चैत ६ धनगढी
एक सिंगे गैंडाको दिव्यपुरीदेखि प्यारीढापसम्मको यात्रा विवरण दिव्यपुरी मध्यवर्ती वनको घाँसे मैदानमा बिहानैदेखि दुईवटा गैंडा चरिरहेका छन्। उज्यालो नहुँदै पोष्टबाट हात्तीमा चढेर गएका कर्मचारीहरूले ती गैंडाको गतिविधि नियालिरहेका छन्।
त्यतिबेलै करिब डेढ किलोमिटर वर दिव्यपुरी पोष्टको कार्यालय परिसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर षडौला, भेटेरिनरी प्राविधिक किरण रिजाल र वन्यजन्तु प्राविधिक दिपकुमार चौधरी ‘दिपु’ व्यस्त थिए। षडौला र रिजाल बाकसबाट औषधिको बट्टा निकालेर सिरिञ्जमा भरिरहेका थिए। दिपु बन्दुक सफा गर्दै थिए।
सिरिञ्जमा आवश्यक औषधि हालिसकेपछि उनीहरूले त्यसलाई बन्दुकमा लोड गरे। काँधमा क्यामेरा, टोपी माथि गोप्रो र एउटा हातमा वाकिटकी बोकेका दिपुको अर्को हातमा औषधि लोड गरिएको बन्दुक पनि आइपुग्यो।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठ, संरक्षण अधिकृत अरविन्द यादव उक्त बन्दुक प्रयोग गर्न आदेश पर्खिरहेका थिए।
यहाँ एक सिंगे गैंडालाई नियन्त्रणमा लिन खोजिँदै थियो।
वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जले केही दिनदेखि पश्चिम क्षेत्रका गैंडाहरूलाई पूर्वतिर सार्ने काम गरिरहेको छ। आइतबार तेस्रो दिन दिव्यपुरी क्षेत्रबाट एउटा पोथी गैंडालाई स्थानान्तरण गर्ने प्रयास भइरहेको थियो। स्थानान्तरणका लागि गैंडालाई नियन्त्रणमा लिन डार्ट ( बन्दुकमा बेहोस बनाउने औषधि लोड गरेर प्रहार गर्ने) गर्नुपर्छ।
आदेश पाएपछि दिपु गाडी चढेर गैंडा भएको ठाउँमा पुगे। त्यहाँ उनलाई कुरिरहेको थियो कृष्णप्रसाद नामको हात्ती।
उनी हात्तीमा चढेर अन्य हात्तीहरू भएको घाँसे मैदानमा पुगे। चारवटा हात्तीले दुईवटा गैंडालाई घेरिरहेका थिए। काँसघारी भित्र रहेको गैंडाको आधा शरीरमात्रै देखिन्थ्यो। दुईमध्ये कुन पोथी हो भन्ने छुट्टाउन हम्मे भइरहेको थियो।
जब हात्ती घेरा साँघुरो बनाउँदै गए गैंडाहरू अतालिन थाले। गैंडाको भागाभाग सुरू भयो। हात्तीहरू माउतेको इसारामा गैंडाको पिछा गरिरहेका थिए। जति भाग्न खोजेपनि उनीहरूले गैंडालाई घेरामा पारिछाडे।
घेरा निकै साँघुरो भएपछि दिपु हात्तीबाट एउटा रूखमा चढे। अनि बन्दुक गैंडातिर सोझ्याए। ‘प्याट्ट’ गरेको आवाज सुनियो। उनले बन्दुकबाट प्रहार गरेको सुई गैंडाको गर्दन नजिकै लागेछ। ऊ बेपत्ता कुद्यो। हात्तीहरू उसको पछिपछि दौडिए। गैंडालाई नजिकै रहेको नारायणी नदीतिर पुग्न नदिन गाडीमा रहेका प्राविधिक, कर्मचारी, नेपाली सेनाका अधिकारीहरू पनि खटेका थिए।
सुई लागेपछि बेपत्ता कुदेको गैंडा अतालिएर खाल्डोतिर पर्नसक्ने जोखिम हुन्छ। यो अवस्थामा गैंडाको मृत्यु नै पनि हुनसक्छ। त्यसैले सकेसम्म सजिलो ठाउँमा डार्ट गर्ने, जतिसक्दो छिटो उसलाई नियन्त्रणमा लिने प्रयास गरिन्छ। निकुञ्जका वरिष्ठ पशुचिकित्सक विजयकुमार श्रेष्ठकाअनुसार बेहोस बनाउने औषधि एक डोज दिएको करिब १० मिनेटमा गैंडा बेहोस हुन्छ। त्यसको करिब एक–डेढ घण्टा ऊ होसमा आउँदैन।
विहान ९ बजेर ३५ मिनेट जाँदा डार्ट भएर बेपत्ता कुदेको गैंडाको खोजी चलिरहेको थियो। केही मिनेटमा सिंग लामो भएको एउटा गैंडा दैडिरहेको अवस्थामा भेटियो।
‘लौ भेटियो। यसलाई घेरिहालौं,’ छिट्टै भेटिएकोमा निकुञ्जका कर्मचारीहरू खुसी भए।
तर त्यो डार्ट गरिएको गैंडा होइन रहेछ। हात्तीमा रहेका कर्मचारीले डार्ट गरिएकाको सिंग लामो रहेको भन्दै त्यो अर्कै गैंडा रहेको बताएपछि फेरि खोजी सुरू भयो।
बेहोस बनाउने सुई लागेको करिब एक घण्टा हुनलाग्दा पनि गैंडा नभेटिएपछि टोलीमा चिन्ता बढिरहेको थियो। संभावित सबै ठाउँमा खोजी गर्दा पनि नभेटिएपछि गैंडा नारायणी नदी तरेर कोर क्षेत्रतिर गइसकेको वा नदीमा डुवेको आशंका पनि गरिँदै थियो।
अब एक पटक हिँडेर सर्लक्कै जंगलमा स्विप अपरेशन गर्ने कुरा चल्न थाल्यो। निकुञ्जभित्र रहेको खड्गदल गणका नेपाली सेना र केही कर्मचारी स्विप अपरेसनका लागि अघि बढेकामात्रै थिए, डा.षडौलाको वाकिटकीमा दिपुको आवाज सुनियो ‘गैंडा भेटियो’। उनी केही साथी लिएर पैदलै जंगलभित्र गैंडा खोजिरहेका थिए। दिपुका ती दुई शब्दले सबैको मुहारमा खुसी छायो।
गैंडा डार्ट गरिएको भन्दा करिब पाँच सय मिटर पर झाडीभित्र ढलेको रहेछ।
बेहोस बनाउने औषधिले काम गर्न छाड्ने बेला भइसकेको थियो। ऊ दुबै कान हल्लाइरहेको थियो। भुँडी चलिरहेको देखिन्थ्यो। तत्कालै दोस्रो डोज नदिए खतरा हुनसक्थ्यो।
भेटेरिनरी डाक्टर, प्राविधिक मिलेर गैंडालाई बेहोस बनाउने दोस्रो डोज औषधि पनि चढाए।
हात्तीहरूले झाडी सफा गरे। गैंडाको आँखा सेतो कपडाले छोपियो। केहीबेरमा जंगलभित्र बाटो बनाउँदै डोजर आइपुग्यो। डोजरले गैंडा राख्न काठको सेलेज पनि ल्याएको थियो। मान्छेहरूले बल लगाएर त्यसमाथि गैंडालाई पल्टाए। ऊसका खुट्टाहरू बाँधियो। अनि डोजरले तानेर दिव्यपुरी पोष्टमा पु¥यायो।
यहाँ खोर रहेको ट्रक पर्खिरहेको थियो। बेहोस गैंडालाई डोजरको सहयोगमा ट्रकभित्रको खोरमा राखियो। त्यसअघि नै उसलाई एण्डी डोज दिइसकिएको थियो। भित्र हुलेको केहीबेरमा ऊ उठिहाल्यो। ट्रक नै हल्र्याङहल्र्याङ बनाउन थाल्यो। बन्द ठाउँमा गर्मीले समस्या नआओस् भनेर कर्मचारीहरूले बाल्टीमा पानी भर्दै ट्रकको माथिबाट गैंडाको शरीर भिजाइरहेका थिए।
नवलपुरको देवचुली नगरपालिका–१ स्थित दिव्यपुरी पोष्टबाट सवा १ बजे गैंडा बोकेर हिँडेको ट्रक साँझ पौने ५ बजे निकुञ्जको प्यारीढाप क्षेत्रमा पुगेको थियो। उसलाई राप्ती नगरपालिकादेखि दक्षिण–पूर्व राप्ती नदीभित्रको कोर क्षेत्रमा छाडिएको छ।
विहान उज्यालो नहुँदै सुरू गरेको काम सूर्यस्त हुँदा बल्ल सकियो। विहान नवलपुरमा चरिरहेको गैंडाको साँझ बास फेरियो। ट्रकबाट निस्किन पाउँदा उसले स्वतन्त्र महसुस गरिरहेको थियो सायद। नाकदेखि पिठ्यूँसम्मको चोटको प्रवाह नगरी ऊ कुँदेर जंगलभित्र अलप भयो।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनकाअनुसार घाँसेमैदान, सिमसारको व्यवस्थापन र सुरक्षा व्यवस्था राम्रो बनाउँदै गैंडाको आनुवांशिक विविधता कायम गर्न स्थानान्तरण गरिएको हो।
शिवपुरी राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रहेका गैंडा विज्ञ गणेश पन्त गैंडाको आन्तरिक स्थानान्तरणका धेरै महत्वहरू रहेको बताउँछन्। कुनै एक क्षेत्रमा क्षेत्रमा केन्द्रित नभई गैंडाको सबैतिर समान बासस्थान बनाउन, बासस्थानको कमीका कारण खेत, बस्तीमा निस्कने, द्वन्द्व बढ्ने अवस्था आउन नदिन, आणुवंशिक विविधता कायम गर्न, संख्या बढाउनदेखि जलवायु परिवर्तनले पारेको र पार्नसक्ने असरबारे अध्ययन गर्न आन्तरिक स्थानान्तरण महत्वपूर्ण रहेको उनले बताए।
‘चितवन निकुञ्जकै कुरा गर्दा विगतमा यहाँको पूर्वी क्षेत्रमा बढी गैंडा थिए। उनीहरू क्रमिकरूपमा पश्चिमतर्फ गइरहेको अध्ययनले देखाएको छ। यसका विभिन्न कारण हुनसक्छन्। जलवायु परिवर्तनको असर पनि हुनसक्छ,’ उनले भने, ‘अध्ययन गरेर हेरौं, यता ल्याउँदा के हुन्छ भनेर पनि हो। यसको अध्ययन गर्न लामो समय लाग्न सक्छ।’ उनले यो अध्ययनले भविष्यमा पनि गैंडाको संख्या बढाइराख्न सहयोग गर्ने बताए।
सन् १९६० को दशकमा यहाँ एक सयभन्दा कम गैंडा थिए। अहिले ७ सय ५२ पुगेका छन्।
‘अहिले संख्या बढिरहेका छन् भनेर चुप लागेर बस्न हुँदैन। बासस्थान घट्ने र सिकार बढ्नेलगायतका कारण भविष्यमा गैंडाको संख्या बढाउन कठिन हुन सक्छ। त्यसैले यस विषयमा बेलैमा व्यवस्थापन गर्नुपर्छ,’ पन्त भन्छन्, ‘अफ्रिकामा सिकार नियन्त्रणका लागि गैंडाको आन्तरिक स्थानान्तरण गर्ने गरिएको छ। गैंडा जोगाउनका लागि अफ्रिकाबाट अष्ट्रेलियामा स्थानान्तरण गर्ने प्रयाससमेत गरिँदैछ। बासस्थान, जलवायु परिवर्तन र द्वन्द्व नियन्त्रणका लागि अन्तरिक स्थानान्तरण गरिएको यहाँ पहिलोपटक हो।’
स्थानान्तरणका लागि प्राविधिक सहयोग राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाकी प्रमुख रचना शाहले गैंडाको संख्या व्यवस्थापन, वृद्धिका लागि आन्तरिक स्थानान्तरण आवश्यक भएको बताइन्।
चितवन निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना आन्तरिक स्थानान्तरणले समुदाय र निकुञ्ज बीचको द्वन्द्व घटाउन सहयोग पुग्ने बताउँछन्।
‘पूर्वी क्षेत्रबाट बाढीमा बगेर धेरै गैंडा पश्चिमतिर पुगेका छन्। कतिपय त भारतै पुगेका छन्,’ उनले भने, ‘पश्चिमतिर बासस्थान राम्रो नभएर खेत, गाउँ पुगेर गैंडाले दुःख दिने गरेको सुनिन्छ। त्यसैले उनीहरूलाई पूर्वतिरै व्यवस्थापन गर्न खोजिएको हो।’
ढुंगानाले समस्याग्रस्त र आणुवांशिक विविधतामा सघाउने दुबै किसिमका गैंडाहरू स्थानान्तरण गर्नुपर्ने बताए।
वन तथा वातावरण मन्त्रालयले तत्कालका लागि ६ वटा गैंडाको आन्तरिक स्थानान्तरण गर्ने निर्णय गरेको थियो। पहिलो दिन गत शुक्रवार कावासोती नगरपालिका–२ स्थित नवदुर्गा सामुदायिक वनमा रहेको करिब ३० वर्षको भाले गैंडालाई नियन्त्रणमा लिएर चितवन निकुञ्जको तमोर तालदेखि पूर्वतर्फ छाडिएको थियो। शनिबार दिव्यपुरी वनमा रहेको करिब १७ वर्षको भाले गैंडालाई खगेन्द्रमल्ली पोष्ट नजिकको वन क्षेत्रमा छाडियो।
आइतबार स्थानान्तरण गरिएको गैंडा करिव ८ वर्षको वयस्क भाले हो। बाँकी ३ वटा गैंडा सकेसम्म पोथी खोजेर स्थानान्तरण गर्ने प्रयास भइरहेको वरिष्ठ पशु चिकित्सक श्रेष्ठले बताए।