राति शिक्षकको घर पुगेपछि ट्रक चालकको हत्या

असार ४ धनगढी
बैतडी पाटन नगरपालिका वडा नम्बर ६ का ५१ वीरभानसिंह विष्ट शनिबारदेखि बेपत्ता थिए। विवाहित उनी त्यसरात घर नफर्किएपछि घरपरिवार चिन्तित थिए।

विष्ट बेपत्ता भए पनि उनले चलाउने ट्रक भने घर आसपास नै थियो। आइतबार परिवारले छरछिमेकमा सोधीखोजी गरे। तर विष्ट फेला परेनन्।

फेला पर्न नसकेपछि विष्टका भाइ सोमबार बिहान पौने ७ बजे जिल्ला प्रहरी कार्यालय बैतडी पुगे।

आफ्ना दाइ बेपत्ता भएको भन्दै उनका भाइले निवेदन लिएर पुगेका थिए। उनले दाइ बेपत्ता हुनुमा एक जना महिलाको हात हुनुपर्ने शंका व्यक्त गरे।

‘उनीहरूले ट्रक छरछिमेकतिर देखेका रहेछन्। जसले गर्दा शंका गरेर बेपत्ता भएको निवेदन दिएका थिए,’ बैतडी प्रहरी प्रमुख डिएसपी दीपक गिरीले सेतोपाटीसँग भने।

विष्टका भाइले शंका गरेकी महिला सोही वडाकी ३६ वर्षीया भागरथी विष्ट थिइन्। उनी सहस्त्रलिंग प्राथमिक विद्यालयकी शिक्षक समेत हुन्। उनका श्रीमान केही समयअघि नै बितिसकेका थिए।

साढे ७ बजेतिर प्रहरीले उनलाई नियन्त्रणमा लिएको डिएसपी गिरीले बताए।

उनीमाथि सोधपुछ गरेपछि विरभानसिंहको हत्या भएको खुलेको हो। हत्या गरी शव भीरबाट फालिएको भनेपछि प्रहरी घटनास्थलतिर पुगेको हो।

‘खेतैखेत करिब एक किलोमिटर जति र बाटो पुगेर करिब एक किलोमिटर जति टाढा लगेको रहेछ,’ डिएसपी गिरीले भने, ‘भीर देखेपछि त्यहीँ फालेका रहेछन्।’

सोमबार दिउँसो पौने २ बजेतिर प्रहरीले शव फेला पारेको हो। शव प्लास्टिकले बेरिएको र शरीरमा चोकपटक थियो। घटनास्थलमै हत्यामा प्रयोग भएका दाउरा, चिर्पटहरू थिए।

ती महिला एक्लैले हत्या गरेको भन्नेमा प्रहरीको शंका थियो। महिलामाथि सोधपुछ गरेपछि यसमा थप तीन जना पुरूषको संलग्नता रहेको खुलेको हो।

भागरथीले नाम खोलेसँगै प्रहरीले दिउँसो ३ बजेतिर दुई जनालाई पक्राउ गरेको थियो। एक जना भने फरार छन्।

पक्राउ पर्नेमा पटान नगरपालिका-१ बस्ने १९ वर्षीय किशोर भट्टराई र २० वर्षीय राजेन्द्र भट्टराई छन्। एक जना फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट मृतक वीरभानसिंह भागरथीको घरमा समय-समयमा जाने गर्थे। शनिबार राति पनि उनी त्यहाँ पुगेका थिए।

त्यहीबेला किशोर, राजेन्द्र र अर्का एक जना पुरूष पनि भागरथीको घरमा पुगेको अनुसन्धानबाट देखिन्छ। यद्यपि उनीहरूलाई भागरथीले नै बोलाएको हो वा आफै पुगेका थिए भन्ने खुलिसकेको छैन। तीन युवकलाई रकम दिएको भन्ने कुरा बाहिर आए पनि त्यसबारे खुलिनसकेको प्रहरीले जनाएको छ।

‘अहिले कारण प्रष्टसँग खुलिसकेको छैन। मध्यराति १२ बजेतिर गालीगलौज गरेकाले सुरूमा आफूले हिर्काएको भागरथीले बताएकी छन्,’ डिएसपी गिरीले भने।

भागरथीले हिर्काएपछि अन्य तीन जना युवाहरूले पनि हिर्काएको अनुसन्धानबाट खुलेको हो। दाउरा, चिर्पट लगायतले पटकपटक हिर्काएपछि वीरभानसिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यही राति उनीहरूले शव व्यवस्थापन गर्न सकेनन्। आइतबार दिनभरि व्यवस्थापन गर्ने खतरा हुने भएकाले उनीहरूले राति व्यवस्थापन गर्ने योजना बनाएका थिए।

उनीहरूले घरमा प्लास्टिकले बेरेर डोरीले बाँधे। त्यसपछि चारै जनाले खेतैखेत बोकेर करिब एक किलोमिटर बोकेर खेतबाट बाटोसम्म पुर्‍याए।

त्यहाँबाट भने मोटरसाइकलको प्रयोग भएको देखिन्छ। से ७ प ४४०९ नम्बरको मोटरसाइकलमा राखेर उनीहरू करिब चार किलोमिटर टाढा आएका थिए।

भीर देखेपछि उनीहरू शव फ्याँकेर भागेका थिए। प्रहरीले शव व्‍यवस्थापन गर्न प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।

घटनामा प्रहरीले थप अनुसन्धान गर्न मंगलबार जिल्ला अदालत बैतडीबाट म्याद गर्ने तयारी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply