नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुगे

वैशाख ३ धनगढी
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नुअघि नै नेपाल सेमिफाइनलमा पुगेको हो।

नेपालको समूहको कतारले सोमबार मलेसियालाई ४ विकेटले पराजित गरेपछि नेपालको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का भएको हो।

समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ। दोस्रो स्थानको साउदी अरेबियाको दुई खेल खेल्न बाँकी छदा २ अंक छ। मलेसिया, कतार र हङकङले अन्तिम खेलअघि २-२ अंक जोडेका छन्।

ओमानमा जारी प्रतियोगितामा नेपालले सोमबार नै लगातार तेस्रो जित हात पारेको थियो। सोमबार हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपालले आफ्नो विजयी यात्रा कायम राखेको थियो।

समूह ‘ए’ मा यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

सोमबार अल अमेरतमा हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १२.२ ओभरमै पूरा गर्‍यो।

उत्कृष्ट सुरूवात दिलाएका नेपालका ओपनरद्वय आसिफ शेखले ४० रन र कुशल भुर्तेलले ३२ रन जोडे। आसिफले १८ बलमा ३ चौका र ३ छक्का तथा कुशलले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

कप्तान रोहित पौडेलले २० बलमा नटआउट २५ रन र सन्दीप जोराले १७ बलमा नटआउट १९ रन जोडे।

वर्षाका कारण ढिलो गरी सुरु भएको खेल १८ ओभरमा झारिएको थियो। जसमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ १ बल बाँकी छदा ११४ रनमा अलआउट भयो।

हङकङका लागि सबैभन्दा बढी रन बनाएका अंशुमन रथ पनि रनआउटको सिकार भए। उनलाई नवौं ओभरमा नेपालका गुल्सन झाले बाउन्ड्री नजिकबाट डाइरेक्ट हिटमार्फत् ३४ रनमा रनआउट गरे।

बलिङमा अभिनासले ३ विकेट लिए भने ललित र दीपेन्द्रले २-२ विकेट लिए। करण केसीले १ विकेट हात पारे। अभिनासले ४ ओभरमा २९ रन खर्चिए। ललितले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र दिए। दीपेन्द्रले ५ बलमा ६ रन खर्चिए। करणले ४ ओभरमा २४ रन दिए।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।

कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।

नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply