२० जेठ धनगढी
कञ्चनपुरको वेदकोट नगरपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी तालिम सुरु भएको छ । नगरपालिकाको आयोजनामा एक महिनासम्म चलेको तालिम शनिवार सुरू भएको हो । काठमाडौं विश्वविद्यालयका एआई संकाय विभाग प्रमुख प्राध्यापक डाक्टर यज्ञराज पाण्डेयले नगरपालिकाले छनोट गरेका ३२ जना प्रशिक्षार्थीलाई एक महिने तालिम दिइनेछ । नगरपालिकाले आयोजना गरेको तालिमका लागि वेदकोट स्थायी बसोबास भएका सूचना प्रविधिमा स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थीबाट आवेदन मागिएको थियो । ५५ जना आवेदक मध्ये तालिमका लागि ३२ जना छनोट गरिएको नगरपालिकाले जनाएको छ । सूचना प्रविधि अध्ययन गरिरहेका युवाहरूमा प्रयोगात्मक सीप विकास गर्न नगरपालिकाले तालिम आयोजना गरेको तथा आगामी दिनमा यस्ता तालिमहरूलाई निरन्तरता दिइने नगरप्रमुख भोजराज बोहराले बताए । उनले विद्यार्थीमा बहुआयामिक सीपको विकास गर्न तालिम आयोजना गरेको बताए । शनिवार भएको कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिमबाट सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गरिएको छ । तालिम अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख बोहरा, उपप्रमुख तुलसी जोशी र प्रशिक्षक पाण्डेय तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।
