वेस्ट इन्डिजले नेपालसँगको पाँच खेलको टी-२० सिरिजका लागि ए क्रिकेट टिम घोषणा

११ वैशाख धनगढी
वेस्ट इन्डिजले नेपालसँगको पाँच खेलको टी-२० सिरिजका लागि ए क्रिकेट टिम घोषणा गरेको छ।

आगामी शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका लागि वेस्ट इन्डिजले १५ सदस्यीय ए टिम घोषणा गरेको हो।

खेलहरु वैशाख १५, वैशाख १६, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्।

कप्तानको रूपमा अनुभवी रोस्टन चेज र उप-कप्तानको रूपमा एलिक एथानाजको रहेका छन्।

कप्तान चेजले वेस्ट इन्डिजको सिनियर टिमबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ टी-२० खेल खेलेका छन्। टेस्टमा उनले पाँच शतक प्रहार गरेका छन्। गत वर्ष भारतविरुद्धको टेस्टमा राष्ट्रिय टिममा डेब्यू गरेका उपकप्तान एलिकले चार टेस्ट र १० एकदिवसीय खेलेका छन्। उनले वेस्ट इन्डिजको टी-२० टिममा भने डेब्यू गरेका छैनन्।

ओपनर आन्द्रे फ्लेचर पनि नेपाल आउँदैछन्। उनले वेस्ट इन्डिजको सिनियर टिमबाट २५ एकदिवसीय र ५४ टी-२० खेलेका छन्।

अनुभवी ब्याटर जोनसन चार्ल्स पनि वेस्ट इन्डिजको ए टिममा छन्। उनले सिनियर टिमबाट ५८ एकदिवसीय र ४८ टी-२० खेलेका छन्। चार्ल्स वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप जित्दा टिममा थिए।

अर्का अलराउन्डर किमो पल पनि नेपाल आउँदैछन्। उनले वेस्ट इन्डिजको सिनियर टिमका लागि ३ टेस्ट, ३० एकदिवसीय र २३ टी-२० खेलिसकेका छन्।

गुडाकेश मोती, फेबियन एलेन, केसी कार्टी, मार्क देयल, ओबेद म्याककोए, ओशान थोमस र हेडेन वाल्शले पनि वेस्ट इन्डिजको सिनियर टिमबाट डेब्यू गरिसकेका छन्। नेपाल आउन लागेका कादिम एलीन, जोशुआ बिशप र मार्क देयलले मात्र सिनियर टिममा डेब्यू गर्न बाँकी छ।

वेस्ट इन्डिजले पहिलो पटक नेपाल भ्रमण गर्न लागेको हो। भ्रमणलाई वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकपअघिको तयारीको रुपमा लिएको छ। किनभने सिरिजबाट राष्ट्रिय टिम पार्न सक्ने खेलाडीको पहिचान गर्न सकिने वेस्ट इन्डिजको भनाइ छ।

विश्वकपका लागि अन्तिम टिम दर्ता गर्ने मिति मे १ रहेको छ। विश्वकपअघि वेस्ट इन्डिजको टिमले मे २२ देखि २६ सम्म दक्षिण अफ्रिकासँग ३ खेलको टी-२० सिरिज खेल्दैछ।

नेपालले पनि वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी-२० विश्वकप छनोटको रुपमा लिएको छ। ओमानमा भएको एसिसी प्रिमियर कप खेलेर हिजो फर्किएको नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि अमेरिका जानेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्नेछ।

वेस्ट इन्डिज टिम
रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply