विस्थापित ७० परिवार घर फर्के

धनगढी असार २७
अविरिल वर्षापछि बाढीको त्रासले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका ५ ढुंगाडका ७० परिवार घर फर्किएका छन् । सेती नदीमा जलस्तर बढेपछि आसपासका ७० परिवार असार २३ गतेदेखि शारदा माविमा बसिरहेका थिए । हाल बाढी जोखिम कम भएसंगै उनीहरु घर फर्केका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ अविरल वर्षापछि सेती नदीमा जलस्तर बढेर बस्तीमा पस्ने खतरा बढेपछि असार २३ गते ढुंगाडका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा शारदा माविमा सारिएका उनीहरु हाल जोखिम कम भएसंगै आफ्नै घर फर्किसकेका छन् ।”
नदीमा बाढीको सम्भावना बढेसंगै स्थानीय बासिन्दा घर छोडेर विद्यालयमा आश्रय लिएर बसेका थिए । अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेर तटबन्धमाथि पुगेपछि स्थानीयबासिन्दा घर छोड्न बाध्य भएका थिए । वर्षातको समयमा सेती नदीमा आउने बाढीले स्थानीय बासिन्दालाई समस्या हुने गरेको छ । सिगास गाउँपालिका वडा नं– ५ का हरडाखानी, लाम्बगड, लोडे,वडा नं –६ का सेती किनारका बस्तीहरु पनि बाढीको जोखिममा हुने गरेको छ ।

यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास गाउँपालिका ५ ढुङगाड लगायत क्षेत्रमा सेती नदीको बाढी पस्दा ठुलो क्षति गरेको थियो ।

असार २० गतेदेखिको अविरल वर्षाले यहाँका पाँचओटा घरमा क्षती पुगेको थियो । दुई पशुचौपाया मरेपनि मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply