बझाङमा विभिन्न राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी

२४ चैत धनगढी
वैशाख १५ गते हुने प्रदेश सभा उपनिर्वाचनका लागि बझाङमा विभिन्न राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ।

बझाङ निर्वाचन क्षेत्र १ को ‘क’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकोले त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

गत ५ असारमा प्रदेश सरकारका मन्त्रीसमेत रहेका सिंहको सवारी दुर्घटनामा परेर निधन भएको थियो। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले अहिले हुन लागेको उपनिर्वाचनका लागि शनिबार निर्धारित गरिएको समयमा १२ जनाको उम्मेदवारी दर्ता भएको बताए।

नेपाली कांग्रेसले बझाङका पूर्वजिल्ला सभापति समेत रहेका उनै स्वर्गीय सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ। अभिषेकले दिउँसो २ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान जिल्ला अदालत कार्यलय परिसरमा पुगेर उम्मेदवारी दिएका हुन्।

यस्तै नेकपा एमालेबाट दमन भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्। उनी एमालेका जिल्ला अध्यक्ष पनि हुन्। यस्तै नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन्। बुढा माओवादीका प्रदेश कमिटी सचिव हुन्।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्। उनी तत्कालीन समयमा एमालेका पूर्वअध्यक्ष पनि हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्। उनी पूर्वपत्रकार हुन्।

मुख्य निर्वाचन अधिकृत लामिछिानेका अनुसार राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, नेमकिपाबाट खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तीमगर, जसपा नेपालबाट रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनमत पार्टीबाट सुशीलादेवी विष्ट र नेपाली जनता दलबाट अशोक सुनारले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गर्न दलहरूलाई शनिबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय दिइएको थियो। सो समयमा दलहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन्।

आइतबार उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको तालिका छ। यस्तै, चैत २७ गते अन्तिम नामावली प्रकाशन गर्ने तथा चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ। आयोगले बझाङमा प्रदेश सभा निर्वाचनका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply