एसईई दिनेको संख्या बैतडीमा प्रत्येक बर्ष घट्दै

१४ चैत धनगढी
माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनेको संख्या बैतडीमा प्रत्येक बर्ष घट्दै पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बैतडीकाे पछिल्लो तीन बर्षको तथ्यांक हेर्दा हरेक बर्ष एसईई दिने परीक्षार्थीको संख्या घट्दै गएको पाइएकाे हाे । वि. स. २०७८ सालमा यहाँबाट ५ हजार ५ सय जना परीक्षार्थीले एसईई दिएका थिए । गत बर्ष ५ हजार ३ सय ५१ जना परीक्षार्थी एसईईमा सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिनुभयो । जसमा २ हजार ६ सय ६२ छात्र र २ हजार ६ सय ८९ छात्रा रहेका थिए । यो बर्षको एसईईमा बैतडीबाट बर्ष २ हजार ४ सय ५८ छात्र र २ हजार ६ सय ३० छात्रा गरेर ५ हजार ८७ परीक्षार्थी सहभागी हुनेछन् ।

पहाडी जिल्लाहरुबाट भइरहेको बसाइसराई,बालबिवाहका कारणले समेत यस्तो समस्या आएको हुन सक्ने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । धेरै जसो बालबालिकाहरु शिक्षा ग्रहणका लागि तराईतिर जाने प्रवृति बढेकाले पहाडमा विद्यार्थीहरुको संख्या कम हुँदै गएको हाे । उहाँले भन्नुभयाे,”बसाइँसराइका साथै,बालबिवाहका कारण बर्सेनि एसईई दिनेकाे संख्या घटेकाे हाे ।” सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा ध्यान नजाँदा विद्यार्थी पलायन हुने क्रम बढ्दै गएको छ । यसैबीच बिहीबारदेखि सञ्चालन हुने यो बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को बैतडीमा तयारी पूरा भएको छ । जिल्लाका २५ ओटै केन्द्रमा आवश्यक सबै सामग्री पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । बिहीबार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ । बैतडीमा एसईईका लागि २५ ओटा केन्द्र निर्धारण गरिएका छन् । ती केन्द्रहरुमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाइएको छ । यस्तै परीक्षालाई मार्यादित, भयरहित, शान्त र स्वच्छ वातावरणमा सम्पन्न गर्न हरेक केन्द्रहरुमा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । यसका साथै माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिका पदाधिकारीहरुले परीक्षाको अनुगमन गर्ने प्रमुख अवस्थीले बताउनुभयो ।

बैतडीमा यो बर्ष २ हजार ४ सय ५८ छात्र र २ हजार ६ सय ३० छात्रा गरेर ५ हजार ८७ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । साधारणतर्फ २ हजार २ सय ४ जना छात्र र २ हजार ४ सय छात्रा परीक्षामा सहभागी हुनेछन् भने ग्रेडवृद्धितर्फ ९४ छात्र र १ सय १६ छात्रा गरेर २ सय १० जना सहभागी हुने सूचना अधिकारी शर्माले बताए । यस्तै बैतडीमा प्राविधिकधारतर्फ १ सय ५९ छात्र र १ सय १४ छात्रा गरेर २ सय ७३ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । परीक्षाको आवश्यक सबै तयारी पूरा भएकाले निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरिएको छ । यसका साथै परीक्षालाई मार्यादित, भयरहित र स्वच्छ वातावरण सम्पन्न गराउन सबै सरोकारवालाहरुलाई सहयोगका लागि शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply