क्रिकेट खेलाडीको सम्मानमा तिलोत्तमामा आइटी पार्क

२९ जेठ धनगढी
हरियो दुबो सहितको सानो चिटिक्क परेको पार्क। पार्क वरिपरिका पर्खालमा विभिन्न पौराणिक, ऐतिहासिक र धार्मिक सम्पदाका चित्र कोरिएका छन्।

आफ्नै नगरबाट उदाएका क्रिकेट खेलाडीहरू कुशल भुर्तेल, देव खनाल र मौसम ढकालको तस्बिर पनि पेन्टिङमा उतारिएको छ। पार्कको बीचमा ठडिएको अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा फहराइरहेको छ। छेउमा राखिएको एलइडीमा स्थानीय तहका विभिन्न सूचनाहरू प्रशारण भइरहेका छन्।

हेर्दै आकर्षक लाग्ने यो दृश्य रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यानको हो।

सरकारले विभिन्न सहरहरूमा आइटी पार्क बनाउने चर्चा चलिरहँदा तिलोत्तमा नगरपालिकाले भने नगरको प्रशासनिक भवन परिसरमा सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको हो।

४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उद्यानको यसै साता पूर्व-अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए। उक्त उद्यान अहिले विभिन्न सेवाका लागि नगरपालिका पुग्ने सेवाग्राहीको आकर्षण बनेको छ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले दश वर्ष पछाडि नेपालले आइसिसी टि-ट्वान्टी विश्वकपमा भाग लिएको र उक्त टोलीमा तिलोत्तमाका कुशल भुर्तेल समेत सहभागी भएको खुशीको अवसरलाई उत्सवको रुपमा मनाउन नगरपालिकाले उद्यान निर्माण गरेको बताउँछन्।

‘दश वर्ष पछि टि-ट्वाण्टी विश्वकपमा भाग लिएको नेपालको टोलीमा हाम्रै नगरका खेलाडी सहभागी छन्, हामीले यो क्षणलाई किन उत्सवको रुपमा नमनाउने भनेर पार्क निर्माण गरेका हौं,’ अर्याल भन्छन्।

आइटी पार्क नाम दिइएको भएपनि सूचना प्रशारणसँगै राष्ट्रियता, खेल र खेलाडी प्रतिको सम्मानको लागि पार्क निर्माण गरिएको उनले बताए। पार्कमा राखिएको एलइडीबाट नेपालले अन्तराष्ट्रिय स्तरमा खेल्ने सबै प्रकारका खेलहरू लाइभ प्रशारण हुने छन् भने नगरपालिकाबाट प्रवाह हुने सबै सूचनाहरू पनि प्रशारण हुने छन्, त्यो सँगै यहाँ फहराइरहेको राष्ट्रिय झण्डाले सबै नेपालीलाई राष्ट्रियताप्रति गौरवबोध गराउँदै राष्ट्रिय भावनाप्रति झक्झकाइरहने छ,’ उनले भने।

नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगरपालिका कार्यालय अगाडि घोलाको रुपमा रहेको सार्वजनिक जग्गालाई संरक्षण गर्दै नगरपालिकाको आफ्नै ४० लाख रुपैयाँको लगानीमा उद्यान निर्माण गरिएको बताए।

निर्वाचनको बेला घोषणापत्रमा नगरलाई स्मार्ट र सूचना प्रविधिमैत्री बनाउने वाचा गरेअनुसार आइटी उद्यान निर्माण गरेको उनले बताए।

‘अहिलेको युग सूचना प्रविधिको युग हो, नगरपालिकाबाट प्रवाह हुने सबै सेवाबारे यही उद्यानमा रहेको एलडी बोर्डबाट प्रशारण हुने छन्,’ खाणले भने।

यसअघि गत २२ गते नेपाल र नेदरल्याण्ड बीचको खेल हेर्न उद्यानमा सयौं क्रिकेट
प्रेमीहरू उपस्थित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply