पहिलो टी-२० मा नेपालमाथि नामिबियाले २० रनको जित

फागुन १५ धनगढी
पहिलो टी-२० मा नेपालमाथि नामिबियाले २० रनको जित निकालेको छ। २०७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा १८६ रनमा अलआउट हुँदा सिरिजमा नामिबियाले विजयी सुरुवात गर्‍यो।

सिरिजमा अब नेपालले बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

नेपालका ओपनर कुशल भुर्तेल नामिबियाका रुबेन ट्रम्पलम्यानको एलबिडब्लूको धरापमा पर्दा गोल्डेन डकआउट भए। अर्का ओपनर आसिफ शेखले ६ रन मात्र जोड्न सके।

कप्तान रोहित पौडेलले २४ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४२ रनको योगदान गर्दा नेपालको आसा बढेको थियो।

कुशल मल्लले २१ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे। गुल्सन झा ६ बलमा १२ रन जोडेर आउट भए भने सन्दीप जोराले ५ रन मात्र जोड्न सके। लगत्तै विवेक यादव पनि ६ रनमा आउट भए।

त्यसपछि सोमपाल कामीले ११ बलमा १ चौका र ३ छक्काको मद्दतमा २६ रन जोड्दा नेपाललाई केही राहत भएको थियो। उनी आठौं विकेटको रुपमा आउट हुँदा नेपाललाई १७ बलमा ३७ रन चाहिएको थियो।

तर १९औं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी ४८ रनमा आउट भए। उनले ३२ बलमा २ चौका र २ छक्का हिर्काए। लगत्तै अर्को बलमा अभिनास बोहरा बोल्ड हुँदा नेपाल पराजित भयो। अन्तिम दुवै विकेट ट्रम्पलम्यानले लिए।

बलिङमा नामिबियाका ट्रम्पलम्यानले चार विकेट लिए। उनले ३.५ ओभरमा २९ रन खर्चिए। जान फ्राइलिंक, बर्नाल्ड स्कोल्स र जान निकोलले २-२ विकेट लिए।

जान निकोलको कीर्तिमानी शतक

मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४ विकेटको क्षतिमा २०६ रन जोड्यो।

नामिबियाका लागि जान निकोल लेफ्टी इटनले विश्वकीर्तिमानी शतक प्रहार गरे। उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको नाममा रहेको विश्वकीर्तिमान तोड्न सफल भए। कुशलले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए।

१०१ जोडेर आउट भएका उनले ३६ बल खेल्दा ११ चौका र ८ छक्का प्रहार गरे।

नामिबियाका लागि ओपनिङ ब्याटर मलन क्रुगरले नटआउट ५९ रनको योगदान गरे।

११ ओभरमा ३ विकेट गुमाउँदा ६६ रन जोडेको नामिबियाले नेपालविरुद्ध पछिल्लो ९ ओभरमा १४० रन जोडेको थियो।

पावरप्लेको अन्तिम बलमा नेपालका करण केसीले नामिबियाका ओपनर भान लिङगेनलाई २० रनमा गुल्सन झाबाट क्याच गराएका थिए।

नवौं ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेलले जेपी कोट्जेलाई विवेक यादवबाट क्याच गराए। ११ रन बनाएर खेलिरहेका कोट्जेको प्रहारलाई विवेकले बाउन्ड्री नजिक उत्कृष्ट क्याच गरेका थिए।

यस्तै रोहितले ११औं ओभरमा नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो विकेट लिने क्रममा नामिबियाका जान फ्राइलिंकलाई ५ रनमा बोल्ड गरेका थिए।

बलिङमा नेपालका कप्तान रोहितले २ विकेट लिँदा करण केसी र अभिनास बोहराले १-१ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply