निःशुल्क शल्यक्रिया सहितको आँखा शिविरबाट दुईहजार जना लाभान्वित

२ जेठ धनगढी
बैतडीका तीन स्थानमा सम्पन्न निःशुल्क शल्यक्रिया सहितको आँखा शिविरबाट दुईहजार जना लाभान्वित भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाको सुल्लेखान, सुर्नया गाउँपालिका र जिल्ला अस्पतालमा सम्पन्न शिविरबाट दुई हजार जना लाभान्वित भएका हुन् । शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेस नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा दुई दिन सञ्चालन भएको शिविरबाट ६ सय ३३ जनाले आँखाको जाँच गराएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले जानकारी दिए । शिविरमा आएका मध्ये १ सय ६ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ भने ४ जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको छ । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकहरुले शिविरमा सेवा लिएका हुन् । आफ्नै गाउँठाउँबाट शल्यक्रिया सहितको शिविरबाट आँखा सम्बन्धि सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । उनले भने,‘गाउँपालिकाबासी र आसपासका नागरिकलाई मध्यनजर गरेर शिविरको आयोजना गरिएको हो, गाउँमै आँखा सम्बन्धि सेवा पाउँदा नागरिक खुसी छन् ।’ यस्तै सुर्नया गाउँपालिकाको शंकरपुर स्वास्थ्यचौकीमा आयोजना गरिएको शिविरमा ८ सय ५ जनाले सेवा लिएकोमा ९५ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए ।

नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पु¥याउन शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । यस अघि जिल्ला अस्पताल बैतडीमा वैशाख २७ र २८ गते गरी दुई दिन सञ्चालन भएको शिविरमा ५ सय ६५ जनाले सेवा लिएका छन् । शिविरमा आँखा जाँच गराउन आएकामध्ये ६० जना पुरुष र ६७ जना महिला गरेर १ सय २७ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । जिल्लाकै अस्पातलमा मोतीबिन्दुको शल्यक्रिया पछि दृष्टि देख्न पाउँदा नागरिक निकै खुसी भएका छन् । धनगढी नेत्रालयले गएको साता जिल्लाको पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा पनि शल्यक्रिया सहितको शिविरको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply