लुम्बिनी सभामा पेश भयो स्थानीय सेवा गठनको विधेयक

धनगढी भदौ २७
लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक बुधबार पेश भएको छ।

प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक प्रदेश सभाको चौथो अधिवेशनको २९ औं बैठकमा पेश गरेकी हुन्।

भदौ ६ गते बसेको प्रदेश सभाको २७ औं बैठकले प्रतिवेदनसहित पेश भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो। समितिले विधेयक माथि पुनःछलफल गरेर बैठकमा पेश गरेको हो। प्रदेश सभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो।

प्रदेश मामिला तथा कानुन समितिले प्रतिवेदन सहितको विधेयक तयार पार्न ३६ औं बैठक गरी लामो छलफलबाट प्रतिवेदन पुनः सभामा पेश गरिएको समितिकी सभापति बुढाले बताइन्।

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी बनाउन भूमिका खेल्ने गरी विधेयक तयार भएको सभापतिले बताइन्।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउन प्रस्ताव पेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply