क्लबसँग छलफल हुन नसक्दा बी डिभिजन लिग अझै अन्योलमा

२४ फागुन धनगढी
सहिद स्मारक बी डिभिजन लिग सञ्चालन नभएको दुई वर्ष भइसक्यो। गत वर्षको चैतमा हुनु पर्ने लिग विभिन्न कारणले यो वर्ष समेत हुने पक्का छैन।

क्लबहरूले २०७९ कै पुसमा बी डिभिजन लिगका लागि तयारी थालेका थिए। तयारीका लागि ठूलो खर्च समेत गरेका थिए। सुरुमा २०७९ को चैत १५ बाट चैत २९ लाई लिग सारियो। तर त्यसपछि पनि लिगको मिति सर्दै गयो र अन्तत: गत वर्ष लिग नै हुन सकेन।

एन्फाको लिग प्रणालीमा ए, बी, सी र सी डिभिजन छनोटलाई महत्वपूर्ण मानिन्छ। प्रत्येक सिजन चार मध्ये एउटा प्रतियोगिता हुन सकेन भने पनि फुटबल प्रणालीलाई नै असर गर्छ। गत वर्ष बी डिभिजन हुन नसक्दा त्यसको असर अहिले परिरहेको छ।

गत सिजन हुन नसकेको लिग यो सिजन पनि हुनेमा अन्योल बढेको छ। एन्फाले चैत २५ गतेदेखि बी डिभिजन लिग गर्ने आफ्नो क्यालेन्डरमा समावेश गरेको छ।

त्यसका लागि एन्फाले बी डिभिजन क्लबका प्रतिनिधिसँग बिहीबार छलफल गर्ने कार्यक्रम राखेको थियो। तर बी डिभिजनका प्लानिङ ब्वाइज बाहेक १३ क्लबले बिहीबारको छलफल बहिष्कार गरेका छन्।

बी डिभिजन क्लब मध्यपुर युथ एसोसिएसनलाई कारबाही गर्ने निर्णय फिर्ता लिन भन्दै गत पुसमा क्लबहरुले एन्फामा निवेदन दर्ता गराएका थिए। सो निवेदनको जवाफ नपाएसम्म एन्फासँग छलफल नगर्ने बी डिभिजन क्लबका संयोजक तथा रानी पोखरी कर्नर टिम (आरसिसी)का अध्यक्ष कुमार राजभण्डारीले सेतोपाटीलाई बताए।

‘हामीले गत पुसमा मध्यपुर युथलाई कारबाही गर्ने निर्णय फिर्ता लिन माग गर्दै दर्ता गराएको पत्रको जवाफ नआएसम्म हामी एन्फासँग छलफलमा बस्दैनौ,’ राजभण्डारीले सेतोपाटीसँग भने, ‘हामीले यहिँ मागकै कारण एन्फाका दुई वटा साधारणसभा समेत बहिष्कार गरिसकेका छौं।’

गत पुस २ मा एन्फाको कार्यसमिति बैठकले मध्यपुर युथलाई कारबाही गर्ने निर्णय गरेको थियो। एन्फा विधान विपरीतको कार्य गरेको भन्दै अर्को निर्णय नभएसम्मका लागि सबै फुटबल गतिविधिमा पूर्वकप्तान उपेन्द्रमान सिंह नेतृत्वको मध्यपुर युथलाई रोक लगाएको थियो।

यो निर्णयमा एन्फाका बहुमत कार्यसमिति सदस्यले समेत नोट अफ डिसेन्ट लेखिसकेका छन्। गत मंसिरमा भएको विषेश साधारणसभाअघि मध्यपुर युथ एसोसिएसन नेतृत्व अदालत गएको भन्दै एन्फा नेतृत्व आक्रोशित बनेको थियो। जसका कारण मध्यपुरलाई फुटबल गतिविधिमा रोक लगाइएको थियो।

बी डिभिजन संयोजक राजभण्डारीले कारबाही फिर्ता लिने पत्रको जवाफ दिए मात्र छलफलमा बस्न तयार रहेको समेत बताए। पत्रको जवाफ नआए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको उनको भनाइ छ।

बी डिभिजन लिगमा भाग नलिएकोको अवस्थामा एन्फाले क्लबहरुलाई कारबाही गर्न सक्ने अधिकार छ।

‘पत्रको जवाफ आएपछि हामी छलफलमा बस्छौं, हामी फुटबल खेल्न तयार छौं। नखेल्ने भन्ने कुरा होइन। पत्रको जवाफ आएपछि दुई वर्षअघिको लिगको बाँकी रकम दिनुपर्छ। अनि मात्र हामी यो सिजनको लिग खेल्ने विषयमा कुरा गर्न सक्छौं,’ उनले भने।

दुई वर्षअघि लिग खेले बापतको तयारी खर्च लिनका लागि एन्फाले अहिले आएर बिलहरू नमिलेको बताउँदा क्लबहरूलाई अप्ठेरो परेको पनि उनको भनाइ छ।

एन्फाका सिइओ इन्द्रमान तुलाधर बी डिभिजन क्लबसँग छलफल गरेर समाधान निकाल्न तयार रहेको बताउँछन्।

‘उहाँको माग छलफलको मध्यमबाट समाधान गर्न तयार छौं,’ तुलाधरले भने,’सायद एक-दुई सातामा समस्याको समाधान निस्कन्छ होला।’

मध्यपुरको कारबाहीको विषय कार्यसमितिले मात्र गर्न सक्ने विषय नभएकाले साधारणसभासम्म लैजानु पर्ने उनले बताए।

उनले सबै वातावरण तयार गर्दा पनि लिग खेल्न तयार नभए एन्फा आफ्नो विधानअनुसार अघि बढ्ने तुलाधरले बताउँदै कारबाही गर्न सक्ने संकेत गरे।

‘सबै वातावरण तयार गर्दा पनि लिग खेल्न नआए एन्फा आफ्नै कोर्षमा अघि बढ्छ,’ तुलाधरले भने, ‘परिस्थिति त्यहाँसम्म पुग्दैन भन्ने आसा छ। वार्ताबाटै निकास निकाल्न तयार छौं।’

तुलाधरले बी डिभिजनले सी डिभिजन लिगलाई असर नगर्ने पनि बताए। ‘सी डिभिजन लिगमा यसपटक पनि बढुवा/घटुवा हुन्छ, बी डिभिजनले असर गर्दैन।’

यो सिजनको सी डिभिजन लिग चैत तेस्रो सातादेखि सुरू हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply