विश्वकपको अभ्यास खेलअन्तर्गत आज अमेरिकासँग खेल्दै नेपाल

१७ जेठ धनगढी
आइसिसी टी-२० विश्वकपका खेल्नुअघि नेपालले आज दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ।

बिहीबार आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकासँग नेपालले अभ्यास खेल खेल्न लागेको हो।

डालासस्थित ग्रान्ड प्रेइरी स्टेडिययममा नेपाली समयअनुसार खेल बेलुकी सवा ९ बजेदेखि सुरू हुनेछ।

सेन्ट प्रेइरीमै नेपालले क्यानडासँग सोमबार पहिलो औपचारिक अभ्यास खेल खेलेको थियो।

उक्त खेलमा नेपाल ६३ रनले पराजित भएको थियो।

त्यसअघि नेपालले ह्युस्टन हुरिकेनसँग दुईवटा अभ्यास खेल खेल्दा दुवै खेलमा विजयी भएको थियो।

त्यसअघि नेपालले वेस्ट इण्डिजमा पनि अभ्यास खेल खेलेको थियो। सेन्ट भिसेन्टमा स्थानीय टिम विन्वार्ड भोलक्यानोजविरूद्धको सिरिजमा नेपाल विजयी भएको थियो।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले विश्वकपको पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ।

बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।

विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको छ। चार समूहका शीर्ष २-२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन्।

नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply