नेपालमा पछिल्लो समय खडेरी, धेरै पानी पर्ने, अत्यधिक तापक्रमजस्ता मौसमी परिवर्तन देखिएको छ

२३ जेठ धनगढी
नेपालमा पछिल्लो समय खडेरी, धेरै पानी पर्ने, अत्यधिक तापक्रमजस्ता मौसमी परिवर्तन देखिएको छ । यसले कृषि क्षेत्रलाई प्रत्यक्ष तथा अप्रत्यक्ष असर पुर्‍याइरहेको छ । जलवायु परिवर्तनले बाली बिरुवा, पशुपन्छी, मत्स्य क्षेत्र प्रभावित भएको कृषि वैज्ञानिकले बताएका छन् ।

वातावरणीय परिवर्तनका असर तुरुन्तै नदेखिए पनि लामो समयमा देखिन्छ । पानी नपर्ने तर एकै पटक धेरै पानी पर्ने गर्दा होचो क्षेत्रमा बाढी, माथिल्लो क्षेत्रमा पहिरो जाने भएर कृषिमा असर परेको नेपाल कृषि अनुसन्धान (नार्क) अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत कुमारमणि दाहालले बताए ।

‘क्रमशः तापमान वृद्धि हुँदै आएको छ,’ उनले भने, ‘वातावरणीय परिवर्तन हाम्रोलागि अवसर पनि हो, जस्तो कि आरु, नासपति लगायत फलफूल पहाडी क्षेत्रमा उत्पादन हुँदैन थिए तर हाल उत्पादन भइरहेका छन् ।’

पछिल्लो समय वातावरणीय असरका कारण विभिन्न रोग र किरा देखिन थालेका छन् । मकै बालीमा पाँच वर्ष अगाडि फौजी किरा देखा पर्दैनथिए तर त्यस यता फौजी किरा देखिन थालेको राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रकी बाली रोग वैज्ञानिक चेतना मानन्धरले बताइन् ।

‘मकैमा फौजी किरा पाँच वर्ष यता देखिएको छ । पाउडर मिलडियु, विभिन्न भाइरसजन्य रोग बालीमा देखिन्छ,’ उनले भनिन्, ‘किराहरूको सङ्ख्या बढ्यो र किराहरू नै रोग सार्ने माध्यम बनेका छन् । ८० प्रतिशत रोग किराले सार्ने गरेको पाइएको छ ।’

कृषि भन्ने बित्तिकै बालीहरूलाई मात्रै समेट्ने गरिन्छ तर मौसमी परिवर्तनले पशुवस्तु, मत्स्य पालनमा समेत असर परेको पाइएको छ । राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालका अनुसार पशुवस्तु, मत्स्यमा पनि जलवायु परिवर्तनले असर गर्छ । ‘जस्तो अहिले एकदम गर्मी छ, माछालाई अक्सिजनको अभाव हुन्छ । दिनभर बादल लाग्यो भने पानीमा अक्सिजन कम घुल्छ, अनि भोलिपल्ट बिहान माछा मर्ने सम्भावना हुन्छ,’ रिमालले भने, ‘यस्तो अवस्थामा किसानले ३ देखि ४ बजे बिहान एरिरेटर चलाउनुपर्ने हुन्छ ।’

२४ सैँ घण्टा बादल लागेमा आलुमा ढडुवा रोग लाग्ने सम्भावना हुन्छ । गर्मीका कारणले दुधको मात्रा घटेको पनि रिमालले सुनाए । उनले भने, ‘भारतीय अर्टिकलमा पढेको छु, दुध दिने गाईभैंसीलाई गर्मीमा दुहुनु भन्दा पहिला नुहाएर दुहे बढी दुध दिन्छ ।’

इन्टरगभर्मेन्टल पेनल अफ कलाइमेट चेन्ज–२०१३ को प्रतिवेदन अनुसार सन् १८८० देखि २०१२ सम्म वायुमण्डलको तापक्रम ०.८५ डिग्री सेल्सियस बढेको छ ।

बोटविरुवा ‘सिफ्टिङ’ हुँदै
वायुमण्डलको तापक्रम बढ्नाले बोट बिरुवाको ‘सिफ्टिङ’ हुने समस्या देखा परेको छ । यसले जैविक विविधता र परम्परागत बाली लोप हुने विज्ञको तर्क छ । दाहालले अघिल्लो पुस्ताले काठमाडौँ उत्पत्यका आसपास सुन्तला फलेको देखेको तर पछिल्लो समय फल्न छोडेको तर्क गरे ।

‘एक हजार मिटर उचाइमा सुन्तला फल्थ्यो, अहिले १२ सय मिटर बढी उचाइमा मात्रै सुन्तला उत्पादन हुन थाल्यो,’ उनले भने, ‘जैविक विविधतामा सङ्कट ल्यायो । जब हाम्रा बालीहरू सिफ्ट भए, नयाँ खालका किरा र रोग आउन थाले ।’

आलु उत्पादन ३२ प्रतिशत घट्ने अनुमान
तापक्रम बढेका कारण आलुको उत्पादन ३२ प्रतिशत घट्ने अनुमान गरिएको छ । राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमकी प्राविधिक अधिकृत निला पौडेलका अनुसार ‘इन्टरनेशनल पोटाटो सेन्टर’ले सन् २०६० सम्ममा ३२ प्रतिशत आलु उत्पादन घट्ने अनुमान गरेको छ ।

‘उत्पादन घट्नुमा मुख्य कारण रोग, किराको प्रकोपका अतिरिक्त तापक्रम मुख्य कारण भनिएको छ,’ उनले भनिन्, तापक्रम बढ्दै जाँदा आलुमा ट्युबराइजेसन हुन्छ । जुन दाना नलाग्ने हुन्छ । २० डिग्री सेन्टिग्रेड तापक्रममा सबैभन्दा राम्रो आलुको उत्पादन हुन्छ । २० डिग्रीभन्दा बढी तापक्रम बढ्दै जाँदा दाना लाग्ने पनि घट्दै जान्छ । ३० भन्दा बढी तापक्रम भएमा दाना नै लाग्दैन ।’

उनले ३० डिग्री सेल्सियस तापक्रममा आलुको बोट झाङ्गिने मात्रै, दाना नलाग्ने सुनाइन् । यसले गर्दा आलुको उत्पादन घट्ने प्रक्षेपण गरिएको उनको भनाइ छ ।

पौडेलका अनुसार पहिला आलुमा धेरै किरा देखिँदैन थिए तर गतवर्ष मध्यपहाडी क्षेत्रमा आलु बालीको पातमा जालीजस्तो हुने गरी किराले खायो । पात नहुँदा आलुले खाना बनाउन सकेन र उत्पादन घट्यो । यस्तै, आलुमा पछौटे डढुवा रोग लागेमा ९० देखि १०० प्रतिशत नै क्षति हुन्छ । यो वातावारणमा आधारित आलुमा देखिने रोग हो ।

के गर्ने ?
पछिल्लो समय मौसमी परिवर्तनलाई मध्यनजर गर्दै विगत १० वर्षदेखि नार्कले मौसमी बुलेटिन, मोबाइल एसएमएस, किसान कल लगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर यी विषय किसानसम्म भने पुग्न सकेको छैन । पुगे पनि किसानले वास्ता नगर्दा क्षति बेहोर्नुपर्ने समस्या देखिएको छ । किसान मौसमी जानकारीमा सचेत हुनुपर्ने विज्ञहरूको सुझाव छ ।

केन्द्रका प्राविधिक अधिकृत कुमारमणि दाहालले नीतिगत पहल गर्नुपर्ने सुझाए । ‘जलवायुमैत्री कृषि अवलम्बन गर्नु पर्छ, जस्तोकि सुक्खा क्षेत्रमा सुक्खा सहन सक्ने धान सुक्खा १, २, ३, ४ सम्म विकास गरेको छ । छोमनोग, माछापुच्छ«े धान जातले चिसो सहन सक्ने जात छन् । मकैमा हाइब्रिड जात रामपुर ८ र १० भनेर विकास गरिएको छ,’ उनले भने, ‘आफ्नो क्षेत्रको मौसम अनुसार जातको छनौट गरी खेती गर्ने ।’ उनले नीतिगत रूपमा ‘चेन अफ कमाण्ड’ गर्नुपर्ने, कृषि प्राविधिकलाई दक्ष बनाउनु पर्ने सुझाए ।

यस्तै निला पौडेलले वातावरणीय अनुसार जातीय विकासमा जोड दिनुपर्ने बताइन् । ‘जातीय विकास गर्नु पर्‍यो । असिना सहन सक्ने, सुक्खा सहन सक्ने केही जात हामीले दर्ता गरेका छौँ,’ उनले भनिन्, ‘त्यस्ता जात किसानले खेती गर्नुपर्छ । स्वास्थ्य बिउको प्रयोग हुनुपर्छ ।’

वातावरणले असर पुर्‍याउने कृषि क्षेत्रको लक्षित वर्ग भनेको कृषक हो । उनीहरूसम्म प्रविधि पुग्ने गरी प्रणाली सुधार गर्नुपर्ने पौडेलको भनाइ छ ।

नार्कले अनुसन्धान गरेको प्रविधि किसानसम्म पुर्‍याउन स्थानीय तहले समन्वय गर्नुपर्ने, अनुसन्धानमा लगानी र जनशक्ति बढाउनुपर्ने सुझाव विज्ञले दिएका छन् । यसका साथै किसानले आफ्नो क्षेत्रमा उत्पादन हुने बाली अनुसार मौसममा ध्यान दिनुपर्ने बताएका छन् ।

नार्कका ‘क्लाइमेट स्मार्ट’ कृषि प्रविधिहरू :

मौसम स्मार्ट : केही बालीका मौसम अनुकुलन जातहरू, प्लास्टिक घर वा संरक्षित खेती प्रविधि, मौसम सल्लाह बुलेटिन

सिँचाइ स्मार्टः वर्षाको पानी सङ्कलन र प्रयोग, थोपा सिँचाइ र मल्चिङ

खाद्य तत्व स्मार्टः हरियो मल, गोठ सुधार र प्रयोग, भर्मीकम्पोस्ट

ऊर्जा स्मार्टः शून्य खनजोत, सौर्य पम्प
एकीकृत शत्रुजीव व्यवस्थापन

खडेरी र डुबान हुने क्षेत्रको लागि उपयुक्त धानका जातहरू – खडेरी सहन सक्नेः सुक्खा धान १ देखि ६ र लेकाली धान १,

डुबान सहन सक्नेः स्वर्ण सव १, साँवा मसुली सव १, सेहरांग सब १, गंगा सागर १ र २

डुबान र खडेरी दुवै सहन सक्नेः बहुगुणी धान १, बहुगुणी धान २
बढी ताप सहन सक्ने वर्णशंकर मकैका जातहरू–रामपुर हाइब्रिड ८, रामपुर हाइब्रिड १०

धान खेतमा पालैपालो पानी लगाउने र सुकाउने प्रविधि : धान खेतमा पालै–पालो पानी लगाउने र सुकाउने प्रविधि एक नियन्त्रित सिँचाइ रणनीति हो, जसले सिँचाइको पानी घटाउने तथा धानको खेतीबाट हुने हरित गृह ग्याँस मिथेनको उत्सर्जनलाई कम गर्दछ र धानको उत्पादनमा बृद्धि गर्दछ । यो प्रविधि पम्प प्रयोग गरि सिँचाइ गरिने क्षेत्रका लागि उपयुक्त प्रविधि हो । यस प्रविधिमा धान खेतको सतहभन्दा ५ सेन्टीमिटर माथिसम्म सिँचाइ गरिन्छ र पानीको सतह जमिनभन्दा १५ सेन्टीमिटर तलसम्म पुगेपछि मात्र अर्को सिँचाइ गरिन्छ । प्रविधिले आवश्यक सिँचाइको सङ्ख्या घटाएर पानीको प्रयोगलाई ३० प्रतिशतसम्म घटाउन मद्दत गर्दछ ।

छरुवा धान खेती प्रविधिः ८८ छरुवा धान खेती प्रविधिमा नर्सरीमा बिरुवा उमारेर जमिनमा रोपाइँ गर्नुको सट्टा धानको बिउ सिधै खेतमा छरिन्छ । यस प्रविधिमा रोपाइँ पद्दतिको तुलनामा ६० प्रतिशतसम्म पानीको बचत हुनका साथै ४० प्रतिशतसम्म श्रमको बचत हुन्छ । त्यस्तै बाली ७–१० दिन अगावै पाक्दछ । यो प्रविधिले जलवायु परिवर्तनको ढाँचामा राम्रोसँग अनुकूलन गर्न मद्दत गर्छ ।
मौसम सल्लाह बुलेटिनः यस अन्तर्गत किसानलाई मौसम पूर्वानुमान र त्यस अनुसार कृषि कार्य गर्न बल दिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र, खुमलटारले यो सेवा दिइरहेको छ । यो जानकारी प्रत्येक हप्ता इमेल, फेसबुक, नेपाल टेलिभिजनबाट दिइन्छ ।

थोपा सिँचाइः कम पानीले थोरै समयमा धेरै क्षेत्रमा सिँचाइ गरी तरकारी– काँक्रो, गोलभेंडा, भेडेखुर्सानी आदिको खेती गर्न सकिन्छ ।
प्लास्टिक पोखरीः आकासको पानी सङ्कलन गरेर तरकारी खेती र फलफूल बगैँचामा सिँचाइ गर्न सकिन्छ ।

बहुउद्देश्यीय पानी प्रणालीः बढी भएको पिउने पानी सदुपयोग गरी घरेलु बगैँचामा सिजन अनुसारको तरकारी खेती गर्न सकिन्छ ।
भकारो सुधारः गोठ सुधार गरी उचित तरिकाले पशुको मलमुत्र सङ्कलन गरी तरकारी र फलफूल खेतीमा प्रयोग गर्न सकिन्छ । पशुमुत्रमा ४ भाग पानी मिसाएर तरकारी खेतीमा प्रयोग गर्नु राम्रो हुन्छ ।

प्लास्टिक घरः ठुलो पानी र साना असिनाबाट तरकारी खेतीलाई बचाइ उत्पादन लिन सकिन्छ । प्लास्टिक घरमा काँक्रा, गोलभेंडा, भेडेखुर्सानी लगायत अन्य खेती गरी राम्रो आम्दानी लिन सकिन्छ ।

जिरो टिलेज लसुन खेती : धान काटिसकेपछि धानको गाँजमा सिसाकलमको साईजको किल्लाले प्वाल बनाइ सो प्वालमा लसुनको केस्रा रोपिन्छ । त्यसपछि माथिबाट ३० टन प्रति हेक्टर कम्पोस्ट मल र १२०ः८०ः८० केजी एनपीके प्रति हेक्टर सबैतिर छरेर त्यसमाथि खर वा परालको छापो दिनु पर्दछ । समय समयमा माटोको चिस्यान हेरि सिँचाइ दिनु पर्दछ । झारपात हातले गोडी फाल्नु पर्छ । माटो पल्टाउने र चलाउने कम हुदा कार्बन उत्सर्जन कम हुन्छ ।

एकीकृत शत्रुजीव व्यवस्थापनः पर्यावरणीय सन्तुलनलाई ध्यानमा राख्दै शत्रुजीवहरूको उचित रुपमा व्यवस्थापन गरी स्वास्थ्य बाली उत्पादन लिन अपनाइने प्रविधिलाई एकीकृत शत्रुजीव व्यवस्थापन भनिन्छ । जस्तै– बत्तीको पासो, जालीले पक्रने, टाँसिने पासो, फेरोमिन पासो, घरेलु विषादी आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply