टी-२० विश्वकपः अन्तिम-८ समीकरण टुंगियो

असार ३ धनगढी
आइसिसी टी-२० विश्वकपको सुपर-८ समीकरणको टुंगो लागेको छ।

२० देश सम्मिलित जारी विश्वकपमा चार समूहमा विभाजन गरिएको थियो। पाँच देश रहेको समूहबाट विजेता र उपविजेता अन्तिम आठमा प्रवेश गरेका छन्।

समूह ए बाट भारत र अमेरिका अन्तिम आठमा प्रवेश गरेका छन्।

भारतले समूह चरणका तीन खेल जित्दा एक खेल रद्द भएपछि अंक बाँडेको थियो। भारत ७ अंकसहित समूहको शीर्षस्थानमा रहेर अन्तिम आठमा प्रवेश गरेको हो।

दोस्रो स्थानमा अमेरिका ५ अंक जोड्दै अन्तिम आठमा प्रवेश गरेको हो।

समूह ए बाट पाकिस्तान, क्यानडा र आयरल्याण्ड बाहिरिए।

समूह ‘बी’ बाट चारै खेल जितेर ८ अंकसहित शीर्षस्थान कायम गर्दै अष्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको छ।

उक्त समूहबाट इंगल्याण्ड दोस्रो स्थान कायम गर्दै अन्तिम आठमा प्रवेश गरेको छ।

समूह बी बाट स्कटल्याण्ड, नामिबिया र ओमान बाहिरिए।

समूह सी को अन्तिम खेल बाँकी छँदै सुपर-८ मा पुग्ने देशको टुंगो लागिसकेको छ। सो समूहबाट अफगानिस्तान र वेस्ट इण्डिज सुपर-८ मा पुग्नेछ।

यी दुई देशबीच समूह चरणकै अन्तिम खेल हुन बाँकी छ। दुवैको ६/६ अंक छ। जित्ने टोली समूहको शीर्ष स्थान र पराजित हुने टोली दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछन्।

समूह सी बाट न्युजियल्याण्ड, युगान्डा र पपुवा न्युगिनी बाहिरिए।

नेपाल रहेको समूह ‘डी’बाट दक्षिण अफ्रिका र बंगलादेश अन्तिम आठमा प्रवेश गरेका छन्।

दक्षिण अफ्रिका समूह चरणमा अपराजित हुँदै ८ अंक जोडेर अन्तिम आठमा प्रवेश गरेको छ।

बंगलादेश तीन जित निकालेर ६ अंक जोड्दै अन्ति आठमा प्रवेश गरेको हो।

सोमबार बिहान बंगलादेशसँग नेपाल २१ रनले पराजित भएको थियो।

समूह डी बाट नेपाल, श्रीलंका र नेदरल्याण्ड्स बाहिरिएको छ।

सुपर ८ को खेल बिहीबारदेखि सुरू हुनेछ। पहिलो खेलमा वेस्ट इण्डिज र इंगल्याण्ड तथा दोस्रो खेलमा भारत र अफगानिस्तान खेल्नेछन्।

अन्तिम आठको खेल सकिएपछि जुन २७ मा सेमिफाइनल र जुन २९ मा फाइनल खेल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply