धनगढी असार २५
चरा विज्ञ आरेन्ड भेन रिजेनको निधन भएको छ। विगत ४२ वर्षदेखि नेपाल बस्दै आएका उनको आइतबार ६९ वर्षको उमेरमा निधन भएको हो।
बर्ड कन्जर्भेसन नेपालका उपाध्यक्ष विमल थापाका अनुसार आरेन्डलाई फोक्सोमा क्यान्सर थियो। उनको निधनले ठूलो क्षति भएको विमल बताउँछन्।
‘चरा समितिका लागि यो अपूरणीय क्षति हो। विदेशी भएर पनि नेपालमा बसेर चराहरूको अध्ययन र संरक्षणमा उहाँले महत्त्वपूर्ण काम गर्नुभएको छ,’ उनले भने।
आरेन्डले सन् २००३ देखि २०१६ सम्म बागमती र टौदह क्षेत्रमा रहेका चराको अध्ययन गरेर ‘द बर्डस् अफ द बागमती एन्ड टौदह (२००३-२०१६) किताब निकालेका छन्। उक्त किताबमा २ सय ६३ प्रजातीका चराको १६ वर्षको अवस्था, उतार चढाव, भोगिरहेका चुनौती र उनले देखेका चराका रोचक कथा समेटिएका छन्।
उनी फ्रेन्डस् अफ बर्डका संस्थापक, नेपाल पन्छी संरक्षण संघको सल्लाहकार र इबर्ड नेपाल रिभ्यु समितिका संयोजक थिए।
उनकै नेतृत्वमा ‘छिमेकी चरा’ नामक एप सुरू भएको थियो। चराहरूका लागि विरूवा रोप्ने, बगैंचा बनाउने र चरामैत्री वातावरण बनाउँदै ‘चरा मैत्री छिमेक’ नामक परियोजना उनकै नेतृत्वमा संचालन हुने क्रममा थियो।
‘छिमेकी चरा एपलाई सुधार गर्ने काम बाँकी थियो। बर्ड फ्रेन्ड्ली नेबरहुड त सुरू हुनै बाँकी थियो,’ आरेन्डलाई सम्झँदै विमलले भने।
चरा अनुसन्धाता कृष्ण भुसालका अनुसार उनी यस पुस्ताका सर्वप्रिय ‘चरा गुरू हुन्। युवा पुस्ता र विद्यार्थीहरूलाई कसरी नेपालका चराहरूको अध्ययन, अनुसन्धान र संरक्षणमा सहभागी गराउने र गुणस्तरीय अध्ययन गराउने भन्नेमा आरेन्डलाई चिन्ता भएको उनी बताउँछन्।
‘आरेन्ड सरसँग मेरो पहिलो भेट सन् २०१० सेप्टेम्बर ४ का दिन अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको दिन ओखरपौवा र ककनीको फिल्ड भ्रमणमा भएको थियो। उहाँ पश्चिम नेपालको मध्यपहाडी जिल्लाहरूमा लामो समय बसेकोले त्यहाँ पाइने गिद्धबारे उहाँले मलाई जानकारी दिनुभयो। त्यसपछि मैले आफ्नो अध्ययन योजना बनाएँ,’ फेसबुकमार्फत् आरेन्डलाई श्रदाञ्जली दिँदै भुसालले लेखेका छन्, ‘त्यसपछिका दिनमा हाम्रो भेट चरा अवलोकनमा जाँदा र नेपाल पन्छी संरक्षणका कार्यक्रमहरूका गहन बहसमा भइराख्यो।’
आरेन्डलाई उनी चरा चिनाउने र चरा बचाउने अभियानका गुरूका रूपमा बताउँछन्।