आयरल्यान्ड वुल्भ्समाथि नेपालको सहज जित

१३ चैत धनगढी
पहिलो टी-२० खेलमा आयरल्यान्डको ‘ए’ क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले सहज जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो।

आयरल्यान्ड दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेल नटआउट ३७ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन जोडे। कुशलले ३२ बलमा ४ चौका र दीपेन्द्रले १२ बलमा २ चौका र १ छक्का हिर्काए।

त्यसअघि सन्दीप जोराले ३५ बलमा ३६ रनको योगदान गरे। उनले ३ चौका र २ छक्का प्रहार गरे।

तर नेपालले चौथो ओभरमा दुई विकेट गुमाएको थियो। दोस्रो बलमा आसिफ शेखलाई १० रन र चौथो बलमा रोहित पौडेललाई शून्यमा गुमाएको हो।

दुवैलाई आयरल्यान्डका ग्यारेथ डेलिनीले आउट गरे। आसिफ एलबिडब्लूको धरापमा पर्दा रोहित विकेट पछाडि समातिए। लगत्तै अर्को ओभरमा गुल्सन झा ४ रनमा आउट भए।

आयरल्यान्ड वुल्भ्स १२१ रनमा अलआउट

पहिले ब्याटिङ गरेको आयरल्यान्ड १२१ रनमा अलआउट भयो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको २० ओभर पूरा खेल्दा अलआउट भयो।

आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सबैभन्दा बढी ४६ रन जोडे। कुशल भुर्तेलको बलमा क्याच भएका उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

उनीबाहेक आयरल्यान्डका शीर्ष आठ मध्ये ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका करण केसीले आयरल्यान्डका ओपनर मार्क एडियरलाई दोस्रो बलमै बोल्ड गरेका थिए। उनले पहिलो बलमा चौका हिर्काएका थिए।

यस्तै ललित राजवंशीले कोड कारमाइकललाई चौथो ओभरमा ८ रनमा एलबिडब्लूको धरापमा पारे। सातौ‌ं ओभरको दोस्रो बलमा गुल्सन झाले मोर्गन टपिङ शून्यमा बोल्ड गरे। कप्तान निल रकलाई गुल्सनले नै नवौं ओभरको पहिलो बलमा ५ रनमा कुशल मल्लबाट क्याच गराए।

यस्तै ग्यारेथ डेलिनीलाई कुशल मल्लले ४ रनमा क्याच गराए। कुशल भुर्तेलले फिन ह्यान्डलाई ११ रनमा क्याच गराउँदा ललित राजवंशीले म्याकार्थीलाई १६ रनमा एलबिडब्लूको धरापमा पारे।

यस्तै १९औं ओभरको अन्तिम बलमा थोमस मायज १६ रनमा रनआउट भए। अन्तिम बलमा म्याथ्यु हमफ्री ६ रनमा रनआउट भए।

बलिङमा नेपालका ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले २-२ विकेट लिन सफल भए। करण केसी र कुशल मल्लले १-१ विकेट लिन सफल भए।

आयरल्यान्ड्सको टिममा ९ जना सिनियर टिमबाट खेलिसकेका खेलाडी छन्।

नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो। भोलि आयरल्यान्डसँग दोस्रो टी-२० खेलेपछि नेपाली टिम भारत जानेछ।

कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply