नेपाली क्रिकेट टोलीलाई अमेरिकी दूतावासको शुभकामना, सन्दीपको भिसाबारे टिप्पणी नगर्ने

९ जेठ धनगढी
नेपालस्थित अमेरिकी दूतावासले आइसिसी टी-२० विश्वकप २०२४ मा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिँदै क्रिकेटर सन्दीप लामिछानेलाई भिसा अस्विकार गरेको विषयमा टिप्पणी नगर्ने बताएको छ।

नेपाली राष्ट्रिय टोली वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपको अन्तिम तयारीका लागि हाल अमेरिकामा छ। त्यसका लागि अमेरिका जान लागेका लेगस्पिनर लामिछानेको भने भिसा अस्विकृत भएको थियो।

‘अमेरिकामा हुने टी-२० विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीको सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित छ र वास्तवमा प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले केही हप्ताअघि टोलीसँग भेट पनि गरेका थिए। आउँदै गरेका खेलहरूका निम्ति सम्पूर्ण टिमलाई हाम्रो शुभकामना छ,’ दूतावासको भनाइ छ।

दूतावासले अघि भनेको छ, ‘उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भइ काम गरेका छन्। अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ।’

यसअघि उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै बुधबार सफाइ दिएको थियो।

त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो। आइसिसीको सहमतिसँगै सन्दीप अमेरिका जान लागेका थिए।

अमेरिकामा अन्तिम तयारी गरेको नेपालले अमेरिका र क्यानडासँग डालासमा दुई वार्मअप खेल खेल्नपछि विश्वकपको औपचारिक खेल खेल्नेछ।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।

विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। चार समूहका शीर्ष २-२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply