कार्यवाहक राष्ट्रपति यादव र चिनियाँ नेताबिच भेटवार्ता

३२ जेठ धनगढी
नेपाल भ्रमणमा आएका चिनियाँ जन–राजनीतिक परामर्शदात्री सभा (सीपीपीसीसी) का उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले कार्यवाहक राष्ट्रपतिसमेत रहेका उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शुक्रबार भेट गरेको छ ।

उपराष्ट्रपतिको कार्यालयमा भएको शिष्टाचार भेटमा नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्ध, उच्च तथा जनस्तरीय भ्रमण, परस्पर सहयोग, व्यापार तथा पर्यटन लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको उपराष्ट्रपतिका निजी सचिवालयले जनाएको छ ।

कार्यवाहक राष्ट्रपति यादवले नेपाल र चीनबिच सदियौँदेखि रही आएको सौहार्द्रपूर्ण एवं अति घनिष्ठ सम्बन्ध अझ व्यापक, थप घनिष्ठ बनेको धारणा राखेका थिए । ‘हाम्रा दुई मुलुकले लामो इतिहास बोकेको मित्रवत सम्बन्ध, सहयोग र सहकार्यलाई ठुलो महत्व दिएका छन्, कार्यवाहक राष्ट्रपति यादवले भने, ‘नयाँ उचाइ र आयाममा पुगेको नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकाङ्क्षा पूरा गर्न महत्त्वपूर्ण आधारशीला प्रदान गरेको छ ।’

चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार देश रही आएको उल्लेख गर्दै उनले चीनले झण्डै सात दशकदेखि नेपालको विकास सहयोग पु¥याउँदै आएको चर्चा गरे । सन् २०२६ सम्ममा नेपाल अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको र त्यसमा तीव्र आर्थिक वृद्धि गरिरहेको चीनको पूर्ण सहयोग रहनेमा विश्वास लिएको उनले बताए । उनले दुई देशबिचको व्यापारलाई दिगो र व्यापक बनाउनु पर्नेमा जोड दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्त्वपूर्ण योगदान पु¥याउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बताउँदै उनले चीनको ‘सिचुआन विमान’ले छेन्दु र पोखराबिच चार्टर्ड उडान गरेको तथा छिन्दाउ र काठमाडौँबिच उडान सुचारु भएकोमा खुसी व्यक्त गरे ।

कार्यवाहक राष्ट्रपति यादवले चीन सरकारले गरेको भिसा शुल्क मिनाहाको प्रशंसा गरे । उनले कमान्थाङ्का–चेन्ताङमा २५ मे २०२४ मा सम्पन्न नेपाल–चीन सीमा व्यापारिक नाकाहरूको हालै संयुक्त रुपमा पुनः उद्घाटन हुनुले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान गरेको विश्वास पनि व्यक्त गरे ।

उपाध्यक्ष बेटरले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सवल र सुदृढ बनाउने पक्षमा चीन रहेको बताएका थिए । उनले नेपाल र चीन बिचको ऐतिहासिक सम्बन्धलाई थप दिगो, बलियो र प्रगाढ बनाउनु पर्नेमा जोड दिए । नेपालको विकासमा चिनियाँ सहयोग निरन्तर जारी रहने प्रतिबद्धता पनि उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply