गोदाममा आगलागी प्रकरण : सशस्त्रका डिआइजीसहितलाई कारबाही तयारी

२० जेठ धनगढी
सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भएको आगलागी घटनामा डिआइजीसम्मका अधिकारीलाई कारबाही हुने भएको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा सशस्त्र प्रहरी प्रधान कार्यालयले डिआईजी पुरुषोत्तम थापासहितका अधिकारीलाई कारबाही गर्न लागेको हो ।

गत २७ चैतमा बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भीषण आगलागी हुँदा २० करोडभन्दा धेरैको क्षति भएको थियो । सो स्टोरको सुरक्षा जिम्मेवारी पशुपतिनाथ बाहिनीको थियो । त्यतिवेला डिआइजी थापा बाहिनीपति थिए ।

बाहिनीको कमान्डले समयमा सक्रियता नदेखाउँदा धेरै क्षति भएको भन्दै उनलाई पनि कारबाही हुन लागेको छ । गृह मन्त्रालयले गठन गरेको सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले बाहिनी कमान्डको समेत कमजोरी औँल्याउँदै कारबाही गर्न सिफारिस गरेको थियो । सोही प्रतिवेदनका आधारमा सशस्त्र प्रहरी मुख्यालयले गम्भीर प्रकृतिको विभागीय कारबाही गर्न लागेको स्रोतले बतायो ।

त्यस्तै, सशस्त्रको केन्द्रीय स्टोरका प्रमुख एसपी राजेन्द्र श्रेष्ठमाथि पनि कारबाही हुन लागेको छ । स्टोर प्रमुखको समेत लापरबाहीले आगलागी भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । यसअघि नै श्रेष्ठसहित स्टोर शाखाका सबै सशस्त्र प्रहरीलाई प्रधान कार्यालयले जिम्मेवारीबाट हटाइसकेको छ ।

आगलागीमा परी सशस्त्र प्रहरीका कर्मचारीका जुत्ता, कपडालगायतका सामान जलेका थिए । कतिपय ठेकेदारले बुझाएका तथा सशस्त्र प्रहरीले बुझिनसकेका सामानसमेत जलेर नष्ट भएका छन् । छानबिनका क्रममा विद्युत् सर्ट भएरै आगलागी भएको निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply