको हाे ! र पछि आएर त्यो प्रक्रिया विभिन्न आवरण, स्वरूपमा निरन्तर दाेहरी नै रह्यो !
फलस्वरूप; जनवाद-अराजक मनुवादमा, जनवादी केन्द्रीयता-नेताको निजी तजबिजमा, वर्गीय पक्षधरता-वर्ग उत्थानमा र कमरेडली भावना/हार्दिकता-तिक्ततामा परिणत हुदै गयो र जाँदै पनि छ ! हिजो, वर्गीय मुक्तिका खातिर निस्वार्थ बलि चढ्न तयार हुनेहरू नै आज वर्ग उत्थानका लागि वर्ग वैरीहरूसंग सालनाल जाेड्दै आफ्नै सहयाैद्धाकाे रगत पिउन तयार भइरहेका छन् ! हिजोका वैचारिक अन्तरविरोधहरू छलाङ मार्दै, विकसित हुदै आज आर्थिक स्वार्थ समूहमा परिणत भइसकेका छन् !
हिजो आफैंले “खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलाे भनिएको संसद”लाई कुकुर समेत मुर्छित हुनेगरि आज हामीले गाेमन सर्पको विषालु मासु खरिदबिक्री गरेर रेकर्ड नै दर्ज गरिसकेका छाैं !
नीति, विचार,विधि र विधान नियन्त्रित भन्दा पनि नेताकाे नियत नियन्त्रित भएको छ हाम्रो पार्टी । ३+१ महिने विशेष रूपान्तरण अभियानकाे सामान्य समीक्षा हुन नपाउदै, स्वार्थ समूहका अपेक्षा छताछुल्ल भइसके !
विपक्षी र वर्ग वैरी भन्दा पनि प्राणघातक त पार्टी भित्रकै मुठी बटारेर लाल सलाम भन्ने कमरेडहरू नै अग्रभागमा भ्यूटावर झैं उभिइरहेका छन् !

पार्टीकाे आसन्न विधान अधिवेशनकाे पूर्वसन्ध्यामा भइरहेका यी नङ्गा नाचहरूले, वस्तुगत धरातलमा उभिएर के पार्टीलाई सहि र उपयुक्त सुझाव दिन सक्ला ? के हामी विगतको आफ्नै नैतिकताको डाेरीलाई अराजकताको कैचीले काट्न बलवान् भइसकेकै हाैं त? हाम्रा प्रिय विपक्षीहरूले, हामीलाई निर्वस्त्र, नाङ्गै पारेर दुईदुई पटक काेशी तराउँदा पनि हाम्रो घैंटाेमा अझै सुर्यको घाम लागेन ? के अझै पनि माओवादीले TRC विधेयककाे नत्र भने…. वाला अस्त्रकाे भयमा स्वास जाेगाइ मात्रै राख्ने हाे ? जनमत र जनादेशरूपी ऐनाले हाम्रो अनुहारलाई प्रष्ट देखाएको, हाम्रा हसिया हथाैडाहरूले अझै देखेको छैन र ?

संसदीय धाराका अब्बल धाेकेबाजहरूका म्याजिक बैशाखीहरूले हामीलाई काँसी नभई कुति नै पुर्याउने निश्चित प्रायः छ । “हामी त्यसै आएका हाेइनाैं, बलि राजाले पठाएको हाे” भनेझैं दलाल संसदीय व्यवस्थाका बलिराजाहरूकै निर्देशनमा, हाम्रै पार्टीभित्रका कमरेडहरूका पिठ्युँ चढेर आएकाे हाे अहिलेकाे यो चरम महत्वकांक्षा र अराजकताको उर्लदाे भेल !

पार्टीभित्रकाे चेन अफ कमाण्ड नै भत्किसकेपछि, लेनिनवादी संगठनात्मक सिद्धान्त किनारा लागेपछि बरू कुहिराेमा हराएको काग भेटिएला तर पार्टीमा हराएका अनुशासन, हार्दिकता, हार्माेनीहरू किमार्थ भेटिदैनन्, देखिदैनन् ! पार्टीका इमानदार र अनुशासित सिनियर कमरेडकाे हातबाट सांसदकाे टिकट अपहरण गर्दै जुनियर झिल्के फरार भएकै दिनदेखि हाे महाकाली, सेती र कर्णालीकाे पानी तराईबाट पहाड हुदै हिमालतिर बग्न सुरू भएको ।
बाघ हिलाेमा फस्याे भने उसको गर्जनले हिलाेबाट मुक्त गर्दैन, बरू उ झन् दलदलमा भासिदै जान्छ । हामी माओवादीहरू हिजो निष्ठावान, इमानदार, जनप्रिय थियौं र पाे प्रतिक्रियावादी, पुनर्उत्थानवादी र दक्षिणपन्थीहरू दुलाेमा पसेका थिए । हरेक अन्यायमा परेको मान्छेले न्यायका लागि माओवादीलाई प्राथमिकता साथ सम्झिन्थ्याे, पुकार्थ्याे पनि । हामी संसदीय हिलाेमा फसेदेखि के हाम्रा क्रान्तिकारी विचार, कार्यशैली, दृष्टिकोण, जनसम्पर्क, जन सम्बन्ध,बानी व्यवहारहरू सकुशल छन् त ? के हामी संक्रमित विचार बाेकेर अग्रगामी यात्रा तय गर्न सक्छौं त ? विपक्षीले हाम्रै हिजोको योजना अनुरुप “ढाडमा टेकेर टाउकोमा हिर्काइरहेकाे त छैन ?
कमरेड घनश्याम भुषालले भनेझैं “माछाकाे तेलमा माछा फ्राई” गरे जस्तै; हाम्रा विपक्षी र वर्ग वैरीहरूले हामी माओवादीहरूलाई, हाम्रै सहयाैद्धा कमरेडकाे आत्माघाती हमला मार्फत सिद्ध्याइरहेका छन् , पतन गरिरहेका छन् । अझ भन्नुपर्दा हालको हाम्रो यदुवंशी कार्यशैलीले हाम्रो महापतन अवश्यम्भावी नै छ । तसर्थ अझै पनि केही लाज, सरम, घिन, नैतिकता, अनुशासन आदि बचेको छ भने सबैले सबैलाई अन्तिम पटकका लागि हाेलसेलमा(amnesty granted to all)माफी मागाैं र माफी दिउँ ! यद्यपि हामी माओवादीहरू भावी पुस्ताकाे अध्ययन लागि यदुवंशीहरू जस्तै महाभारतकाे पानामा इतिहास बनेर सीमित हुनबाट स्वयं जनयुद्धका प्रथम महान सहिद कमरेड दिलबहादुर रम्तेल फर्केर आए पनि हामीलाई सुधार्न सक्नुहुने छैन ! त्यसैले पनि गम्भीर एवम् निर्मम आत्मा समीक्षा गर्दै पात्रका चरित्र सफा गर्दै, समयको गतिसंगै नीति, नेतृत्व र प्रवृत्तिलाई अपडेट गर्दै लैजाउ !
अन्यथा जबसम्म अग्रगामी विचार, दृष्टिकोणलाई पश्चगामी चिन्तनको जन्जिरले बाधी राख्छ, तबसम्म प्रतिगमन र प्रतिक्रान्तिका पराकम्पनहरू आइरहनेछन् ! हेक्का राखाै ! (२०८०/१०/१३ गते)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply