यू–१९ सुदूरपश्चिम छनौटः कञ्चनपुर दोस्रो खेलमा पनि विजयी

२९ जेठ धनगढी
वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा समूह बी को चौथो खेलमा कञ्चनपुर विजयी भएको छ । कञ्चनपुरले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा अछामलाई ९१ रनले हरायो । यसअघि पहिलो खेलमा कञ्चनपुरले बझाङलाई ४ विकेटले पराजित गरेको थियो । जितका लागि पाएको १२६ रनको लक्ष्य पछ्याएको अछाम ९.१ ओभरमा ३४ रनमा समेटियो । उसका युवराज खत्रीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अछामको पारी ध्वस्त पार्ने क्रममा कञ्चनपुरका कप्तान हेमन्त धामीले ५ विकेट हात पारे । म्यान अफ द म्याच समेच चुनिएका हेमन्तले ४ ओभरमा १ मेडल राख्दै १३ रन मात्रै खर्चेर ५ विकेट हात पारेका हुन् । यस्तै अभिषेश थापाले ३ विकेट लिए ।

यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुर ३५.१ ओभरमा १२५ रनमा समेटियो । जसमा राहुल चन्दले सर्वाधिक २२ रन हिर्काए । अछामका युवराज खत्री,खगेन्द्र कुँवर र रविन भण्डारीले २÷२ विकेट हात पारे । यो दोस्रो जितसंगै कञ्चनपुर ४ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ । अछाम भने दोस्रो

हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिता अन्तरगत भोलि कैलाली र बझाङ भिड्ने स्कोरर लोकेश जोशीले जानकारी दिए । समूह बी बाट शिर्ष स्थानमा पुग्ने टोली फाइनलमा बैतडीसंग भिड्नेछ । समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेको छ ।

जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिए । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो । दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टोलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीका अनुसार प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply